१४ करोड ६५ लाख खर्चेर नेपाल औषधि सञ्चालन गर्ने तयारी

  २०७२ पुष २१ गते ११:२१     विकासन्युज

काठमाडौं, २१ पुस । १४ करोड ६५ लाख रुपैंयाँ खर्चेर नेपाल औषधी लिमिटेड सञ्चालनको गृहकार्य सुरु भएको छ ।   उद्योग मन्त्रालय मातहतको नेपाल औषधी लिमिटेड पुन सञ्चालनका लागि कम्पनीले मन्त्रालयसँग १४ करोड ६५ लाख रुपैंया माग गरेको छ । मन्त्रालयले पनि चालु आर्थिक बर्ष भित्रै नेपाल औषधी सञ्चालन गर्ने मनस्थिती बनाईसकेको छ ।

Bikashnews.com

नेपाल औषधीले सो लागतमा चार वटा थप औषधी उत्पादन गर्ने भन्दै त्यसको बिजनेश प्लान समेत मन्त्रालयलाई बुझाईसकेको निमित्त महानिर्देशक रमेश कुमार महतोले बताए । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले पनि पहल गरेका थिए तर अर्थमन्त्रालयले निकासा नदिएका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । यद्यपी बस्नेतकै अग्रसरतामा कम्पनीले डिस्टिल वाटर र ग्लिसरिन उत्पादन गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले गुड म्यानुफ्याक्चरिङ प्राक्टिसको पुर्वाधार तयार गर्दै थप चार प्रकारका औषधी उत्पादनका लागि लिमिटेडले सो मात्रामा रकम माग गरेको हो । प्रस्तावित रकम निकासा भएमा उद्योगको भौतिक संचरनालाई जीएमपी मापदण्डमा परिणत गरी पहिलो चरणमा सिटामोल, जीवनजल, आइरन क्याप्सुल र अल्विण्डाजोल उत्पादन गर्ने कार्ययोजना बनाएको छ ।

बजेट निकासा भएमा ६ महिनाभित्रै उत्पादन सुरु गर्न सकिने महतोले बताए । उनका अनुसार पहिलो चरणमा जीवन जल ९ करोड ६० लाख प्याकेट, सिटामोल ८४ लाख ट्याब्लेट, आइरन क्याप्सुल एक करोड ३५ लाख र अल्विण्डाजोल ७५ लाख ट्याब्लेट उत्पादनको लक्ष्य रहेको छ ।

उल्लेखित उत्पादनपछि नेपाल औषधि सरकारले थप बजेट नदिए पनि आत्मनिर्भर बन्न सक्ने महतो भनाइ छ । हाल कर्मचारीको तलब र कार्यालय व्यवस्थापन गरी मासिक २२ लाख रुपैयाँ खर्च हुने गरेको छ । त्यसमध्ये मासिक १२ लाख रुपैयाँ वहालबाट असुल हुने गरेको छ भने बाँकी सरकारले उपलब्ध गराउँदै आएको छ । लिमिटेड ९१ करोड सरकारी ऋणमा छ । विगतमा ६ सयभन्दा बढी कर्मचारी रहेको नेपाल औषधिमा हाल कर्मचारी संख्या ९६ मा झरेको छ । यसमा १७ जना प्राविधिक कर्मचारी थपेर हालकै जनशक्तिबाट उत्पादन सुरु गर्न सकिने महतोले बताए ।

विगतमा ११० प्रकारका औषधि उत्पादन गर्दै आएको नेपाल औषधि मूल्य र गुणस्तर नियन्त्रका लागि पनि सञ्चालन आवश्यक रहेको भन्दै विज्ञहरूले दबाब दिँदै आएका छन् । नेपाल औषधि लिमिटेड, कृषि औजार कारखाना लिमिटेड र गोरखकाली टायर उद्योग चालु आर्थिक वर्षमित्रै सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताएका छन् । नेपाल औषधी लिमिटेड २०२९ सालमा स्थापना भएको सार्वजनिक संस्थान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.