किन यति धेरै बढिरहे छ बीमाको सेयरमा आकर्षण ? कहिलेसम्म बढ्छ बजार ?

  २०७२ माघ २८ गते ११:३३     विकासन्युज

काठमाडौं, २८ माघ । सब इन्डिकेटरमा अन्य समुहलाई छोडेर साढे ५ हजार नाघिसकेको बीमा समुहको सयर दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । गत सोमबार पूजी बजारमा भएको अन्तिम कारोवारको दिन बीमा समुह परिसुचक ५ हजार ५ सय ६३ दशमलब ४३ अंकमा पुगेको छ ।

सो दिन पूजी बजार परिसुचक नेप्से १ हजार २ सय ६४ दशमलब ३३ अंकमा पुगेको थियो । नेपाल स्टक एक्सचेन्जमा २ सय भन्दा बढी कम्पनी सुचिकृत छन् । एक्सचेन्जमा सुचिकृत कम्पनीको संख्या २ दर्जन पनि छैन ।

बीमा समुहको सेयरमा यति धेरै आकर्षण देखिनुमा प्रमुख ४ कारण रहेको सेयर लगानीकर्ता तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कमलेशकुमार अग्रवाल बताउछन् ।

बीमा क्षेत्रलाई नियम गर्नको लागि नयाँ बीमा ऐनको मस्यौदा तयार भएको छ । सो मस्यौदामा जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूजी २ अर्ब रुपैयाँभन्दा बढी र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको चुक्ता पूजी १ अर्ब रुपैयाँ भन्दा बढी हुने प्रश्ताव मस्यौदामा गरिएको छ ।

अहिले जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी ५० करोड र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी २५ करोड रुपैयाँ हुनुपर्ने ब्यवस्था छ । प्रश्तावित ऐनको मस्यौदामा कम्तिमा पनि अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धिको प्रश्ताव गरिएको लगानीकर्ताको आकर्षण बढेको अग्रवालले बताए ।

‘पूजी बृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्छन्, अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धि गर्ने हो भने एक बराबर चारको दरमा हकप्रद पाइने सम्भावना भएकोले लगानीकर्ताको आकर्षण बढेको हो,’ अग्रवालले भने ।

अन्य क्षत्रमा भन्दा बीमा क्षेत्रमा बढी डिभिडेन्ड पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । ‘म आफै संचालक रहेको नेपाल लाइफले विगत २ बर्षदेखि निरन्तर प्रत्येक बर्ष ६० प्रतिशतका दरले बोनस सेयर दिइरहेको छ, अन्य कम्पनीहरुले पनि बोनस सेयरलाई प्राथमिकतामा राखेका कारण लगानीकर्ता आकर्षित भएका हुन्’ अग्रवालको विश्लेषण छ ।

तेस्रो कारणमा उनले बीमा ब्यवसायको बजार विस्तार भएकोलाई लिए । ‘भूकम्पको कारणले बीमा ब्यबसायको बजार विस्तार भयो, बजार विस्तार हुदा कारोवार बढ्ने र नाफा बृद्धि हुने अनुमानमा लगानीकर्ताले बढी विश्वास गरेका हुन सक्छन्,’ अग्रवालको भनाइ छ ।

चौथो कारणमा अहिले विजनेस साइकल नै बीमाको सेयरमा आइपुगेको उनको विश्लेषण छ । लगानीकर्ताले कुनै समय बैंकिङ, कुनै समय जलविद्युत, कुनै समय होटल, कुनै समय अन्य उत्पादनशील क्षेत्रमा जस्तै कुनै समय बीमा क्षेत्रमा बढी लगानी केन्द्रीत गर्ने गरेको उनको अनुभव छ । अहिले सर्वसाधारणले बढी विश्वास बीमा क्षेत्रलाई गरेका कारण लगानी बढेर सेयर मूल्य बृद्धि भएको अग्रवालले बताए ।

अझै केही समयमा बीमा समुहको परिसुचक बृद्धि नै हुने उनको अनुमान छ । बीमा समितिले तोके अनुसारको पूजी नपुर्याउदासम्म कम्पनीहरुले नगद लाभांश बाढ्न नपाउने निर्देशन समितिले दिइसकेको छ । बोनस सेयर प्रदान गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण बढी हुने देखाएको छ ।

तर समितिले नयाँ बीमा कम्पनीको अनुमति दिएको अवस्थामा बीमाको सेयर मूल्य कम हुन सक्ने अग्रवालले बताए । समितिले नयाँ कम्पनीको लागि अनुमति नदिए पनि केही कम्पनीले अनुमतिको लागि निवेदन दिइसकेका छन् ।

गत सोमवार भएको कारोवारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ३ सय ६०, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९ सय ९०, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ४०, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ सय ७० र लाइफ इन्स्योरेन्स कम्पनीको ३ हजार ५ सय रुपैयाँ प्रतिकित्ताका दरमा सेयर कारोवार भएको थियो ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६ सय ८०, नेसन लाइफ इन्स्योरेन्सको २ हजार ६ सय ४५, नेको इन्स्योरेन्स कम्पनीको ९ सय ८७, नेपाल इन्स्योरेन्सको ६ सय ८०, नेपाल लाइफको ३ हजार २ सय ३५, एनएलजी इन्स्योरेन्सको ९ सय ६० र प्रिमियर इन्स्योरेन्स कम्पनीको १ हजार १ सय २८ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार सो दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ६ सय ४०, प्रुडेन्सियल इन्स्योरेन्सको ७ सय ७५, सगरमाथा इन्स्योरेन्सको १ हजार १ सय ३५, शिखर इन्स्योरेन्सको १ हजार ७ सय ५, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १ हजार १ सय ९० र सूर्या लाइफ इन्स्योरेन्सको ७ सय ९१ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.