सोमबार डेपुटी गभर्नर नियुक्त हुने, एमाले कोटामा चिन्तामणी पक्का

  २०७२ माघ १७ गते १०:२७     विकासन्युज

काठमाडौं, १७ माघ । सोमबार नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गभर्नर पाउने भएको छ । रातारात उलटपुलट नभए सोमबारको मन्त्रिपरिषद बैठकले दुई डेपुटी गभर्नर नियुक्त गर्नेछ । गभर्नर डा। चिरञ्जीवी नेपालले दुई जना डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस गरिसकेका छन् ।

एमाले कोटाबाट कार्यकारी निर्देशक चिन्तामणी शिवाकोटी सिफारिसमा परेका छन भने काँग्रेसबाट कार्यकारी निर्देशकहरु नारायण प्रसाद पौडेल, शिवनाथ पाण्डे र त्रिलोचन पंगेनीको नाम डेपुटी गभर्नरका लागि सिफारिस भएको छ । एमाले कोटाबाट सिफारिसमा परेका चिन्तामणी शिवाकोटी भने डेपुटी गभर्नर बन्ने पक्का भएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका शिवकोटीलाई डेपुटी गभर्नर बनाउन ओली आफैंले सिफारिस गर्न लगाएका थिए । अघिल्लो क्याबिनेटबाटै डेपुटी गभर्नर नियुक्त गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओली र अर्थमन्त्री बिष्णु पौडेलबीच कुरा नमिलेपछि प्रक्रिया लम्बिएको थियो । प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुराकानी मिलेकाले सोमबारको क्याबिनेटले दुई जना डेपुटी गभर्नर नियुक्त गर्ने स्रोतले बतायो ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पनि सोमबारको क्याबिनेटले डेपुटी गभर्नरको छिनोफानो लगाउने सम्भावना रहेको बताए । ‘अर्थमन्त्रीज्यु निरन्तर छलफलमा हुनुहुन्छ, सम्भवत सोमबारको मन्त्रिपरिषदले डेपुटी गभर्नरको टुंगो लगाउँछ’, मन्त्री पाण्डेले भने ।

राष्ट्र बैंकका एमाले निकट कर्मचारीहरुले समेत शिवाकोटीलाई नै डेपुटी गभर्नर बनाउनु पर्ने अडान कसेका छन् । एमाले निकट कर्मचारी संगठनका अध्यक्ष बसन्तराज पाण्डेले समेत शिवाकोटीको नाम परिवर्तन हुने सम्भावना नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.