६६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सुरू

  २०७३ जेठ २८ गते १०:४६     विकासन्युज

कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए ।

“दैजी–बेलडाँडी जोड्नका लागि बल्मा नदीमा रु आठ करोडको लागतमा झन्डै सय मिटर लम्बाइको पक्की पुल र धार्मिकस्थल घटाल थान जोड्नका लागि रु १८ करोडको लागतमा २०० मिटर लम्बाइको पुल निर्माण कार्य भइरहेको छ”, उनले भने । दोदा नदीमा पुल नहुँदा बर्सातका बेला देखतभूली र शङ्करपुरका बासिन्दाको सदरमुकामसँग सम्बन्ध विच्छेद हुँदै आएको थियो ।

पुल निर्माणको कार्यले यातायात सेवासँगै आवतजावतमा सहजता हुने शंकरपुरका रामप्यारा चौधरीले बताए । यसैगरी, दैजी–बेलडाँडीको बल्मा नदीमा पुल नहुँदा बेलडाँडीलगायत क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । धार्मिक क्षेत्र घटाल थानमा पुल निर्माण सँगै दर्शनार्थीलाई सहजता हुने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.