पुनर्निर्माण कोष व्यवस्थापन कार्यविधि जारी

  २०७३ असार २७ गते ७:०१     विकासन्युज

काठमाडौँ, २७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ जारी गरेको छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणका लागि भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐनअनुसार कार्यविधि जारी गरिएको हो । पुनर्निर्माण कोषको सरल, पारदर्शी र जवाफदेही व्यवस्थापन गर्नु कार्यविधिको उद्देश्य रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

‘कोषमा वैदेशिक सहायताअन्तर्गत प्राप्त हुने ऋण तथा अनुदान रकम महालेखा नियन्त्रक कार्यालयले तोकेअनुसार विदेशी मुद्रा वा नेपाली मुद्रामा रहने गरी ‘क’ समूहको खातामा जम्मा गरिनेछ,’ उनले भने ।

अन्य स्रोतबाट प्राप्त हुने रकम महालेखा नियन्त्रक कार्यालयले नेपाली मुद्रामा रहनेगरी तोकिएको ‘ख’ समूहको बैंक खातामा रहने कार्यविधिमा उल्लेख छ ।

विशेष प्रयोजनका कार्यक्रम सञ्चालन गर्न प्राप्त हुने सहयोग रकम जम्मा गर्न सरकारी कारोबार गर्ने इजाजत प्राप्त वाणिज्य बैंकको चल्ती खाता खोल्नुपर्नेछ । यस्ता खाताबाट सोझै खर्च गर्न नपाइने प्राधिकरणले जनाएको छ । कार्यविधिअनुसार यस्ता खातामा जम्मा भएको रकम तोकिएको प्रयोजनमा खर्च गर्नुपर्ने थपलियाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.