पुनर्बीमा कम्पनीको सञ्चालक समिति रित्तियो, निर्वाचन र नियुक्ती दुबै प्रक्रिया अवरुद्ध

  २०७३ असार १९ गते १०:३४     विकासन्युज

काठमाडौं, १९ असार । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समिति रित्तो भएको छ । असार १४ गते भएको साधारणसभामा नयाँ सञ्चालकको लागि निर्वाचन नभएपछि र सरकारले नियुक्त गर्नु पर्ने सञ्चालकहरुको नियुक्ती पनि हुन नसक्दा कम्पनी सञ्चालक समिति विहीन बन्न पुगेको छ ।

महेश गुरागाई

महेश गुरागाई

कम्पनीमा सरकारले नियुक्त गरेको तीन जना, निर्जीवन बीमा कम्पनीबाट २ जना, जीवन बीमा कम्पनीबाट एक जना र विज्ञ सदस्यसहित ७ जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । तर हाल सरकारबाट नियुक्ती पाएको महेश गुरागाई कम्पनीको अध्यक्ष छन् भने सञ्चालक पद सबै खाली भएको छ ।

१४ गते भएको कम्पनीको पहिलो साधारणसभामा दुई सञ्चालक निर्वाचित गर्ने अजेण्डा थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीका अनुसार ३ जनाले सञ्चालक पदका लागि मनोनयन गरेका थिए । निर्वाचन हुने अवस्थामा बीमा कम्पनीहरुबीच तिक्तता आउने सम्भावना देखेर सर्वसहमतिको प्रयास स्वरुप निर्वाचन प्रक्रिया रोकिएको उनले बताए ।

स्रोतका अनुसार कम्पनीको सञ्चालक नियुक्ती प्रक्रियामा नीतिगत समस्या देखिएको छ । पुर्नबीमा कम्पनीको नियमावलीमा लगानी गर्ने बीमा कम्पनीको तर्फबाट सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत पुर्नबीमा कम्पनीको सञ्चालक बन्ने पाउने व्यवस्था छ । तर बीमा समितिले जारी गरेको संस्थागत सुशासन अनुसार बीमा कम्पनीका सञ्चालक वा कार्यकारी प्रमुख वा व्यवस्थापनको उच्च पदमा रहेका व्यक्ति उस्तै प्रकृतिको संस्थामा सञ्चालक, कार्यकारी प्रमुख तथा सञ्लाहाकार समेत बस्न नपाउने व्यवस्था छ ।

यसरी निर्वाचत प्रक्रियाबाट सञ्चालक समितिको छनौट प्रक्रिया अवरुद्ध भएको छ भने सरकारी नियुक्त गर्नुपर्ने सञ्चालक र विज्ञ सञ्चालक पनि नियुक्त भएका छैनन् । पुराना सञ्चालकहरुलाई दिएको नियुक्ती पत्रमा ‘कम्पनीको पहिलो साधारणसभा नभएसम्मको अवधिका लागि’ भनेर खुलाईएको छ । सोही आधारमा कम्पनीको साधारणसभा भईसकेपछि पुराना सञ्चालकहरु दीपप्रकाश पाण्डे, चन्द्रसिंह साउद र विके श्रेष्ठको कार्यकाल सकिएको छ ।

यस कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ३८ प्रतिशत र जीवन बीमा कम्पनीसहित अन्य कम्पनीको गरी १८ प्रतिशत सेयर रहेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले पुँजी वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने निर्णय साधारणसभाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.