इन्भेष्टमेन्ट बैंकको एफपीओमा ४७ अर्बको आवेदन, सच्याउने नाममा आईतबार पनि नयाँ आवेदन, धितोपत्र बोर्डले बैठक डाक्यो

  २०७२ फागुन १७ गते ११:१९     विकासन्युज

काठमाडौं, १७ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर (एफपीओ)का लागि आईतबार पनि आवेदन परेको छ । सेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार कार्यालय सयमपछि आवेदन लिन बन्द गर्ने जनाएको थियो । तर आईतबार पनि थप आवेदन संकलन केन्द्रहरुले बुझेको आरोप लागेको छ ।

शुक्रबार बुझाएको आवेदनमा गल्ती भएकोले सच्याउने नाममा आइतबार संकलन केन्द्रमा नयाँ आवेदन बुझाउने र लिने काम भएको म्यादभित्र आवेदन बुझाउनेहरुको आरोप छ ।

bikashnews.com

तथ्याङकले पनि आइतबार नयाँ आवेदन बुझाउने र स्वीकार गर्ने काम भएको पुष्टि गरेको छ । शुक्रबार साँझ कुरा गर्दै कोषका प्रबक्ता सुशील कुमार अर्यालले करिव २ लाख आवेदकबाट ३५ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको बताएका थिए ।

तर सोमबार विकासन्यूजसँगको कुराकानीमा ४७ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परको उनले बताए । ‘शुक्रबार हतारमा हिसाव निकालेका थियौं, करिव ३५ अर्ब ५० करोड रुपैयाँ संकलन भएको विवरण आएको थियो । आईतबार बेलुकासम्ममा हिसाव गर्दा ४७ अर्ब रुपैयाँभन्दा बढीको आवदेन परेको देखियो’–उनले भने ।

आवदेन संख्या पनि शुक्रबार साँझ र आईतबार साँझ ३० हजार फरक परेको छ । शुक्रबारसम्म करिब २ लाख व्यक्ति तथा फर्मले सेयर आवेदन बुझाएको उनले जानकारी दिएका थिए । तर आईतबार साँझसम्म आवेदन बुझाउनेको संख्या पनि २ लाख ३० हजार पुगेको बिक्री प्रबन्धक कोषले बताएको छ ।

अर्यालले आईतबार नयाँ आवेदन फारम भने नलिएको बताए । ‘भन्न त मान्छेले भित्रभित्र बोराका बोरा पैसा बुझाए भन्छन् । त्यो सब गलत हो’ उनले भने– बैंक एकाउन्ट भएको, फोटो भएको, नागरिकता, जन्मदर्ता लगायत प्रमाणपत्र अनिवार्य भएपछि बोराका बोरा पैसा हाल्न मिल्दैन । हजुवाको भरमा मान्छेहरु जे पनि बोल्छन् ।’ एउटै परिवारबाट ६÷७ करोड रुपैयाँसम्मको सेयर माग भएकोले कुल रकम बढी हुन आएको उनले बताए ।

यसैबीच नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा प्रवद्र्धकहरुको आवेदन रद्द गराउने उदेश्यले सोमबार सो बैंक, बिक्री प्रबन्धक र आटीएसलाई सोमबार बैठक बोलाएको छ । प्रवद्र्धकले एफपीओमा आवेदन गर्न नपाउने भनेर धितोपत्र बोर्डले फागुन १३ गते साढे १ बजे सूचना जारी गरेको थियो । तर त्यसअघि नै प्रवद्र्धकले आवेदनसहित पैसा बुझाईसकेको दावी गर्दै सूचना जारी गर्नुपूर्व आवेदन बुझाउनेलाई सेयर बाँडफाँडमा सहभागी गराउनु पर्ने माग गर्दै धितोपत्र बोर्ड, बैंक, बिक्री प्रबन्धकलाई दवाव दिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.