भारतको नाकाबन्दी पछि चीनसँग थप ७ नाका सक्रिय बनाइदै

  २०७२ कार्तिक १८ गते १०:४७     विकासन्युज

काठमाडौँ, १८ कात्तिक । भारतले अघोषित नाकाबन्दी गरेर अत्यावश्यकसहितका दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कठाइ गरेपछि नेपालले चीनसँग थप ७ नाका सक्रिय बनाउन पहल थालेको छ ।

मंगलवारदेखि काठमाडौंमा जारी नेपाल र चीनका भन्सार अधिकारीहरुको बैठकमा नेपाली पक्षले यस्तो प्रश्ताव गरेको हो । बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

थप नाकालाई सक्रिय बनाउने विषयमा छलफल चले पनि निष्कर्षमा भने नपुगिएको भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली पक्षको नेतृत्व गरिरेका दामोदर रेग्मीले जानकारी दिए । नेपालले बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व विभागका उपमहानिर्देशक रेग्मी गरेका छन् भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गरेका छन् ।

यस्तै नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

मंगलवारदेखि सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे । केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ ।

बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको उपमहानिर्देशक निर्देशक रेग्मीले जानकारी दिए ।

बैठमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको रेग्मीको भनाइ छ । चीनले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको नेपाली अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.