तातो पानी भन्दा छोटो हुन्छ रसुवागढी सडक, सजिलै आउँछन ग्यास बुलेट पनि

  २०७२ मंसिर १५ गते ११:२०     विकासन्युज

काठमाडौं, १५ मंसिर । भारतले असोज ३ देखि नाका बन्दी गर्दै नाका भन्सार जाँच पासमा कडाई गरेपछि जनताको दैनिकी कष्टकर बन्दै गयो र सरकारले भारतीय नाकाको विकल्प खोज्न थाल्यो । लामो समयदेखि सञ्चालन हुँदै आएको तातोपानी नाका भूकम्पका कारण अवरुद्ध बनिरहेको थियो । चीनले खासा बजारलाई नै स्थानान्तरण गरेर नल्याम लगिसकेको थियो ।

नारायण पौडेल
यस्तो अवस्थमा नेपाल सरकारले रसुवा गढी नाकालाई प्राथमिकतामा राखेर चीनसँगको व्यापारलाई बढाउने र जनताको दैनिक आवश्यकता पुरा गर्ने प्रयास सुरु गरिरहेको छ । सो क्रममा नेपालले कुल मागको ३३ प्रतिशत इन्धन चीनबाट खरिद गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेको छ । सो इन्धन रसुवा गढी नाका हुँदै नेपाल ल्याईनेछ । चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोल राजधानी ल्याएर पनि वितरण गरिसकिएको छ ।
कठिन भुगोल र कच्ची सडक पुर्वाकार बावजुद पनि अनुदानको पेट्रोल सहजै नेपाल ल्याउन सकिएपछि सरकार केहि हैसिएको छ । सोमबार मात्रै मन्त्री परिषद बैठकले रसुवागढी नाकासम्म पुग्ने सडक पुर्वाधार निर्माण र स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ ।
rasuwagadi_visit
सेनाले दुई बर्ष भित्रै सो सडकलाई दुई लेनको पक्की सडकमा स्तरोन्नति गर्नेछ । व्यवस्थापिका संसदको विकास समितिको मंसिर ८ र ९ गते सो नाकाको भ्रमण गरेको थियो । टोलीले प्रति एक सयदेखि १५० मिटरको दुरीमा पासिङ जोन बनाउन सकिए अहिले नै रसुवा गढी नाकाबाट इन्धन ल्याउन सकिने निष्कर्ष निकालेको छ ।

कहाँ कस्तो छ ससडको अवस्था ?
काठमाडौं–गल्छी सडक
५४ किलोमिटर यो सडकखण्ड राम्रो अवस्थामा रहेको छ । यो खण्डमा ठुला मालवाहक सवारी साधन अहिले पनि निर्वाध गुडिरहेका छन् ।
गल्छी–त्रिशुली–वेत्रावति सडक
गल्छी–त्रिशुली–बेत्रावतीमा पर्ने ३६ किलोमिटर सडक ५ बर्ष अगाडी सिङ्गललेनको कालोपत्र गरि सञ्चालनमा रहेको छ ।

