खाद्य मेलामा करिब ६० लाख रुपैयाँको कारोबार

  २०७३ असार १२ गते ९:०१     विकासन्युज

काठमाडौं, १२ असार । खाद्य तथा गुण नियन्त्रण विभागले भृकुटीमण्डपमा आयोजना गरेको खाद्य मेलामा करिब रु ६० लाखको कारोबार भएको छ । विभिन्न जातजातिका स्थानीयस्तरमा रहेका खाद्य पदार्थको उत्पादन, विविधिकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन शुक्रबारदेखि आजसम्म जारी मेलामा करिब ५० हजारले सहभागिता जनाएको आयोजकले जनाएका छन् ।

मेलामा विभिन्न जातजातिका परम्परागत परिकार, सङ्घसंस्थाका जानकारीमूलक कक्ष गरी ३६ कक्षसहित ७८ कक्ष राखिएका थिए । मेलामा थारु, सुनुवार, नेवार, गुरुङ जातिका खानेकुरा राखिएका थिए । घुँघी, माछा, सुँगुर, यमरी, सेलरोटी, मःमः, फापरका परिकार, मासुका विभिन्न परिकार खरिद बिक्री भएको थियो । स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना उपलब्ध गराइएको थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले सर्वसाधारणको खानेबानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी गरिएको र आगामी दिनमा देशका अन्य स्थानमा समेत यस्तो प्रदर्शनी गरिने बताए ।

‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ, भन्ने नाराका साथ सुरु भएको मेलामा विभिन्न जाति, जनजातिका परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.