पूर्णागिरिको मेलासँगै व्यापार बढ्यो

  २०७३ जेठ २१ गते ४:३२     विकासन्युज

 

 

purnagiri_mela-150x150

भीमदत्तनगर, २ वैशाख । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ ।

फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने गरेका छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले भने, – “किनमेलका कारण व्यापार बढेको छ ।”

यहाँका व्यापारीले तीन महिनाको मेलामा कमाएको पैसाले बाँकी नौ महिना घरखर्च धान्ने गरेका छन् । अरु समय दैनिक रु चार÷पाँच हजारको बिक्री हुने गरेकामा अहिले दैनिक रु २० देखि रु ३० हजारसम्म बिक्री हुने गरेको महेन्द्रनगर बजारका व्यापारी इन्द्रबहादुर बम बताउछन् ।

मेलाका कारण भीमदत्तनगर भन्दा सीमावर्ती ब्रह्मदेव बजारमा व्यापार फष्टाएको छ । सीमावर्ती भारतको टनकपुरदेखि करिब ५० किलोमिटर उत्तरमा पूर्णागिरि माताको तीर्थस्थल रहेको छ । यहाँ फागुपूर्णिमादेखि जेठ महिनासम्म मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि यहाँस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताका कारण बर्सेनि हजारौँ भारतीय दर्शनार्थी यहाँ आउने गर्छन् ।

दर्शनार्थीका लागि मुख्य समस्या यातायातको रहेको छ । उनीहरु सहजै सिद्धनाथ मन्दिरसम्म पुग्न सक्दैनन् । “आउजाउ गर्न यातायातको असुविधा रहेछ,” – पहिलोपटक पूर्णागिरि दर्शनका लागि भारतको इलाहावादबाट आउनुभएका राधेराम गुप्ताले भन्नुभयोे – “यातायातको साधन उपलब्ध नहुँदा कतिपय दर्शनार्थी ब्रह्मदेव बजारबाटै घर फर्के ।”

महेन्द्रनगरदेखि १३ किलोमिटर टाढा ब्रह्मदेव बजारमा सिद्धनाथ बाबाको मन्दिर रहेको छ । यातायात असुविधाकै कारण कतिपय दर्शनार्थी त्यहाँको मन्दिरमा दर्शन गरी घर फर्किन्छन् । थोरै दर्शनार्थी मात्र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म पुग्ने गरेका छन् । पूर्णागिरि दर्शन गर्न जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य छ । भारत उत्तराखण्ड राज्य चम्पावत जिल्लाको टनकपुर गाविसस्थित शिवालिक चुचुरोमा पूर्णागिरि मन्दिर रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.