पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

  २०७३ असार ७ गते १२:१८     विकासन्युज

काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

som_pandeyअस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे ।

विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए ।

नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए ।

सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.