३ नम्बर ब्रोकर निलम्बित, १० वटा नयाँ ब्रोकर कम्पनी थपिदै

  २०७२ मंसिर १४ गते १७:५६     विकासन्युज

काठमाडौं, १४ मंसिर । धितोपत्र वोर्डले ३ नम्बर ब्रोकर कम्पनी अरुण सेक्युरिटिज निलम्बन गरेको छ । बोर्डले दिएको निर्देशन पालना नगरेको र एकाघर परिवार भित्रै कारोवार गरेको अभियोगमा सो ब्रोकरलाई निलम्बन गरिएको हो ।

सो ब्रोकर कम्पनी लगानीकर्ता अर्जुनबन्दु रेग्मीको छोरीको नाममा दर्ता रहेको छ । कम्पनीवाट रेग्मीले कारोवार गर्ने गरेको नेपाल स्टक एक्सचेन्ज र बोर्डको अनुसन्धानवाट फेला परेको छ । रेग्मीले छोरीको विवाह भैसकेकोले आफूले गरेको कारोवार एकाघरको कारोवार नठहरिने दाबी गर्ने गरेका छन् ।

सो कम्पनीले एकाघर परिवारभित्र कारोवार गरेको भन्दै नेपाल स्टक एक्सचेन्जले कारवाही गरेको थियो । सो फाइल बोर्डले पनि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि सो कम्पनीको कारोवार एकाघर परिवार भित्र भएको फेला पारेपछि आगामी दिनमा त्यस्तो नगर्न सचेत गराउदै कारोवार खुल्ला गरिएको थियो । तर सो कम्पनीवाट पुन एकाघर परिवार भित्रै कारोवार भएको तथ्य खुलेपछि कारोवार गर्न नपाइने गरी बोर्डले निलम्बन गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी भने बोर्डले दिएको निर्देशन पालना नगरेको कारण निलम्बन गरिएको बताउछन् । ‘बोर्डले पटक पटक दिएका निर्देशनहरु पालना नभएको कारण कारोवार निलम्बन गरिएको हो,’ प्रवक्ता गिरीले भने । बोर्डले सो कम्पनीको कारोवार केहि दिन अगाडि नै निलम्बन गरेको थियो ।

स्रोतले दिएको जानकारी अनुसार सो कम्पनी खारेज हुनेसम्मको कारवाही हुन सक्ने सम्भावना छ । छोरीको नाममा कम्पनी खोल्ने र बाबुले कारोवार गर्ने कार्य ऐन कानुन विपरित भएको तथा यसो नगर्न पटक पटक निर्देशन दिदा पनि अवज्ञा गर्ने गरिएकोले खारेजै गर्ने मनस्थितिमा बोर्ड अधिकारी पुगेको स्रोतको दाबी गरेको छ ।

बोर्डले यसअघि नै विभिन्न ९ ब्रोकर कम्पनी खारेज गरिसकेको छ । अहिलेसम्म खारेज भएका कम्पनीहरुमा २, ९, १२, १५, २३, २४, २७, ३० र ३१ नम्बरका ब्रोकर कम्पनी रहेका छन् । अब ३ नम्बर ब्रोकर अरुण सेक्युरिटिज पनि खारेज भयो भने खारेज हुन कम्पनीको संख्या १० पुग्नेछ । बोर्डले अहिलेसम्म ५९ कम्पनीलाई कारोवार गर्ने लाइसेन्स दिएको छ ।

खारेज हुने कम्पनीको संख्या बढ्दै गएपछि बोर्डले नयाँ ब्रोकरको लाइसेन्स खुल्ला गर्ने गृहकार्य अगाडि बढाएको छ । तर खारेज भैसकेको कम्पनी के गर्ने भन्ने प्रष्ट कानुनी ब्यवस्था नहुदा कस्तो विकल्पमा गएर नयाँ कम्पनीको लाइसेन्स दिने भन्नेमा बोर्ड अझै प्रष्ट हुन सकेको छैन । कुनै कानुनी बाटो अपनाएर खारेज भएका कम्पनीको संख्या बराबर तत्काल नयाँ कम्पनीलाई लाइसेन्स दिने र नेपाल स्टक एक्सचेन्जको क्षमता बृद्धि गर्ने वित्तिकै थप नयाँ कम्पनीलाई लाइसेन्स दिने गरी बोर्डले गृहकार्य अगाडि सारेको स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.