बुधबारदेखि तराईमा बैकिङ सेवा खुला हुने

  २०७२ असोज २५ गते १५:५४     विकासन्युज

जनकपुरधाम, २५ असोज । दुई महिनादेखि बन्द रहेको तराईको बैकिङ क्षेत्र बुधबारदेखि खुला हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजया दशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ ।

मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय संस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो ।

भोली मंगलबार घटस्थापना परेकोले सार्वजनिक विदा छ । बुध, विही र शुक्रबार तीन दिन र आगामी साताको आईत र सोमबार दुई दिन गरी दशैं अघि जम्मा पाँच दिन मात्र बैक तथा वित्तीय संस्थाले सेवा दिन सक्नेछन् ।

जनकपुरमा गरिएको यो निर्णयले तराईका अरु जिल्लामा पनि बैक तथा वित्तीय सेवा खुला गर्न मोर्चालाई दवाव पर्ने र अरु जिल्लामा पनि वित्तीय सेवा खुला हुन सम्भावना आफूले देखेको शाहले बताए ।

दुई महिनादेखिको लगातार बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका छैनन् । बैंकका शाखाहरु सञ्चालन नहुँदा एटीएमहरु पनि खाली भएका थिए । बैंकमा बचत रहेका सर्वसाधारणले आफ्नो खाताबाट रकम झिकेर खर्च गर्न समेत पाएका थिएनन् । बन्दका कारण बैंक, बीमा, सहकारी, उद्योग, स्कूल, कलेज लगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.