नेपाल लाइफको एफपिओको तत्काल नआउने संकेत, एफपिओ मूल्य फरक हुन सक्ने, सेयर कारोवार भने खुल्ला

  २०७३ असार १६ गते ५:५१     विकासन्युज

काठमाडौं, १६ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार विहिवारदेखि खुल्ने भएको छ । सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्यु (एफपिओ) को मूल्य निर्धारण सम्बन्धमा बजारमा सार्वजनिक रुपमा प्रवाहित भएको सूचनाले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल रहेको र यसबाट नेपाल लाइफको सेयरको दोस्रो बजारमा हुने कारोबारमा नकारात्मक असर पर्न सक्ने भन्दै धितोपत्र वोर्डले सेयर कारोवार रोक्का गरेको थियो ।

बोर्डले सो कम्पनीको शेयर कारोबार रोक्का गरी एफपिओ सम्बन्धमा जानकारी एवं विवरण माग गरेको थियो । कम्पनीको माग अनुसार एफपिओको मूल्य निर्धारण गर्न समय लाग्ने भन्दै बोर्डले विहिवारदेखि सेयर कारोवार फुकुवा गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार फर्दर पव्लिक इस्यु प्रिमियममा जारी गर्दा सो प्रयोजनका लागि विवरणपत्र तयार गरी बोर्डबाट स्वीकृत गराई सार्वजनिक निष्काशन कार्य अगाडि बढाउनुपर्नेमा उक्त निष्काशनका सम्बन्धमा बोर्डमा स्वीकृतिका लागि विवरणपत्र पेश नगर्दै बजारको संवेदनशीलतालाई ध्यान नदिई मूल्य सम्बन्धी सूचना सार्वजनिक गराएकोले धितोपत्र बजारको स्वच्छता तथा लगानीकर्ताको हितलाई दृष्टिगत गरी अब आइन्दा त्यस किसिमको कार्य नगर्नका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई बोर्डबाट सचेत गराईएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले एफपिओ जारी गर्नको लागि तयार गरेको विवरणपत्र स्वीकृतिका लागि बोर्डमा पेश गरिसकेको छ । एफपिओको मूल्य निर्धारणको लागि एकरुपता ल्याउन स्पष्ट नीगितगत आधार तयार पार्न लागेको बताइएको छ । यस्तो आधार तयार पार्न समय लाग्ने भएकोले अहिलेलाई कारोवार गर्न दिइएको बोर्डको भनाइ छ ।

‘बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्यछिटैसम्पन्न गर्ने गरी अगाडि बढाईएको भए तापनि सोका लागि केही समय लाग्न सक्ने हुँदा लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को शेयर कारोबार १६ असारदेखि फुकुवा गरिएको छ,’ बोर्डले भनेको छ ।

बोर्डको यस्तो विज्ञप्तिले नेपाल लाइफले तत्काल एफपिओ जारी गर्न नपाउने अवस्था सिर्जना भएको छ । यस्तै बोर्डले विहिवार विहान अर्काे विज्ञप्ति जारी गर्दै कम्पनीले तोकेको प्रिमियम मूल्य फरक पर्न सक्ने बताएको छ ।

‘बोर्डवाट प्रिमियम मूल्य निर्धाण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धि कार्य छिट्टै सम्पन्न गर्ने गरी अगाडि बढाइएकोले संगठित संस्थाहरुले बोर्डवाट निर्धाण भए अनुरुपको नीतिगत आधारमा रही प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने हुनाले नेपाल लाइफे हाल बोर्डमा पेश गरेको प्रिमियम मूल्यमा हेरफेर हुन सक्ने तथ्यप्रति सजग हुनका लागि सम्पूर्ण लगानीकर्ताहरुलाई जानकारी गराइन्छ,’ विहिवार विहान बोर्डले जारी गरेको अर्काे विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.