एक महिनामा कल एकाउन्टवाट २२ अर्ब रुपैयाँ घट्यो, पूँजी बजारमा गएको हुन सक्ने राष्ट्र बैंकको अनुमान

  २०७३ जेठ ३ गते ११:३८     विकासन्युज

काठमाडौं, ३ जेठ । पछिल्लो केही बर्षयता निरन्तर बढ्दै गएको निक्षेप घट्न थालेको छ । बाणिज्य बैंकहरुमा ब्यक्ति र संस्थाले राख्ने गरेको निक्षेप घट्न थालेको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले देखाएको छ । निक्षेप रकममध्ये पनि विषेश गरेर कल डिपोजिटमा राखिएको रकम उल्लेख्य मात्रामा घटेपछि यस्तो रकम कहाँ गयो भनेर चासो र खोजी हुन थालेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत चैत मसान्तमा निक्षेप रकम फागुनको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले घटेको छ । गत फागुन महिनामा १९ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेकोमा यस्तो रकम चैत मसान्तमा घटेर १९ खर्ब १० अर्ब रुपैयाँमा सिमित भएको छ । एक महिनाको विचमा बाणिज्य बैकहरुवाट घटेको निक्षेप कहाँ गएको छ भन्ने खोजी हुन थालेको छ ।

एक महिनाको विचमा ब्यापारिक संस्था र कम्पनीहरुले राख्ने कल डिपोजिटमा २२ अर्ब रुपैयाँ घटेको छ । गत फागुन महिनामा कल डिपोजिटमा ४ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप थियो । चैत मसान्तमा यस्तो निक्षेप घटेर ३ खर्ब ८५ अर्ब रुपैयाँमा सिमित भएको छ ।

कल डिपोजिटको यस्तो रकम कहाँ गयो भन्ने चिन्ता राष्ट्र बैंकमा फैलिएको छ । यस्तो पैसा कुनै उद्योग वा कारखनामा लगानी भएको अवस्था नरहेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । ‘यो पैसा उद्योग वा कारखनामा लगानी भएको देखिदैन, केही रकम कर तिर्न प्रयोग भएको हुन सक्ने भएपनि बाँकी पैसा कि विदेश गयो कि सेयर बजारमा लगानी भयो,’ ती अधिकारीले भने । गत चैत महिनामा पूजी बजारमा उल्लेख्य कारोवार भएकोले पनि राष्ट्र बैंकले यस्तो शंका गरेको हो । एक महिनाको विचमा कल डिपोजिटमा भएको निक्षेप ५ दशमलब २९ प्रतिशतले घटेको छ ।

बाणिज्य बैंकहरुमा करेन्ट, सेभिङ, फिक्स्ड र अन्य निक्षेप भने बढेको छ । करेन्ट एकाउन्टको निक्षेप १ खर्ब ६० अर्बबाट ५ अर्ब बढेर १ खर्ब ६५ अर्ब, सेभिङ एकाउन्टको निक्षेप ८ खर्ब ८ अर्ब रुपैयाँबाट २ अर्बले बढेर ८ खर्ब १० अर्ब रुपैयाँ, फिक्स्ड (मुद्दति) एकाउन्टको रकम ५ खर्ब १८ अर्ब रुपैयाँवाट ४ अर्बले बढेर ५ खर्ब २२ अर्ब रुपैयाँ र अन्य निक्षेप २५ अर्बबाट बढेर २६ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.