पूँजी वृद्धि अवधि बढाउन दवाव दिदै ठूला लगानीकर्ता, लिखित प्रस्ताव गर्न डेपुटी गभर्नरको सुझाव

  २०७२ चैत ८ गते ९:५६     विकासन्युज

काठमाडौं, ८ चैत । दुई बाणिज्य बैंकका प्रमुख लगानीकर्ताले बैंकको पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन दवाव सिर्जना गर्न थालेका छन् । एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ र हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धि कार्यक्रमको अवधि बढाउन आग्रह गरेका छन् ।

उनीहरुले पुँजी वृद्धि अवधि बढाउन दवाव सिर्जना राजनीतिक शक्तिको प्रयोग गरेका छन् । उनीहरुले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई साथमा राखेर डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग पुँजी वृद्धिको अवधि बढाउने आग्रह गरेका हुन् ।

BK_Shrestha

विके श्रेष्ठ

गत सोमबार एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले सोल्टी होटलमा डिनरको लागि भनेर गभर्नर डा चिरञ्जीवि नेपाल, डेपुटी गभर्नर शिबराज श्रेष्ठलाई बोलाए । उक्त उक्त डिनरमा हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठ र हिमालय शमशेर जवरा, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको सानो समूह सहभागि हुने तय भएको थियो ।

स्रोतका अनुसार अन्तिम समयमा नेता सिंहले सबैलाई आफ्नै घरमा बोलाए । सोल्टीको डिनर नेता सिंहको ठमेलको घरमा सरेपछि गभर्नर नेपाल सहभागी नहुने निष्कर्षमा पुगे । उनले आफूलाई सञ्चो नभएकोले सहभागि हुन नसकेको जानकारी विके श्रेष्ठलाई गराए ।

manoj_shrestha

मनोजबहादुर श्रेष्ठ

सिंहको घरमा नबनियुक्त डेपुटी गभर्नर श्रेष्ठ, दुई बैंकमा अध्यक्ष, हिमालय शमशेर जवरा गएका थिए । उक्त भेटमा इन्भेष्टर एसोसिएशनका अध्यक्ष समेत रहेका हिमालयन बैंकमा अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले वाणिज्य बैंकका सिईओहरुको मात्र भनाई सुन्ने गरेको र लगानीकर्ताको मर्काका बारेमा चासो नदिएको गुनासो गर्दै पुँजी वृद्धिको लागि तोकिएको अवधि बढाउन माग गरेका थिए ।

पूर्व गभर्नर समेत रहेका राणाले बजार विस्तारसँगै पुँजी वृद्धि आवश्यक भएको, पुँजी वृद्धि गर्न सबै तयार भएको तर समय कम भएको बताएका थिए । समय थप्दा कसैलाई पनि नराम्रो नहुने उनको धारण छ ।

सो अवसरमा एभरेष्ट बैंकमा अध्यक्ष विके श्रेष्ठले एक व्यक्ति वा कम्पनीले बढीमा १५ प्रतिशत मात्र सेयर लगानी गर्न पाउने सीमालाई बढाएर २० प्रतिशत पारिनुपर्ने माग गरेका थिए । उनले हकप्रद सेयर जारी गर्दा कुनै प्रवद्र्धकले नकिनेको अवस्थामा सोही संस्थाका अर्को प्रवद्र्धकले किन्न पाउने अग्राधिकार हुनुपर्ने समेत माग गरेका छन् । १५ प्रतिशत सीमाका कारण एभरेष्ट बैंकमा उनी र उनी सम्वद्ध लगानीकर्ताको लाभांश रोकिने अवस्था रहेका स्रोतले बतायो ।

भेटका अवसरमा नेता सिंहले राष्ट्र बैंकको पुँजी वृद्धि सम्बन्धि नीति ठिक भएपनि यस नीतिले नेपालमा लगानी गरेको विदेशी बैंकलाई अप्ठ्यारो परेको विषय आफूसँग धेरैले उठाएको चर्चा गर्दै पुँजी वृद्धिको समय थप्न राष्ट्र बैंक लचिलो हुनुपर्ने बताएका थिए ।

हिमालयन बैंक र एभरेष्ट दुबै बैंकमा विदेशी लगानी रहेको छ । एभरेष्ट बैंकमा भारतको पन्जाब नेसनल बैंकको र हिमालयन बैंकमा पाकिस्तानको हविब बैंकको सेयर लगानी रहेको छ ।

डेपुटी गभर्नर श्रेष्ठले यो विषयमा गभर्नर कुरा गर्ने बताएका थिए । साथै उनले यो विषयलाई औपचारिक प्रक्रियाबाट राष्ट्र बैंकमा ल्याउन आग्रह गर्दै लिखित रुपमा आएका मागका बारेमा मात्र छलफल गर्न सकिने बताएका थिए ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि चार गुणाले बृद्धि गर्ने योजना ल्याएको छ । सो योजना अनुसार आगामी २०७४ सालको असार मसान्तसम्ममा बाणिज्य बैंकको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने हुन्छ । गभर्नर डा. नेपालले पूजी बृद्धि गर्ने समय थप नगर्ने कुरा पटक पटक दोहोर्याएपछि राजनीतिक पहुचको आधारमा समय थप गर्ने योजनामा संयुक्त लगानीका बैंकका संचालक लागेका हुन् ।

यी दुबै बैंकले आफैले पैसा थपेर तथा बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । हिमालयन बैंकको अहिले ४ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूजी छ । यस्तै चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा गरी १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने र आगामी आर्थिक बर्षमा ६४ करोड २७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर प्रदान गर्ने योजना सो बैंकको छ । यस्तो भएमा २०७४ को असार मसान्तमा बैंकको चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

एभरेष्ट बैंकको चुक्ता पूजी भने २ अर्ब १ करोड रुपैयाँ छ । उसले २ अर्ब रुपैयाँ नै पूजी भएको अर्काे बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने, अग्राधिकार सेयरलाई इक्वीटि सेयरमा परिणत गर्ने, फ्रि रिजर्भमा रहेको रकमलाई पूजीमा परिणत गर्ने, नाफावाट बोनस सेयर प्रदान गर्ने र एफपिओ जारी गर्ने जस्ता विकल्प सार्वजनिक गरेको छ । तर राष्ट्र बैंकले अग्राधिकार सेयरलाई इक्विटीमा परिणत गर्न र रिजर्भमा रहेको रकमलाई पनि सेयरमा परिणत गर्न नपाइने निर्देशन जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.