स्टाण्डर्ड चार्टर्ड बैंकले अझै पाएन बोनस दिने स्वीकृति, यस्तो छ सेयर मूल्य बढ्नुको कारण

  २०७२ चैत १६ गते १२:३८     विकासन्युज

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले लामो समय विते पनि स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको बोनस सेयर स्वीकृत गरेको छैन । बैंकले पहिलो पटक गरेको बोनस सेयर प्रदान गर्ने प्रश्ताव अस्वीकार गरेको राष्ट्र बैंकले दोस्रो पटक पनि पेश गरेको प्रश्ताव पनि त्यत्तिकै थन्क्याएर राखेको हो । स्टाण्डर्ड चार्टर्डले सुरुमा १५ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद लाभांश दिने प्रश्ताव राष्ट्र बैंक समक्ष गरेको थियो । सो प्रश्ताव अस्वीकृत भएपछि बैंकले पुन २५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश दिने प्रश्ताव गरेको थियो । सो प्रश्ताव पनि पारित नभएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

बैंकको बोनस सेयर प्रश्तावलाई राष्ट्र बैंकले अस्वीकार गरेपछि बैंकको सेयर मूल्य भने बृद्धिको क्रममा रहेको छ । राष्ट्र बैंकले २०७४ को असार मसान्तमा बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने ब्यवस्था गरेको छ । यसको लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफलमा नगद लाभांशलाई निरुत्साहित गर्दै बोसन सेयर प्रदानलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । स्टाण्डर्ड चार्टर्डले नगद लाभांश दिन लागेको कारण राष्ट्र बैंकले असहमति जनाएको हो ।

नगद लाभांश दिन रोक लगाइमा सो बैंकले करिब ४० प्रतिशत बोनस सेयर प्रदान गर्नेछ । यसैको आशामा केही दिन यता बैंकको सेयर कारोवार संख्या र मूल्य बृद्धि भइरहेको छ ।

मार्च महिनामा बैंकको सवैभन्दा धेरै कित्ता सेयरको कारोवार गत आइतवार भएको थियो । सो दिन स्टाण्डर्ड चार्टर्ड बैंकको १३ हजार ३ सय ९८ कित्ता सेयर कारोवार भएको थियो । मार्च महिनामै सो बैंकको कुनै दिन जम्मा ९ सय ७७ कित्तासम्म सेयर कारोवार भएको थियो । यस्तै यही महिनामा प्रतिकित्ता २ हजार ७ सय ८५ रुपैयाँमा कारोवार भएको सो बैंकको सेयर केही दिनयता बढेर ३ हजार ४० रुपैयाँसम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.