डेपुटी गभर्नर नियुक्तिमा राष्ट्र बैंकभित्र तिव्र असन्तुष्टिः कूल पूजा भन्दै पाण्डे स्याङ्जातिर लागे, पंगेनी भन्छन्, मेरो करियरमा बन्देज लगाइयो

  २०७२ फागुन २७ गते ११:२१     विकासन्युज

काठमाडौं, २७ फागुन । सरकारले हालै गरेको डेपुटी गभर्नर नियुक्तिप्रति राष्ट्र बैंकका केही कार्यकारी निर्देशकले असन्तुष्टि जनाएका छन् । कार्यसम्पादन मूल्यांकन, बरिष्ठता जस्ता विषय नहेरी राजनीतिक भागबण्डामा डेपुटी गभर्नर नियुक्त गरिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

सरकारले १९ फागुनमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरनमा नियुक्त गरेको थियो । यी दुबै जना कार्यकारी निर्देशकभन्दा बरिष्ठतामा अगाडि रहेका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले राष्ट्र बैंकभित्र आफ्नो बृत्तिविकासमाथि बन्देज लगाइएको गम्भिर आरोप पनि लगाएका छन् । कसले उनको करियरमाथि बन्देज लगायो भन्ने विषय भने उनले खुलाएका छैनन् ।

‘नेपाल राष्ट्र (केन्द्रीय) बैंकमा मेरो बृत्तिविकास बन्द गरियो,’ पंगेनीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । आफूभन्दा कनिष्ठलाई डेपुटी गभर्नर बनाएर आफ्नो अपमान गरेको अर्थ पंगेनीले लगाएका छन् ।

pangeni 1

पंगेनीको फेसबुक स्टाटस

गत ८ पुसदेखि राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली थियो । खाली पदमा नियुक्तको लागि पंगेनी, शिवाकोटी, नारायणप्रसाद पौडेल र शिवनाथ पाण्डेको नाम सिफारिस भएको चर्चा चलेको थियो । यही ब्यहोराको समाचार सरकारी समाचार संस्था राससले पनि उल्लेख गरेको थियो । राससको समाचारमा नाम उल्लेख नभएका श्रेष्ठलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेपछि पंगेनी थप निरास बनेका हुन् । यद्यपि उनको नाम सिफारिस भएको थियो भन्ने आधिकारी समाचार बाहिर आएको भने थिएन ।

यस्तै डेपुटी गभर्नरकै लागि नाम सिफारिस गरिएका भनिएका शिवनाथ पाण्डेले पनि डेपुटी गभर्नर नियुक्तिप्रति असन्तोष जनाएका बताइएको छ । यसभन्दा अगाडि डेपुटी गभर्नर नियुक्त गर्दा एक जना सिए अनिवार्य जस्तै गरेर नियुक्त गरिएकोले यसपटकका एक्ला सिए पाण्डेलाई आफू पर्ने आशा थियो । यसअघि कनिष्ठ कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नर बनेका बीरविक्रम रायामाझी र महाप्रसाद अधिकारी सिए भएकैले डेपुटी गभर्नर बन्न सफल भएका बताइने गरेको थियो । यसैकारण पाण्डे डेपुटी गभर्नर बन्न सक्ने अनुमान गरिएको पनि थियो ।

तर २ जना डेपुटी गभर्नरमध्ये एक जना सिए हुनुपर्ने बाध्यकारी ब्यवस्था भने होइन । आफू डेपुटी गभर्नर नबनेपछि असन्तुष्टि जनाउदै उनी गृहजिल्लातिर लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘उहाँ कूल पूजा छ भन्दै स्याङ्जा जानुभएको छ, यो वहाना मात्रै हो, डेपुटी गभर्नर नबनेपछि उता लाग्नु भएको होला,’ राष्ट्र बैंककै उनका एक समकक्षीले भने ।

डेपुटी गभर्नर नियुक्ति पछि राष्ट्र बैंकभित्र असन्तुष्टि देखिएको यो पहिलो पटक भने होइन । राष्ट्र बैंक ऐनले कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नर बन्ने ब्यवस्था गरेको कारण जुनसुकै कार्यकारी निर्देशक पनि डेपुटी गभर्नर बन्न सक्ने अवस्था छ ।

डेपुटी गभर्नर नियुक्तिमा सरकारले योग्यता क्षमताप्रति त्यति ध्यान दिने गरेको भने छैन । यसअघि आफ्नो पालालमा डेपुटी गभर्नरको लागि चर्चा नै नपाएका तत्कालिन कार्यकारी निर्देशकहरु डा. युवराज खतिवडा र दीपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंककै गभर्नर बनिसके । र, उनीहरु दुबै जना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि बनिसकेका छन् । यी दुबै ब्यक्तिको क्षमता र कार्यकुशलताको अहिले पनि प्रशंसा गरिन्छ । तर यी दुबै जना डेपुटी गभर्नरको लागि सिफारिसै नभएपनि राष्ट्रिय ब्यक्तित्व भने बनिसकेका छन् । उनीहरु दुबै जनालाई डेपुटी गभर्नरको लागि योग्य नठर्याएर योग्य भन्दै बनाइएका तत्कालिन डेपुटी गभर्नर भने अहिले पनि कुनै निजी कम्पनीमा जागिर खाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.