चितवन राष्ट्रिय निकुञ्जको एक हजार २०८ हेक्टर भू–भाग अतिक्रमणमा

  २०७३ असार २९ गते ७:३५     विकासन्युज

चितवन, २९ असार । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको एक हजार २०८ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको पाइएको छ । निकुञ्जको तथ्याङ्कअनुसार अतिक्रमित क्षेत्रमा दुई हजार ३३० घरधुरी बसोबास गर्दै आएका छन् । निकुञ्जले गत कात्तिकमा कार्यदल तयार गरी अतिक्रमित क्षेत्रको क्षेत्रफल, घरधुरी, तीनपुस्ते र वर्तमान अवस्थाको बारेमा तथ्याङ्क लिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीमा ३३५ दशमलव २ हेक्टर जमिन अतिक्रमण भएको छ । जसमा ९१० घरधुरी बसोबास गर्दछन् । सोही क्षेत्रमा त्रिवेणीधामले १० दशमलव ६ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । जहाँ मठ–मन्दिर, सत्तल, धर्मशाला रहेका छन् ।

पश्चिम चितवनको कसरामा ६० दशमलव ६९ हेक्टर अतिक्रमित भएको छ । जहाँ ५१२ घरधुरी बसोबास गर्दै आएका छन् । त्यसैगरी माडी क्षेत्रको पर्सा र चितवन जिल्लामा ७३४ हेक्टर अतिक्रमित छ । जहाँ ७०० घरधुरी छन् । सोही क्षेत्रमा बाँदरझुला पर्दछ । बाँदरझुलामा मात्र ५३९ हेक्टरलाई ५५० घरधुरीले अतिक्रमण गरेको कँडेलले बताए ।

पूर्वी क्षेत्रको चितवन र मकवानपुरमा अतिक्रमण भएको ८० दशमलव १८ हेक्टरमा ७ २० घरधुरी बसोबास गर्दछन् । अतिक्रमित क्षेत्रमा घर, टहरा, मठ–मन्दिरका अतिरिक्त खेतीपातीसमेत हुँदै आएको छ । जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलको निर्णयअनुसार अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिन निकुञ्जले कडाइका साथ काम गरिरहेको सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए ।

उनका अनुसार सुनाचुरी र बाँदरझुलामा सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्रमा खेतीपाती नगर्न भनिएको छ । अतिक्रमण नियन्त्रण रणनीति २०६८ ले दिएको अधिकार प्रयोग गरी निकुञ्जले काम थालेको छ । मुख्यरुपमा माओवादी द्वन्दमा अतिक्रमण बढेको पाइएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको पोस्ट घटेसँगै अतिक्रमण बढेको थियो ।

निकुञ्ज क्षेत्रको अतिक्रमण गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६९६० ले रु १० हजारसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । कतिपय ठाउँमा निकुञ्जले कारबाही गरेको भएपनि स्थानीय दबाबका कारण कारबाही अगाडि बढाउन सकेको छैन । बर्सेनि निकुञ्ज अतिक्रमण बढेर गएको छ भने दुर्लभ वन्यजन्तु संरक्षण भई सङ्ख्या बढ्दै जाँदा बासस्थान साँघुरिँदै गएको छ ।

चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्ग किमी रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.