विराट पेट्रोलियमले ल्याएको २५ ट्यांकर इन्धन हरायो, कालोबजारीमा प्रयोग !

  २०७२ मंसिर १४ गते १०:२१     विकासन्युज

Bikashnews.com

काठमाडौ, १४ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको विषेश पहलमा विराट पेट्रोलियमले ल्याएको २५ ट्यांकर पेट्रोलियम पदार्थ बेपत्ता भएको छ । निगमलाई बिक्री गर्न भनेर विराटले भारतको सिलगुढीमा किनेको सो परिमाणको पेट्रोलियम पदार्थ नेपाल भारत सीमानामा रहेको काकडभिट्टा नाकामा आइपुगे पनि विराटले एकतर्फी रुपमा निगमसँगको सम्झौता खारेज गरेपछि सो पेट्रोलियम पदार्थ बेपत्ता भएको हो ।

निगम स्रोतका अनुसार २५ ट्यांकर पेट्रोलियम पदार्थ भन्सारमा क्लियरेन्स गरेको देखिदैन । तर सो पेट्रोलियम पदार्थ नेपाल प्रवेश गरी कालोबजारी गरिएको हुन सक्ने आशंका गरिएको छ । अघिल्लो दिन सो नाकामा ३५ ट्यांकर इन्धन भएको जानकारी निगमले दिएको थियो । तर त्यसै दिन विराटले एकतर्फी रुपमा निगमसँगको सम्झौता भंग गरेपछि निगमले आफ्ना १० ट्यांकर नेपाल भित्र्याएको र बाँकी २५ ट्यांकरको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउदै आएको छ ।

‘विराटले निगमलाई बिक्री गर्न भनेर ल्याएको ३५ ट्यांकरमध्ये १० ट्यांकर हाम्रा आफ्नै थिए, सँगै भएका हाम्रा ट्यांकर नेपाल प्रवेश गरेपनि अन्य ट्यांकरको बारेमा हामीलाई कुनै जानकारी भएन’ निगम स्रोतले भन्यो । भारतको अघोषित नाकाबन्दीको कारण देशमा चरम रुपमा इन्धन अभाव भएपनि बजारमा बढी मूल्यमा पेट्रोलियम पदार्थ प्रशस्त पाइने गरेको छ ।

उक्त इन्धन कालोबजारीमा प्रयोग भएको हुन सक्ने निगमकै अधिकारीहरुको आशंका छ । आयात गर्दा प्रतिट्याङकर १६ हजार देखि २० हजार लिटर इन्धन आयात हुन्छ । औषतमा प्रति ट्याङकर १८ हजार लिटरका दरले करिव ४ लाख ५० हजार लिटर इन्धन कालोबजारीमा गएको हुन सक्ने आयल निगमको आशंका छ ।

चौतर्फी आलोचनापछि महँगो मूल्यमा पेट्रोलियम ल्याउन अनुमति पाएको विराट पेट्रोलियमले सम्झौंता रद्द गरेको थियो । कम्पनीले निगमलाई पत्र लेखेर तेल ल्याउने सम्झौता रद्द गरेको जानकारी गराएको थियो । स्रोतका अनुसार महँगो मूल्यमा पेट्रोलियम पदार्थ आयल निगमलाई बेच्ने निर्णय विवादित बनेपछि सम्झौता रद्द गरेर कम्पनी संचालक उम्किन खोजेका हुन् ।

स्रोतका अनुसार निगमका उच्च व्यवस्थापन, कम्पनी संचालक समेत छानविनको घेरामा तानिने अवस्था आएपछि तेल आपूर्तिको अनुमति कम्पनी आफैले रद्द गर्ने निर्णय गरेको हो । ‘विवाद बढ्दै जाँदा निगमको व्यवस्थापनदेखि कम्पनी संचालकसम्म तानिने देखेर एकतर्फी रुपमा सम्झौता रद्द गरिएको हो, यो निर्णय गर्ने व्यक्ति तानिने डर भएपछि कम्पनीलाई सम्झौंता रद्द गर्न लगाइएको हो,’ स्रोतले भन्यो । विराटले निगमसँगको सम्झौता एकतर्फी रुपमा रद्द गरेपनि निगमबाट निकासा भएको २० करोड रुपैयाँ अझै फिर्ता भएको छैन । निगमले कम्पनीको बैंक ग्यारेन्टीमा २० करोड रुपैयाँ रकम निकासा गरेको थियो ।

