मूल्य बृद्धि साढे ११ प्रतिशतभन्दा बढी, आर्थिक अवस्थामा अब सुधार आउने राष्ट्र बैंकको आश

  २०७२ माघ ४ गते १४:४७     विकासन्युज

काठमाडौं, ४  माघ । गत मंसिर महिनामा साढे ११ प्रतिशतभन्दा बढी मूल्य बृद्धि भएको छ । यसमध्ये पनि दैनिक उपभोग्य बस्तुको मूल्य करिब १५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत मंसिर महिनामा मूल्यबृद्धिदर ११ दशमलब ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ प्रतिशत रहेको थियो ।

यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १४ दशमलब ८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब १ प्रतिशत रहेको छ । सामान्य नेपालीले आफ्नो आम्दानीको करिब ७० प्रतिशत हिस्सा खाद्य पदार्थमै खर्च गर्ने गरेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद डा. शंकर शर्माको भनाइ छ ।

केही खाद्य तथा पेय पदार्थमा भएको मूल्य वृद्धिको फलस्वरुप मुल्यबृद्धिमा चाप पर्न गएको राष्ट्र बैंकको भनाइ छ । यी उप–समूहमध्ये दलहन तथा गेडागुडीको मूल्य ४८ दशमलब ९ प्रतिशत र घ्यू तथा तेलको मूल्य ४२ दशमलब ३ प्रतिशतले बढेको छ । साथै, मसला, लत्ताकपडा एवम् जुत्ता, फलफूल तथा माछा मासुको मूल्यमा क्रमशः १५ दशमलब ३ प्रतिशत, १४ दशमलब ६ प्रतिशत, १४ दशमलब ३ प्रतिशत र १३ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ ।

तराईमा जारी लामो बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधान जस्ता अन्तरर्निहित कारणहरुले मूल्य बढ्दै गएको हो । तराई क्षेत्रका अधिकांश नाकाहरुमा आवागमन सहज हुदैं गएबाट गत भाद्रदेखि सुरु भएको मूल्य वृद्धिको दवाव कम हुने अपेक्षा गरिएको छ ।

यो अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३ दशमलब २ प्रतिशतले, पहाडमा १२ दशमलब ४ प्रतिशतले, हिमालमा १० दशमलब ३ प्रतिशतले र तराईमा १० दशमलब २ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यका र पहाड दुबैमा ६ दशमलब ९ प्रतिशत र तराईमा ७ दशमलब २ प्रतिशत रहेको थियो ।

भारतमा भन्दा ६ प्रतिशतले बढी
गत मंसिर महिनामा भारतको उपभोक्ता मूल्यबृद्धिदर ५ दशमलब ६ प्रतिशत रहेको तुलनामा नेपालको ११ दशमलब ६ प्रतिशत छ । यसरी यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७ प्रतिशत र ४ दशमलब ९ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २ दशमलब १ प्रतिशत थियो । २०७२ वैशाखको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराई आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा भएको अवरोधका कारण नेपाल र भारतबीच मुद्रास्फीतिदरको अन्तरमा वृद्धि हुन गएको हो ।

अब सुधार हुने राष्ट्र बैंकको आश
तराई भू–भागमा जारी बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको अवरोधका कारण इन्धन लगायत कतिपय अत्यावश्यक वस्तुहरुको आपूर्ति पर्याप्त मात्रामा हुन नसकेकोले आर्थिक क्रियाकलापले गति लिन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

वैदेशिक व्यापारमा महत्वपूर्ण स्थान रहेको वीरगञ्ज–रक्सौल नाका समीक्षा अवधिसम्म सुचारु हुन नसके तापनि भारततर्फका अन्य नाकाहरुबाट केही मात्रामा आयात सहज हुँदै गएकोले आर्थिक क्रियाकलापमा सकारात्मक असर पर्ने अपेक्षा गरिएको छ । चीनतर्फको व्यापारमा महत्वपूर्ण स्थान रहेको तातोपानी नाका भूकम्पपश्चात् अझै सञ्चालनमा आउन सकेको छैन । तर रसुवागढी नाका भने सञ्चालनमा आएको छ ।

कृषि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा प्रमुख बालीहरुमध्ये धानको उत्पादन १० प्रतिशतले घट्ने र मकैको उत्पादन ४ प्रतिशतले बढ्ने अनुमान छ । मंसिर मसान्तसम्म रासायनिक मलको आपूर्ति सहज हुन नसकेकोले हिउँदे बाली, खासगरी गहुँको उत्पादन प्रभावित हुने देखिएको छ ।

इन्धन आपूर्ति सहज हुनासाथ विकास–निर्माण तथा पुनर्निर्माणको कार्य सुचारु हुने तथा औद्योगिक र पर्यटन क्षेत्रले गति लिने अपेक्षा गरिएको छ । समग्रमा दक्षिण नाकामा रहेको अवरोध सहज हुनासाथ आर्थिक क्रियाकलापहरु अगाडि बढ्ने देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.