पेट्रोलको मूल्य बराबर चीनले अनुदान कटौति गर्ने, मूल्य प्रतिटिर १७५

  २०७२ मंसिर १६ गते १०:३६     विकासन्युज

काठमाडौं, १६ मंसिर । चीनले नेपाललाई बार्षिक रुपमा दिने आर्थिक तथा प्राविधिक सहायताबाट पेट्रल अनुदान दिएको छ । नेपालको अनुरोधमा चीनले सित्तैमा पेट्रोल दिएको भनिएपनि नेपाललाई दिने बार्षिक सहयोग रकम बराबरकै हुने गरी पेट्रोल दिएको खुलेको हो ।

चीनले बार्षिक सहायता रकम बराबरको हुने गरी पेट्रोल अनुदान दिएपनि अब नेपालले चीनवाट प्राप्त गर्ने आर्थिक तथा प्राबिधिक सहायताको रकम पेट्रोलको मूल्य बराबरको कम हुनेछ । नेपालले यसअघि नै चीनवाट अनुदानको भन्दै १८ करोड २९ लाख ३० हजार रुपैयाँ बराबरको पेट्रोल ल्याइसकेको छ ।

सो परिणामको इन्धन नेपाल आयल निगमले आयात गरिसकेको छ । आयात भएको इन्धन बजारमा समेत गइसकेको छ । चीन सरकारले नेपाल सरकारलाई वार्षिक रुपमा प्रदान गर्ने आर्थिक तथा प्राविधिक अनुदानबाट कटौती हुने गरी ११ मिलियन आरएमबी बराबरको पेट्रोल उपलब्ध गराएको बाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकरीहरुले जानकारी दिए ।

यस्तै चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ परेको छ । भारतको अघोषित नाकाबन्दीपछि इन्धन सङ्कटलाई केही हदसम्म राहत दिने उद्देश्यले नेपाल सरकारको आग्रहमा चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराएको थियो ।

चीनले अनुदानमा उपलब्ध गराए पनि भन्सार, सडक कर, आयातलगायतको मूल्य जोड्दा प्रतिलिटर १ सय ७५ पर्न आएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनले उपलब्ध गराएको पेट्रोलको मूल्य प्रतिलिटर ८ दशमलब ४६ आरएमबी पर्छ । आरएमबीको मङ्गलबारको खरिद दर नेपाल राष्ट्र बैंकका अनुसार १६ रुपैयाँ ६३ पैसा रहेको छ । सोको परिमाणअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४० रुपैयाँ ७१ पैसा हुन आउँछ ।

सो मूल्यमा सडक कर, मूल्य अभिवृद्धि कर तथा भन्सार शुल्क जोड्दा ३५ रुपैयाँ हुन जान्छ । सबै मूल्य जोड्दा चीनबाट अनुदानमा ल्याइएको पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ८८ पैसा पर्न आएको हो ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई करबाहेक प्रतिलिटर ४५ रुपैयाँमा इन्धन उपलब्ध गराउँदै आएको छ । रक्सौलमा निगमको ट्याङ्करले इन्धन भर्दा सो मूल्य तिर्नुपर्छ । त्यसमा सम्पूर्ण सरकारी राजस्व एवम् मूल्य अभिवृद्धि कर ३१ रुपैयाँ ७१ पैसा थप हुन्छ ।

त्यसैगरी ढुवानी भाडा प्रतिलिटर १ रुपैयाँ ९८ पैसा , बिमा शुल्क ३ पैसा, मूल्य स्थिरीकरण कोषमा ५२ पैसा, निगमको प्रशासनिक एवम् बिक्री खर्च ५० पैसा, प्राविधिक नोक्सानी ६० पैसा, ऋणको व्याज २ रुपैयाँ, ऋणमा भुक्तानी ५ रुपैयाँ ५० पैसा, निगमको नाफा प्रतिलिटर १२ रुपैयाँ २० पैसा, पेट्रोलियम बिक्रेता कम्पनीलाई ३ रुपैयाँ ५६ पैसा गरी खुद्रा बिक्री मूल्य १ सय ४ रुपैयाँ पर्न आउँछ ।

अनुदानमा उपलब्ध गराइएको हुनाले चीनबाट आयात गरिएको पेट्रोलको मूल्य बढी पर्न आए पनि व्यावसायिक रुपमा इन्धन आयात गर्दा भारतबाट आयात भएको मूल्य बराबर नै पर्न जाने निगमको भनाइ छ । अनुदानको पेट्रोल बेच्दा निगमलाई प्रतिलिटर ७१ रुपैयाँ ८८ पैसा घाटा भएको जनाइएको छ । सो घाटालाई नेपाल सरकारले मिनाहा गर्ने बताउँदै आएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले चीनबाट आयात गर्ने व्यावसायिक इन्धनको मूल्यमा भने फरक नपर्ने र भारतबाट आयात हुने इन्धनकै मूल्य बराबर पर्ने मन्त्रालयले विश्वास लिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.