भारतले नाकाबन्दी लगाएपछि आयल निगमले १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्तिका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । यो आह्वानमा २२ कम्पनीले तेल आपूर्तिका लागि आवेदन हालेका थिए । यसरी आवेदन हालेको मध्ये निगमका कार्यकारी निर्देशक खड्काको मिलेमतोमा विराटलाई तेल आपूर्तिका लागि अनुमति दिने निर्णय भएको थियो । असोज ३० गते राति दुई बजेसम्म बसेर कार्यकारी निर्देशक खड्काले विराटलाई तेल ल्याउने अनुमति दिएको स्रोतको दाबी छ ।

यो कम्पनीले काँकडभिट्टामा डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा डेलिभरी दिने र त्यही मूल्यमा निगमले किन्ने निर्णय भएको थियो । यो निर्णयपछि खड्काले दसैंको सप्तमीको दिनमा २० करोड रुपैयाँ रकम विराटका नाममा निकासा गर्न निगमका निमित निर्देशक दीपक बराललाई निर्देशन दिएका थिए ।

विराटले ल्याएको बैंक ग्यारेन्टीको नाममा निगमको पैसा निकासा गर्न दिएको दबाबलाई बरालले अस्वीकार गरेका थिए । पैसा निकासा गर्न अस्वीकार गरेको भन्दै निमित निर्देशक बराललाई दसैंको अष्टमीको दिनमा सरुवा गरिएको थियो । निगमका प्रवक्ता समेत रहेका बरालले नियम मिचेर विराटलाई तेल आपूर्ति गर्न दिने निर्णय भएको भन्दै रकम निकासा गर्न अस्वीकार गरेका थिए । विराटले २० करोड रुपैयाँ पाएपछि सिलगुडीको भारत पेट्रोलियमको रिफाइनरीबाट २५ गाडी तेल समेत लोड भएको थियो ।

निगमको अर्थहिन घुमघाम
यस्तै मुलुकमा पेट्रोलिम पदार्थको चरम अभाव भएपनि निगम टोली भने अर्थहिन विदेश भ्रमणमा रमाइ रहेको छ । निगमको एउटा टोली केहि साता अघि बंगलादेश भ्रमणमा गए पनि त्यसको परिणममुखी निष्कर्ष निस्किएको थिएन ।
यस्तै केहि दिनदेखि निगमको प्राविधिक टोली चीन भ्रमणमा छ । भारतले अघोषित नाकाबन्दी गरेर खाना पकाउने ग्यास सहित इन्धन आपूर्तिमा रोक लगाएपछि विकल्प खोज्न भन्दै निगम टोली चीन भ्रमणमा गएको हो । तर सरकारी निकायका उच्च अधिकारीको असहयोग र सरकारको कम तयारीको कारण चीनसँग तत्काल पेट्रोलियम पदार्थ खरिदको सम्झौता हुन नसक्ने अवस्था आएको छ । निगम र पेट्रो चाइनाविच केहि साता अघि मात्रै पेट्रोलियम पदार्थ खरिद सम्बन्धि सैद्धान्तिक सहमती भएको थियो ।

कार्यकारी निर्देशक खड्कासँग स्पष्टीकरण
शुक्रवार निगम संचालक समितिले निगमका कार्यकारी निर्देशक खड्कासँग लिखित स्पष्टीकरण माग गरेको छ । निगमको संचालक समिति अध्यक्ष समेत रहेका बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बजारमा इन्धन आपूर्ति नभएपनि निगमले बजारमा संस्थागत रुपमा कालोबजारी गरिरहेको सम्बन्धमा ७ दिन भित्रमा लिखित स्पष्टिकरण पेश गर्न आदेश दिएका थिए ।

तर निगम कार्यकारी निर्देशक खड्काले सो पत्र बुझ्न अस्वीकार गरेका छन् । निगम स्रोतका अनुसार उनले सचिव र मन्त्री दुबै भन्दा शक्तिसाली राजनीतिक आड पाएर स्पष्टिकरण पत्र बुझ्न अस्वीकार गरेका हुन् । खड्काद.ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली निकट भएको कारण संचालक समितिको निर्देशन र आदेश अस्वीकार गर्दै आफू निकै शक्तिशाली भएको दाबी गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.