हरेक साता निक्षेपको व्याजदर बढ्दै, पहिलो असर सेयर बजारमा पर्न सक्ने

  २०७३ असार २८ गते ४:१०     विकासन्युज

काठमाडौं, २८ असार । कुमारी बैंकले ७० दिनको मुद्दती खातामा ७ प्रतिशत व्याजदर घोषणासहित निक्षेपको अपिल गरेको छ । ७० दिन अवधिको मुद्दतीमा न्यूनतम १ लाख बचत गर्नेले ७ प्रतिशत व्याज पाउने छन् । व्यक्तिगत निक्षेपकर्ताको लागि मात्र यो योजना ल्याएको बैंकले जनाएको छ ।

kumariराष्ट्र बैंकले दिएको निर्देशक अनुसार बैंकहरुले घोषित व्याजदरमा १ प्रतिशत थप गरेर निक्षेप स्वीकार गर्न सक्नेछन् । यस आधारमा बढी रकम देखाएर मोलमोलाई गर्ने बचतकर्ताले ८ प्रतिशतसम्म व्याज पाउने देखिएको छ । बैंकहरुले गत सातादेखि संस्थागत निक्षेपकर्तालाई ७.७५ प्रतिशत व्याज दिन थालेका छन् ।

विगत एक महिनादेखि बैंकहरुले छोटोछोटो अवधिमा व्याजदर बढाउन थालेका छन् । प्रत्येक साता करिव शुन्य दशमलव २५ प्रतिशतले व्याजदर बढ्दै गएको छ । कर्जाको माग बढेको र लगानी योग्य पुँजीको कमी भएकोले निक्षेपको व्याजदर बढेको बैंकर्सहरुले बताएका छन् । पछिल्लो समय वित्तीय बजारमा कर्जा निक्षेप अनुपात हाल ८० प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले बैंकको व्याजदर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

करिव ५ वर्षपछि निक्षेपकर्ताले उच्चतम व्याज पाउन थालेका छन् । यद्यपी अहिले बजारमा चलेको व्याजदर मुद्रास्फिति दरभन्दा कम छ । चालु आर्थिक वर्षको मुद्रास्फिति ९ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहदा मुद्रास्फिति दरभन्दा निक्षेपको व्याजदर बढी हुने गरी नीति बनाउन विज्ञहरुले सुझाव दिईरहेका छन् ।

निक्षेपको व्याजदर वृद्धिले कर्जाको व्याजदरलाई पनि बढाउँछ । यसले उद्योगको उत्पादन लागत बढाउनुको साथै सेयर र घरजग्गाको मूल्य वृद्धिलाई रोक्ने छ । व्याजदर वृद्धिको असर सबैभन्दा पहिले सेयर बजारमा पर्न सक्छ । उच्चतम विन्दुमा पुगेको सेयर बजारमा गिरावट आउने सम्भावनाहरु बढेर गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.