समाजकल्याणका सदस्यसचिव माइन्यूट र चाबी लिएर बेपत्ता, ताला फोर्ने तयारी

  २०७२ माघ ११ गते १२:१७     विकासन्युज

काठमाडौँ, ११ माघ । समाजकल्याण परिषद्का सदस्य सचिव रबीन्द्र कुमार आफ्नो कार्यकक्षको साँचो र माइन्यूट लिएर बेपत्ता भएका भन्दै ताला फोड्ने तयारी भएको छ ।

आइतवार बसेको परिषदको कार्य सञ्चालन समितिको बैठकले परिषद्का सदस्य सचिव कुमारलाई कार्यकक्षको साँचो, माइन्युट, फाइल तथा कागजात बरबुझारथका लागि निर्देशन दिने निर्णय गरेको छ ।

सदस्यसचिव कुमारले कार्यकक्षको साँचो आफैसँग लिएर गएकोले यस्तो निर्णय भएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सदस्यसचिव नारायण काफ्लेले जानकारी दिए । उनलाई अहिले परिषदको सदस्यसचिवको कामकारवाही पनि हेर्ने जिम्मेवारी तोकिएको छ ।

‘पूर्वसदस्यसचिबले कार्यकक्षको साँचो आफैले बोकेर जानुभएको रहेछ, सो कोठामा माइन्यूट, फाइल जस्ता महत्वपूर्ण कागजात छन्, उहाँ अहिले सदस्यसविचको जिम्मेवारीमा हुनुहुन्न, त्यसैले यस्तो निर्देशन दिइएको हो, उहाँले साँचो बुझाउनु भएन भने ताला फोड्छौं,’ काफ्लेले भने ।

सदस्यसचिव कुमार भने आफ्नो कार्यकक्षको साँचो आफूसँग भएको बताउछन् । ‘मेरो कार्यकक्षको साँचो मसँग छ, म अहिले पनि परिषदको सदस्यसचिव हूँ, परिषदको सदस्यसचिवलाई मन्त्रालयमा हाजिर गराउने अधिकार मन्त्रीसँग छैन, म यो अन्यायविरुद्ध कानुनी उपचारमा लागेको छु, त्यसैले अहिले साँचो दिने कुरा आउदैन,’ कुमारले भने ।

मन्त्री सिपी मैनालीसँग कुरा नमिले पछि कुमारलाई मन्त्रालयमा हाजिर गराएर मन्त्रालयकै सहसचिवलाई परिषदको सदस्यसचिवको जिम्मेवारी पनि दिइएको छ । यसअघि सो मन्त्रालयको मन्त्री अहिलेका मन्त्री मैनालीकै श्रीमती निलम केसी थिइन । तत्कालिन मन्त्री केसीले गरेका बद्मासीको अख्तियारले छानविन थालेपछि प्रमाण नष्ट गर्नको लागि आफूलाई अन्यायपूर्वक हटाइएको कुमारको दाबी छ ।

परिषद्ले विगत लामो समयदेखि कार्यरत अस्थायी, करार र मासिक ज्यालादारी कर्मचारीको तीन महिनाको म्याद थपसमेत गरिएको जनाएको छ । बैठकले परिषद्का सदस्य सचिव र आर्थिक प्रशासन प्रमुखको परिवर्तनसँगै परिषद्को केन्द्रीयस्तर र कार्य सञ्चालनस्तर खाता सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

बेठकले भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख हेरफेर गर्ने, सदस्य सचिवको कार्यकक्ष खोल्ने निर्णयसमेत भएको छ ।

यस्तै, छानबिन टोली गठन गरी परिषद्सँग आबद्ध ‘लायन्स क्लब इन्टरनेसनल’ र ‘नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी संस्था’का बारेमा परेका उजुरी र प्राप्त निवेदनको पुनरावलोकन गरी सुझाव÷प्रतिक्रिया पेस गर्ने जिम्मेवारी दिने बैठकको निर्णय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.