संस्थागत निक्षेपको व्याज ८ प्रतिशत नजिक, असार मसान्तसम्म अझै व्याज बढ्न सक्ने

  २०७३ असार २६ गते ५:०१     विकासन्युज

काठमाडौं, २६ असार । बैंकहरुले निक्षेपकर्तालाई दिने व्याजदरमा व्यापाक असमानता देखिएको छ । त्यसमा पनि व्यक्तिगत र साना निक्षेपकर्तालाई कम व्याज दिने र ठूला तथा संस्थागत निक्षेपकर्तालाई बढी व्याज दिने नीति बैंकहरुले अपनाउँदा साधारण निक्षेपकर्ता मर्कामा परेका छन् ।

dr-Chiranjibi-nepalपछिल्लो समय व्यक्तिगत निक्षेपकर्ताको तुलनामा संस्थागत निक्षेपकर्ता उच्च दरको व्याज पाएका छन् । वाणिज्य बैंकहरुले अहिलेसम्म व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा करिब ६ प्रतिशत व्याज दिईरहेका छन् भने संस्थागत निक्षेपकर्ताले ८ प्रतिशत व्याज पाउन थालेका छन् ।

‘एक वर्षे मुद्दतीमा ७ दशमलव ५ प्रतिशत व्याजमा निक्षेप लिन टेण्डर हाल्दा पनि परेन’ एक वाणिज्य बैंकमा अधिकारीले विकासन्युजसँग भने ‘संस्थागत निक्षेपमा विड गर्दा एक वर्षे मुद्दति खातामा बैंकहरुले ७ दशमलव ७५ प्रतिशतसम्म व्याज कोट गर्न थालेका छन् ।’

एक वर्षे मुद्दतीमा ७ दशमलव ५ प्रतिशतसम्म व्याज पाउन थालेको कर्मचारी सञ्चाय कोषका प्रशासक कृष्णप्रसाद आचार्य बताउँछन् । बैशाख, जेठ र असारमा निक्षेपको व्याजदर कमशः बढ्दै गएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । असार मसान्तसम्ममा निक्षेपको व्याज अझै बढ्ने संकेतहरु देखिएको उनले बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा मिनबहादुर श्रेष्ठका अनुसार लामो समय अधिक तरलताको समस्या भोग्दै आएको वित्तीय क्षेत्रमा यतिबेला लगानीयोग्य पुँजी न्यून बन्दै गएको छ । बैंकहरुले बढी व्याज प्रस्ताव गरेर निक्षेपलाई आकर्षित गर्न थालेका छन् भने कर्जाको व्याजदर बढ्न थालेको छ ।

कर्जा र निक्षेपको अनुपात ८० दशमलव ४३ प्रतिशत छ । त्यसमा वाणिज्य बैंकको ७९ प्रतिशत, विकास बैंकको ८५ प्रतिशत र वित्त कम्पनीको ९२ प्रतिशत छ । वाणिज्य बैंक समूह बाहेकको कर्जा निक्षेप अनुपातले सीमा नाघिसकेको छ । राष्ट्र बैंकले कर्जा र निक्षेपको अनुपात ८० प्रतिशत भन्दा बढी हुन नहुने नियम लागू गरेको छ । कुल निक्षेपको १३ प्रतिशत भन्दा कम बैंकको खातामा नगद रहेको राष्ट्र बैंकमा अधिकारीहरुले बताएका छन् ।

तरलताको कमीको कारण व्याजदरमा उच्च वृद्धि देखिएको छ । केन्द्रीय बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार गत बैंशाख अन्त्यमा बैंक तथा वित्तीय संस्थाका बचतकर्ताले ३ दशमलव ०७ प्रतिशत व्याज पाएका थिए । बचत खातामा वाणिज्य बैंकले औषतमा २ दशमलव ०१ प्रतिशत व्याज दिएका छन् । कल खातामा ३.४३ प्रतिशत व्याज दिएका छन् । मुद्दति खातामा ५ दशमलव ५४ प्रतिशत व्याज दिएका छन् ।

मुद्रास्फिती ९ प्रतिशतभन्दा बढी हुँदा निक्षेपकर्ताले ३ प्रतिशत मात्र व्याज पाईरहेको छन् । यस्तो विषम अवस्थामा केन्द्रीय बैंकले नीतिगत हस्तक्षेप जरुरी भएको जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले सोमबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

ठूला र स्थापित बैंकहरुले सर्वसाधारणले पैसा राख्ने बचत खातामा २ प्रतिशत भन्दा कम व्याज दिने गरेका छन् । तिनै बैंकहरु संस्थागत बचतकर्ताले टेण्डर खोल्दा ७/८ प्रतिशत व्याज कोट गर्ने गरेको एक वाणिज्य बैंकका सिईओले बताए । ‘बैंकहरुले अपनाएको व्याजदर निर्धारण अभ्यास सानालाई मर्कामा पार्ने तर ठूलालाई पोषण गर्ने खालको छ’ राष्ट्र बैंकले यसमा ध्यान दिन जरुरी छ’ उनले भने । बचत खाता र मुद्दती खाताको व्याज अन्तर निश्चित हुनै पर्ने व्यवस्था हुने हो भने बचत खातामा पैसा राख्नेले पनि लाभा पाउने उनको विचार छ ।

बैंकहरुले कर्जा लगानीमा भने ९ दशमलव ०३ प्रतिशत व्याज लिएका छन् । औषतमा कर्जा १७ प्रतिशत र निक्षेप १९ प्रतिशतले बढेको छ । नाकाबन्दी खुलेपछि बैंकहरुमा कर्जाको माग बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.