बेत्रावती–स्याफ्रुवेशीमा पर्ने ५४ किलोमिटर सडक
बेत्रावतीबाट रसुवाको सदरमूकाम धुञ्चेहुँदै स्याफ्रुवेशीसम्म पुग्ने यो खण्ड ५६ किलोमिटर लम्बाईको छ । बेत्रावती र धुञ्चेको बीचमा राम्चे, मुलखर्क र ग्राङसहितका ३ स्थानमा गरी करिव ६ किलोमिटर सडक साहै्र नाजुक अवस्थमा छ भने बेत्रावतीबाट धुञ्चेसम्म उकालो र धुञ्चेबाट स्याफ्रुवेशीसम्म ओरालो पर्ने थुप्रै घुम्तीहरु र ठाडो उकालो भाग छन । हाल विभिन्न जलविद्युत आयोजनाबाट बेत्रावतीदेखि त्रिशुलीको किनार मैलुङ, हाकुवेशी सम्म तथा नेपाली सेनाले हाकुवेशीदेखि स्याफ्रुवेशी जोड्ने गरी सडक निर्माण कार्य सञ्चालन भैरहेको छ ।
विकल्पमा वेत्रावति–मैलुङ–स्याफ्रुबेसी
बेत्रावतीबाट मैलुङहुँदै स्याफ्रुवेशी २८ किमीको रुटमा २० किमिसम्म ट्रयाक खुलिसकेको छ । यसमा भूकम्पले गरेको क्षतिलाई सुधार्दै ७ किमि ट्रयाक खोलियो भने बेत्रावतीबाट स्याफ्रुवेशी पुग्न २०/२२ किमि दुरी छोटो हुने देखिन्छ । यो सडकले राम्चे, मुलखर्क र ग्राङको भिर तथा पहिरो र ठुला उकालोहरु छलेर अघि बढ्न मदत गर्छ । यो विकल्पलाई उपयोग गर्न सकियो भने नेपाल र चीन जोड्ने सबै भन्दा छोटो नाकाका रुपमा रसुवा गढी नाकालाई उपयोग गर्न सकिन्छ । यो नाकाबाट काठमाडौं र चीनको दुरी जम्मा १३८ किलोमिटर मात्रै कायम हुन्छ । जबकी काठमाडौं–तातोपानी नाकाको दुरी १४४ किलोमिटर रहेको छ ।
स्याफ्रुवेसी–रसुवागढी खण्ड १६ किलोमिटर
छिमेकी राष्ट्र चीन सरकारबाट सिङ्गल लेन ग्राभेल स्तरमा यो सडक निर्माण भएको छ, यस सडक खण्ड निर्माणको समयमा सडकको केन्द्र रेखाबाट दुबै तर्फ ७.५/७.५ मिटर गरी जम्मा १५ मिटर जग्गा अधिग्रहण गरिएको हुनाले सडक थप बिस्तार गर्ने कार्य शुरु गर्दै गर्न सकिने र पछि सडक सीमा तोकी आवश्यक जग्गा अधिग्रहण गर्न सकिने अवस्था छ ।
भन्सार पोइन्टमा
नेपाल र चीनको सीमानामा नेपालतर्फ नेपाली शैली भएको आधुनिक गेट निर्माण गर्नुपर्नेछ किनकी चीन तर्फ आधुनिक संरचना निर्माण भैसकेको छ । । रसुवा गढी किल्लालाई पुरातत्व विभागमार्फत तत्काल संरक्षण र निर्माणको काम गर्नु पर्ने आवश्यकता पनि छ ।


चालकहरुका लागि अस्थायी पास जारी गर्ने र सहज आवागमनको व्यवस्था गर्नु तर्फ सरकारले कुटनैतिक पहल चाल्नु पर्छ ।
सीमामा नेपालतर्फको भन्सार, ड्राइपोर्ट अध्यागमन, सुरक्षा लगायतका कार्यालयहरु आधुनिक र स्तरीय बनाउनु पर्नेछ ।
त्यसका अलवा रसुवागढी नाकामा टेलिफोन, इन्टरनेट सेवा जस्ता संचार प्रविधिको सहज पहूँचको लागि तत्काल टेलिफोन टावर र आवश्यक संरचनाको निर्माण गर्नुपर्ने देखिन्छ ।
सजिलै आउँछन ग्यास बुलेट पनि
सरकारले चीनबाट खाना पकाउने एलपी ग्यास ल्याउनका लागि १० वटा बुलेट खरिद प्रक्रियाको थालनी गरिसकेको छ । १० टन क्षमताका ती बुलेटले रसुवा गढी सडक खण्डमा सहज ढुवानी गर्न सक्नेछन् । हाल भारतबाट १८ टनका बुलेटबाट ग्यास ढुवानी हुँदै आएको छ । चीनमा २५ टनका बुलेट मात्रै सञ्चालनमा रहेका छन् । नेपाल तर्फको सडक पुर्वाधार कमजोर भएकाले साना बुलेट मार्फत तत्कालका लागि ग्यास ल्याउने तयारीमा सरकार जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.