पर्यटनमन्त्रीको योजनाः चर्पी सफाइदेखि नयाँ विमान खरिदसम्म, पर्यटन बोर्डमा २१ दिनभित्रमा सिइओ नियुक्त गरिसक्ने

  २०७२ मंसिर १६ गते २१:५०     विकासन्युज

काठमाडौँ, १६ मङ्सिर । ‘काम गर्ने स्थानमा पुगेको २७ दिन भयो, सुरुको चरणमा सरसफाइलाई नै प्राथमिकता दिएको छु, त्यसमा पनि पहिलो शौचालय परेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सुनाए ।

दोलखाली पत्रकार समाजले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो योजना यसरी सुनाए । बिहीबार मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयले गर्ने दुईवर्षे पर्यटन विकासको कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि उनले दिए ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ । ‘विमानस्थल, पशुपति क्षेत्र विकास कोष अनि मेरो मन्त्रालयको चर्पी पनि सफा हुनुपर्छ, मन्त्रालयमा आइसकेपछि चर्पी सफा हुन्छ कि हुँदैन भनेर २० दिनसम्म हेरँे, पर्खेँ तर सफाइ भएन, त्यसपछि सोधेँ किन शौचालय सफा भएन,’ उनले पत्रकारलाई सुनाए । ‘आफूले सफाइ गर्न  निर्देशन नदिएसम्म चर्पी सफा भएन, पहिला चर्पी गन्हाउँथ्यो तर अहिले अलि नगनाउने भएको छ, देशमा खुला दिसामुक्त गरेर मात्र पुग्दैन, प्रयोग गर्ने चर्पी पनि सफा हुनुपर्छ, सफाइ नै मानिसको सभ्यताको प्रतीक  हो,’ मन्त्री पोखरेलले थपे ।

त्रिभुवन विमानस्थलको सरसफाइमा पनि विशेष जोड दिँदै यही मङ्सिर २२ गते विमानस्थलको हिजोको अवस्था र आजको अवस्थाका बारे सार्वजनिक गरिने र प्रत्येक हप्ता विमानस्थलको अनुगमन गरिने जानकारी पनि उनले दिए । विमानस्थलको विस्तारका लागि पाँच अर्ब रुपैयाँ चाहिने उनको अनुमान छ ।

‘मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने हो भने हवाई सेवालाई बलियो बनाउनुपर्छ, देशसँग पर्याप्त हवाईजहाज भएको भए अहिलेको सङ्कट हुने थिएन, जहाँसुकैबाट तेल ल्याउन सकिन्थ्यो । छिमेकी एयरलाएन्ससँग आग्रह गर्दा तेल ल्याउन तयार भएनन्,’ मन्त्रीको गुनासो छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको काम तत्काल सुरु गर्नुपर्ने बताउँदै नागरिक उड्डयनमन्त्रीले प्रत्येक जिल्लाको संरचनालाई स्वीकार गरेका अवस्थामा ५७ जिल्लामा विमानस्थलको आवश्यकता रहेको धारणा राखे ।

गुम्बा व्यवस्थापन समिति, हज कमिटी र चलचित्र विकास बोर्ड  पनि आफ्नो मन्त्रालय अन्तर्र्गत हुनुपर्ने  विचार राख्दै  उनले अबको २१ दिनमा नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पाउने दाबी गरे ।

पशुपतिको हरियालीका लागि २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको अनुमान छ । यस्तै पशुपतिको विकासको गुरुयोजनाका लागि  दुई करोड रुपैयाँ माग गरिएको जानकारी मन्त्री पोखरेलले दिए ।

बृहत् लुम्बिनी गुरुयोजनाका लागि तीन करोड रुपैयाँ माग गरिएको जानकारी उनले दिए । ‘लुम्बिनी विकास कोषमा हडताल छ, कोषका कर्मचारी काठमाडौँमा सबैभन्दा राम्रो गाडी चढेका छन्, काठमाडौँमा ६० हजारको कोठा भाडामा लिएका छन्, पदाधिकारी कोही चितवन छन् । कोही कहाँ ? कार्यालयमा छैनन्,’ कर्मचारीप्रति असन्तुष्टी देखाउदै मन्त्री पोखरेलले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.