वायुसेवा निगमले माग्यो सरकारसँग २५ अर्ब ऋण, बेलायत-काठमाडौं सीधा उडान भर्ने योजना

  २०७२ मंसिर १७ गते १४:३८     विकासन्युज

काठमाडौं, १७ मंसिर । नेपाल वायु सेवा निगमले सरकारसँग सस्तो ब्याजदर हुने गरी २५ अर्ब रुपैयाँ ऋण दिन माग गरेको छ । निगमले २ ओटा नयाँ वाइड बढी जहाज खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि सरकारसँग ऋण मागेको हो ।

निगमले पूर्ववर्ति कोइराला सरकारकै पालामा सो ऋण माग गरेको थियो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले तत्कालिन अर्थमन्त्री डा. रामशरण महतसँग सरकारले नै ऋण दिन प्रश्ताव गरेका थिए ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार तत्कालिन अर्थमन्त्री डा. महतले सरकारले संस्थानहरुलाई प्रत्यक्ष ऋण दिन मिल्ने नमिल्ने सम्बन्धमा मन्त्रालयको बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालसँग छलफल पनि गरेका थिए ।

‘तत्कालिन अर्थमन्त्री र बजेट महाशाखा प्रमुख अर्यालका विचमा सरकारले संस्थानहरुलाई ऋण दिन मिल्ने नमिल्ने सन्दर्भमा छलफल पनि भएको थियो, अर्यालले मन्त्रिपरिषवाट निर्णय भएमा ऋण दिन मिल्ने बताएपछि अर्थमन्त्रीले प्रक्रिया अगाडि बढाउन र निगमको ब्यापारिक योजना पेश गर्न भन्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो ।

निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकार जमानी बसेर बैंक वित्तीय संस्थावाट ल्याएको ऋण महंगो पर्ने हुदा निगमको प्रतिस्पर्धी क्षमता कमजोर हुने र सरकारले विकास बजेट खर्च गर्न नसकिरहेको अवस्थामा त्यस्तो रकम निगमलाई ऋण दिदा पैसा पनि खर्च हुने र ब्याज पनि पाइने भन्दै यस्तो प्रश्ताव गरेका स्रोतको भनाइ छ ।

यसअघि सरकार जमानी बसेर कर्मचारी संचयकोषवाट १० अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । सो ऋणको ब्याज १० प्रतिशत छ । निगम ब्यवस्थापनले सरकारले ऋण दिने र त्यस्तो ऋणको ब्याज ७ देखि ८ प्रतिशत भएमा आफूहरुलाई सहज हुने प्रश्ताव अर्थमन्त्रालयमा गरेको छ ।

निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकारसँग २५ अर्ब रुपैयाँ ऋण माग गरेको पुष्टी गरे । ‘थप २ ओटा वाइड बढी खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि २५ अर्ब रुपैयाँ ऋण माग गरिएको हो, सरकारले ७ देखि ८ प्रतिशत ब्याजमा ऋण दिन्छ भने हामी ७ महिनाभित्रमा नयाँ जहाज खरिद गरेर बेलायत सीधा उडान सुरु गरिसक्छौं,’ प्रबन्ध निर्देशक कंसाकारले भने ।

निगमको अहिलेको तयारी अनुसार ऋण प्राप्त भएमा ७ महिनाभित्रमा २ ओटा वाइड बढी जहाज थपिने छन् । निगमले एयर बसका जहाज खरिद गर्ने योजना बनाएको छ । नयाँ जहाज थपिए पछि दैनिक कम्तीमा एउटा उडान काठमाडौवाट बेलायत गर्ने योजना निगमको छ ।

निगमको योजना अनुसार काम हुन सकेमा बेलायतवाट काठमाडौं आउने समयका साथै खर्च पनि आधा कम हुने दाबी गरिएको छ । अहिले युरोपवाट काठमाडौं सीधा उडान छैन । विभिन्न स्थानमा ट्रान्जिट हुने भएकोले समय बढी लाग्ने र खर्च पनि बढी हुने गरेको निगमका अधिकारीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.