विद्युतिय सवारीमा भन्सार घट्दै, सरकारले विद्युतीय सवारी मात्र किन्ने प्रस्ताव

  २०७२ मंसिर ६ गते १०:०८     विकासन्युज

काठमाडौं, ६ मंसिर । सरकारले विद्युतिय सवारी साधनको भन्सार महसुल घटाउने भएको छ । साथै, सबै सरकारी निकायले नयाँ सवारी साधन खरिद गर्दा अनिवार्य विद्युतिय सवारी साधन नै खरिद गर्नु पर्ने व्यवस्था समेत गर्न लागेको विज्ञान, प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले बताए ।

bikashnews.com

मन्त्री पासवानका अनुसार आगामी मन्त्रिपरिषद बैठकमा भन्सार महसुल घटाउने प्रस्ताव लैजाने तयारी भएको बताएका छन् । मन्त्रालयले वैकल्पिक उर्जाको दिगो विकास र प्रयोगका लागि केहि योजनासहितका प्रस्ताव मन्त्री परिषदमा लैजाने उनले जानकारी दिए ।

मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले विद्युतिय सवारी साधनको भन्सार महशुल १० प्रतिशत कायम गर्नु पर्ने अवधारणा सार्वजनिक गरेका थिए । तर मन्त्रालयले भने त्यसलाई अझै कम बनाउने तयारी गरिरहेको पासवानले बताए ।

भन्सार विभागका प्रवक्ता सूर्यराज सेढाईका अनुसार हाल दुई पांग्रे विद्युतिय सवारी साधनको भन्सार दर १५ प्रतिशत रहेको छ । त्यस्तै चार पांग्रे विद्युतिय सवारी साधनमा भने ४० प्रतिशत भन्सार लाग्छ । दुबै प्रकारका सवारीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । भन्सार दर घटेपनि भ्याट भने यथावत नै रहनेछन् ।

सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनहरुमा भने भन्सार, भ्याट, अन्तशुल्क, प्रदुषण करसहित २२५ दशमलब ५५ प्रतिशत कर लगाउँदै आएको छ ।

विश्वेन्द्र पासवान

विश्वेन्द्र पासवान

‘दिगो र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न भन्सार छुटको व्यवस्था गर्न लागेका हौं’ मन्त्री पासवानले शनिबार देशविकाससँग कुरा गर्दै भने ।  विद्युतिय सवारी साधनको भन्सार महशुल घटाउन अर्थमन्त्रालयले समेत सैद्धान्तिक सहमति दिईसकेको उनले बताए । ‘भन्सार घटाउने विषयमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भई सैद्धान्तिक सहमति भईसकेको छ’ मन्त्री पासवानले भने ।

मन्त्री पासवानले गत बिहीबारको मन्त्रीपरिषदमा विद्युतिय सवारी साधनको भन्सार महसुल घटाउनेबारे छलफल चलाएका थिए । तालुकदार मन्त्रालयबीचको समन्वयका कमीको कारण निर्णय हुन सकेको थिएन ।
प्रदुषण करबाट संकलन भएको करिब २ अर्ब रुपैंयाँ तत्काल वैकल्पिक उर्जा उत्पादनका लागि उपयोग गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.