बैदेशिक रोजगार जीबन बीमाः शुल्क ६५ प्रतिशत र बीमा दाबी रकम शतप्रतिशत बढ्यो

  २०७३ वैशाख २ गते १३:४३     विकासन्युज

काठमाडौं, २ बैशाख । बैदेशिक रोजगारीमा जाने कामदारले गर्ने बैदेशिक रोजगार (म्यादी) जीबन बीमाको विमांक रकम र बीमा शुल्क बढेको छ । बीमा समितिले चैत अन्तिम दिन विहान संचालक समितिको बैठक राखेर बीमा शुल्क ६५ प्रतिशत बढाउने निर्णय गरेको छ । यस्तै अब बीमांक दाबी रकम पहिलाको भन्दा दोब्बर भएको छ । यस्तो निर्णय १ बैशाखदेखि लागू भएको हो ।

बीमा गराएको ब्यक्ति बैदेशिक रोजगारीमा रहेको अवस्थामा मृत्यू भएमा यसअघि ५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने ब्यवस्था थियो । तर अव यस्तो रकम बढाएर १० लाख रुपैयाँ गरिएको समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए । यस्तै औषधि उपचारको लागि पाइने रकम पनि दोब्बर भएको छ ।

बीमा शुल्क भने पहिलाको भन्दा ६५ प्रतिशतले बढाइएको छ । सो निर्णयको जानकारी ३० चैतमै सवै बीमा कम्पनीहरुलाई गराइसकिएको छ ।

बैदेशिक रोजगार म्यादी जीबन बीमाको शुल्क उमेर अनुसार फरक फरक हुने गरेको छ । सो अनुसार १८ देखि ३५ बर्षसम्म उमेरको ब्यक्तिले बीमा गराउदा डेढ बर्षको लागि २ हजार ३ सय ५१ रुपैयाँ लाग्ने भएको छ । यस्तै ३६ देखि ५० बर्ष उमेरको ब्यक्तिले ३ हजार ३ सय र ५१ देखि ६४ बर्ष उमेरको ब्यक्तिले ७ हजार १३ रुपैयाँ बीमा शुल्क बुझाउने पर्ने भएको छ ।

समितिले अधिकतम ६ बर्ष अवधिको बीमाको परिकल्पना गरेको छ । सो अनुसार ६ बर्षको लागि १८ देखि ३५ बर्षको ब्यक्तिले बीमा शुल्क ६ हजार ५ सय १८ रुपैयाँ, ३६ देखि ५० बर्ष उमेरको ब्यक्तिले ९ हजार ५ सय ७० रुपैयाँ र ५१ देखि ६४ बर्ष उमेरको ब्यक्तिले १९ हजार १ सय ४० रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने भएको छ । ६४ बर्षभन्दा माथिको उमेर भएका ब्यक्तिले भने बीमा कम्पनीले निर्धारण गरे अनुसारको बीमा शुल्क तिर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.