माओवादी केन्द्रको नौ सदस्यीय हेडक्वार्टर गठन, देशव्यापी जनसभा असारमा

  २०७३ जेठ २० गते ९:५३     विकासन्युज

PRACHANDA-150x150काठमाडौँ, १० जेठ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा नौसदस्यीय केन्द्रीय हेडक्वार्टर गठन गरेको छ । पार्टीको सोमबार यहाँ बसेको केन्द्रीय समितिको बैठकले तत्कालका लागि गठन गरेको केन्द्रीय कार्यालयमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृका यादव, मणि थापा, तिलक परियार र जयपुरी घर्ती रहेका छन् ।

यस्तै सचिवालय तथा पोलिटब्युरो पनि गठन गरिने माओवादी केन्द्रले जनाएको छ । सो पार्टीका नेता दीनानाथ शर्माका अनुसार ४९ देखि ५१ जनाको सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ भने १५१ सदस्यीय पोलिटब्युरो गठन गर्ने निर्णय गरिएको छ । केन्द्रीय हेडक्वार्टर बसेर सो सम्बन्धमा आवश्यक निर्णय गरिनेछ ।

देशव्यापी जनसभा असारमा

माओवादी केन्द्रले आगामी असार ४ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । केन्द्रले मुलुकका अन्य स्थानमा समेत जनसभा एवम् बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने तय गरेको छ । यस्तै माओवादीले प्रवक्ताको जिम्मेवारी पम्फा भुसाललाई तोकेको छ । यसअघिका प्रवक्ता शर्मालाई प्रकाशन विभागको जिम्मेवारी दिइएको छ ।

यस्तै नेतृत्वको सङ्गठनात्मक विधि तय गर्न नेता वर्षमान पुनको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा भुसाल, जनार्दन शर्मा, प्रभु साह, उर्मिला अर्याल, हितमान शाक्य, खगराज भट्ट, वसन्त घर्ती, कुलप्रसाद केसी लगायत छन् । यस्तै पार्टी एकतापछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत केन्द्रले गरेको छ ।

यसै गरी जेठ २० गते ३ नं प्रदेश, जेठ २२ गते महोत्तरीमा २ नं, २४ गते कास्कीमा ४ नं, २६ गते दाङमा ५ नं, २८ गते सुर्खेतमा ६ नं, असार ८ गते इटहरीमा १ नं प्रदेशको र असार ११ गते कैलालीमा ७ नं प्रदेशको भेला गरिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.