४० दिनलाई पुग्ने औषधी गोदाममा, एक महिनाभित्रै फास्टट्र्याकबाट औषधि खरिद

  २०७२ मंसिर २१ गते ११:२८     विकासन्युज

Bikashnews.com

चितवन, २१ मङ्सिर । भारतको लामो नाका बन्दीका बावजुद ४० दिनलाई पुग्ने औषधी सरकारी गोदाममा रहेको बताउँदै स्वास्थ्य मन्त्रालयले एक महिना भित्रै थप औषधी खरिद गरिसक्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले औषधिको अभाव हुन नदिन स्टक रहेको औषधी नसकिँदै थप औषधी खरिद गरिसक्ने बताएका हुन् । भरतपुरमा पत्रकारहरूसँग कुुराकानी गर्दै उनले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताए ।

उनले पुरानो खरिद प्रक्रियाबाट औषधि झिकाउन सम्भव नहुने भन्दै फास्टट्र्याकबाट औषधि खरिदका लागि कार्यविधि तयार भइसकेको उल्लेख गरे । एक दुई दिनभित्र टेन्डर आह्वान गरिने भन्दै मन्त्री चौधरीले गुणस्तर प्राप्त नेपाली कम्पनीलाई प्राथमिकता दिने बताए । उनले आपूर्तिकर्तालाई हवाई मार्गबाट भए पनि समयमै औषधि आपूर्ति गर्न लगाउने बताए । केही जीवनरक्षक औषधिहरू नेपालमा नबन्ने भएकाले ती औषधि हवाई मार्गबाट ल्याउने गरी फास्टट्र्याकबाटै खरिद गरिने मन्त्री चौधरीले जानकारी दिए ।

भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणसमेत गरेका मन्त्री चौधरीले अस्पतालमा अत्यावश्यक उपकरणहरू लामो समयदेखि बिग्रँदासमेत मर्मत नगरी बाहिर महँगोमा परीक्षण गराउँदै आएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । क्यान्सर अस्पतालको सिटी स्क्यान, मेमोग्राम, ब्राकी थेरापीलगायतका महत्वपूर्ण उपकरण लामो समयदेखि बिग्रिएपछि बिरामीले चार गुणा महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउँदै आएका छन् ।

मन्त्री चौधरीले ती उपकरण मर्मत गर्न सम्भव भए तत्काल गर्न र मर्मत हुन नसके फास्टट्र्याकबाटै तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.