डा. खतिवडाले नै किन पाए फेरि आयोगमा मौका ?

  २०७२ कार्तिक १९ गते १२:३२     विकासन्युज

काठमाडौं, १९ कात्तिक । गत बुधवारको मन्त्रिपरिषद बैठकले एमाले निकट अर्थशास्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त ग¥यो । उनी यसअघि एमाले नेता माधव नेपालको कार्यकालमा पनि आयोगको उपाध्यक्ष बनेका थिए । तर पछि उनी आयोग छोडेर सोभन्दा तल्लो मर्यादाको नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए ।

आयोगको उपाध्यक्ष पद छोडेर राष्ट्र बैंक जाने डा. खतिवडाको कदमलाई कतिपयले त्यतिवेलै विभिन्न टिप्पणी गरेका थिए । उनलाई पदीय मर्यादा जोगाउन नसक्ने ब्यक्ति भन्ने प्रकारको टिप्पणी पनि गरियो । केहि ब्यक्तिहरुको प्रतिक्रिया उनले राष्ट्र बैंकमा गएर गर्न सक्ने योगदान आयोगमा बसेर भन्दा बढी भएकोले उनले सही गरे भन्ने प्रकारको पनि थियो । केहि टिप्पणी उनी एमालेको सच्चा कार्यकर्ता भएकोले पार्टीले जहाँ पठायो त्यहि गए भन्ने पनि थियो ।

उनी त्यो बेला आयोग छोडेर राष्ट्र बैंक किन गए वा किन पठाइए भन्ने बहस अहिले असान्दर्भिक भैसकेको छ । एमाले नेतृत्वको सरकारले उनलाई फेरि आयोगमा नियुक्त गरेपछि भने फेरि डा. खतिवडा नै किन रोज्यो एमालेले भन्ने प्रश्न भने अहम बनेको छ ।

एमालेको लागि अर्थशास्त्रीको खाचो परेको भने होइन । आयोगको उपाध्यक्ष बन्न सक्ने हैसियत र ल्याकत राख्ने अर्थशास्त्री र योजनाविदहरु एमालेमा धेरै जना छन् । फेरि डा. खतिवडाको विशिष्ठिकृत शैक्षिक योग्यता योजना तर्जुमामा होइन । उनले मौद्रिक अर्थशास्त्रमा विद्याबारिधि गरेका हुन् । पदीय मर्यादामा तल भएपनि आयोगको उपाध्यक्षभन्दा राष्ट्र बैंकको गभर्नर पद आकर्षक मानिन्छ । आकर्षक निकायमा अवसर पाउने वित्तीकै आयोगमा दिइएको जिम्मेवारी छोडेर हिड्ने ब्यक्ति आयोगको लागि पुन कसरी योग्य बने ? एमाले निकटका केहि अर्थशास्त्री र योजनाविदहरु प्रश्न गर्न थालेका छन् ।

डा. खतिवडाको जन्मथलो झापा हो । अहिलेका प्रधानमन्त्री केपी ओली पनि झापाली नै हुन् । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने प्रचलन छ । अध्यक्षले आफ्नै जिल्लाबासीलाई रुचाएर उपाध्यक्ष बनाएको हुन सक्ने अनुमान गर्नेहरु पनि छन् ।

डा. खतिवडाको सम्बन्ध एमाले बरिष्ठ नेता माधब नेपाल र पार्टी महासचिव इश्वर पोखरेलसँग निकै राम्रो छ । प्रधानमन्त्रीको जिल्लावासी एमाले तथा बरिष्ठ नेता नेपाल र महासचिव पोखरेलसँग सम्बन्ध राम्रो भएपछि उनले अवसर पाउनु कुनै अनौठो विषय नहुन सक्छ ।

डा. खतिवडाले आयोगमा पुन मौका पाउनुको अर्काे कारण अर्थशास्त्री केशव आचार्य बुढा हुनु र अर्का अर्थशास्त्री डा. गोविन्दबहादुर थापाले पार्टीलाई लेबी नबुझाउनुले पनि हो भन्ने चर्चा पनि चलेको छ । एमालेले आचार्यलाई राम्रै विश्वास गरेर विभिन्न जिम्मेवारी दिने गरेको थियो । तर पछिल्लो समयमा स्वास्थ्यले पनि साथ नदिएको र निकै बृद्ध भएको भन्दै आचार्यको विकल्पको रुपमा डा. खतिवडालाई अघि सारिएको केहि एमाले नेताहरुको मत छ ।

यस्तै एमाले सरकारकै पालामा अर्थशास्त्री डा. गोविन्दबहादुर थापालाई एशियाली विकास बैंकमा नियुक्त गरेर पठाइएको थियो । तर उनले पार्टीलाई बुझाउनु पर्ने लेबी नबुझाएको कारण उनलाई राजनीतिक नियुक्ति नदिएको चर्चा पनि चल्ने गरेको छ ।

गत बैशाखको विनासकारी भूकम्प पछिको राहत र उद्धारको लागि एमालेले पार्टी संयन्त्र परिचालन गरेको थियो । त्यसको लागि पैसाको आवश्यकता थियो । त्यस्तो अवस्थामा पैसाको बन्दोवस्त गर्न डा. खतिवडाले निकै ठूलो भूमिका खेलेको एमाले नेताहरुको भनाइ छ । पार्टीलाई अप्ठेरो परेको समयमा पैसाको बन्दोवस्त गरेर गुन लगाएको कारण उनलाई अहिले पुरस्कृत गरिएको हो भन्ने पनि चर्चा चलेको छ ।

जेजस्तो कारणले उनले आयोगमा फेरि मौका पाएका भएपनि त्यागेर हिडेको पद उनलाई फेरि कोच्याइयो भन्दै एमाले निकट केहि अर्थशास्त्रीहरुले भने असन्तुष्टि जनाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.