२०७३ असार १९ गते १२:३६ विकासन्युज
काठमाडौं, १९ असार । मोरङ जिल्लाको बेतौना गाउँमा झिँगा आतंकले गाउले त्रसित बनेका छन् । नजिकै रहेको कुखुरा फार्मका कारण झिँगा आतंक बढेपछि सो गाउँका जनता विगत एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । सोराभाग गाबिसमा रहेको पोल्ट्री फार्मका कारण गाउँमा झिँगा बढेपछि गाउँले खाना खान समेत नसकिरहेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए ।
झिँगाले स्वास्थ्यमै असर गर्न थालेपछि पोल्ट्री फार्म घेर्न गएका गाउँलेहरुमाथी प्रहरीले केहिदिन अघि लाठी चार्ज गरेको थियो भने केहि गाउँले विरुद्ध मुद्धा समेत चलाएको छ । गाउँलेहरुले इन्दिरा उप्रेतीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । हरियो झिँगाले सताएपछि गाउँलेहरुले झिँगा धपाउन स्प्रे गर्नु परेको तथा दुर्गन्धले स्वास्थ्यमै समस्या पारेको संघर्ष समिति संयोजक उप्रेतीले बताइन् ।
पोल्ट्री फार्मको आसपास चार चार किलोमिटरका एक हजार भन्दा बढि घरधुरी प्रभावित बनेको उनले बताइन् । आइतबार क्षेत्र नम्बर ४ का सांसद शिवकुमार भण्डल, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी प्रमुख संदिप भण्डारीले घट्नास्थलको निरिक्षण गरेका थिए । उनीहरुले पोल्ट्री फार्म हटाउन माग गरेका थिए भने प्रशासनले फार्म हटाउने आश्वासन दिएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.