एनसीसी र कुमारीसहित ६ बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो एनसीसीको १००, कुमारीको ९८ रुपैयाँ

  २०७३ वैशाख २९ गते २१:४१     विकासन्युज

काठमाडौं, २९ बैशाख । मर्जर प्रक्रियामा रहेका एनसीसी बैंक, कुमारी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकको विस्तृत लेखा परीक्षण प्रतिवेदन (डीडीए रिपोर्ट) तयार भएको छ । बुधबार बसेको संयुक्त मर्जर समितिको बैठकमा सबै बैंकको डिडिए रिपोर्ट पेस गरिएको छ ।

स्रोतका अनुसार डीडीए रिपोर्टले एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १६० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै कुमारी बैंकको सेयर मूल्य प्रतिकित्ता १५७ रुपैयाँ निर्धारण गरेको छ ।

विकास बैंकमा सबैभन्दा बढी सेयर मूल्य इन्फ्राष्ट्रक्चर डेभपलमेन्ट बैंकको देखिएको छ । उसको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ देखिएको छ । त्यस्तै, सुप्रिम डेभलपमेन्ट बैंकको ११९ रुपैयाँ, इन्टरनेशन डेभलपमेन्ट बैंकको ११४ रुपैयाँ र एपेक्स डेभलपमेन्ट बैंकको १०० रुपैयाँ भन्दा कम देखिएको छ ।

डिडिए रिपोर्टले सबैभन्दा बढी मूल्य देखाएको एनसीसी बैंकको सेयरलाई प्रतिकित्ता १०० रुपैयाँ मानेर अरु बैंकहरुको स्वाप रेसियो निर्धारण गरिने भएको छ । त्यसअनुसार कुमारी बैंकको सेयर प्रतिकित्ता ९८ रुपैयाँ १३ पैसा हुनेछ ।

इन्फ्राष्ट्रक्चर डेभपलमेन्ट बैंक सेयर स्वाप मूल्य ७६ रुपैयाँ २५ पैसा हुनेछ । सुप्रिम डेभलपमेन्ट बैंकको ७४ रुपैयाँ ३७ पैसा र इन्टरनेशनल डेभलपमेन्ट बैंकको ७२ रुपैयाँ २५ पैसा हुनेछ । डिडिए रिपोर्टले १०० भन्दा पनि कम देखाएकोले एपेक्सको सेयरधनीले ६० रुपैयाँ भन्दा पनि कम मूल्य पाउने उच्च स्रोतको दावी छ ।

‘आजको बैठकमा डिडिए रिपोर्टको बारेमा छलफल भयो । बैशाख ३१ गते शुक्रबार बस्ने बैठकले अन्तिम स्वाप रेरियो निर्धारण गर्नेछ’ स्रोतले भन्यो । मर्जर सम्बन्धि समझदारी पत्रमा डीडीए रिपोर्टले देखाएको मूल्यमा १० प्रतिशतसम्म मूल्य थपघट गरि समझदारी गर्न सकिने उल्लेख भएकोले सोही आधारमा संस्थाहरुबीच स्वाप रेसियोमा ‘नेगोसिएसन’ हुने बताईएको छ ।

मेघा मर्ज भनेर चिनिने यस मर्जको नेतृत्व गरिहेका लक्ष्मीप्रपन्न निरौला शुक्रबार साँझ करिव एक महिनाको लागि विदेश जाने भएकोले त्यसअघि नै स्वाप रेसियोबारे अन्तिम निर्णय गर्ने तयारी भईरहेको छ । शुक्रबार स्वाप रेसियो निर्धारण भईपछि मर्जरको स्वीकृति माग गर्दै राष्ट्र बैंकमा प्रस्ताव गरिने छ ।

असार मसान्तसम्ममा मर्ज सम्पन्न गर्ने तयारी छ । ६ संस्था मर्जपछि नयाँ नाम राख्ने गृहकार्य शुरु भएको छ । मर्ज सफल भएमा चुक्ता पुँजी करिव ८ अर्ब २५ करोड रुपैयाँसहित ठूला बैंकको सूचिमा अगाडि आउनेछ । एनसीसी बैंकको सञ्चालक समिति समालेको राष्ट्र बैंक नै संलग्न भएकोले यो मर्ज सफल नै हुने धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.