१२५ अर्ब पुँजी थप गर्ने वित्तीय क्षेत्रको प्रस्ताव, १५३ वटा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि योजनाको पूर्ण विवरण

  २०७२ असोज १० गते ८:५८     विकासन्युज

काठमाडौं, १० असोज । बैंक तथा बित्तीय संस्थाहरुले २०७४ असार मसान्तसम्ममा १२५ अर्ब रुपैयाँ भन्दा बढी पुँजी लगानी गर्ने प्रस्ताव गरेका छन् । उनीहरुले बोनस सेयर वितरण गरी नाफालाई पुँजीमा परिणत, हकप्रद सेयर जारी र नयाँ सेयर (एफपीओ) निष्काशनको माध्यमबाट पुँजी वृद्धि गर्न चाहेका छन् ।

गत असार मसान्तसम्ममा ३० वटा वाणिज्य बैंक, ७६ वटा विकास बैंक र ४७ वटा फाइनान्न कम्पनीमा गरि जम्मा १४० अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताव गरेझै पुँजी वृद्धि भयो भने आगामी दुई वर्षको बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी करिव ९० प्रतिशतले वृद्धि हुनेछ ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई ४ गुणाभन्दा बढी पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । पुँजी वृद्धिका लागि १२ वटा वाणिज्य बैंक, ३० वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीले मर्जर नीति लिएका छन् । यो राष्ट्र बैंकले अपेक्षा गरेको भन्दा कम संख्या हो । पुँजी वृद्धि योजना विश्लेषण गर्दा वाणिज्य बैंकको संख्या २४/२५ वटामा रहने देखिएको छ । जबकी राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या १२/१४ वटामा झार्ने लक्ष्यका पुँजी वृद्धि योजना ल्याएको थियो ।

वाणिज्य बैंकहरुले मात्र करिव ९२ अर्ब रुपैयाँ पुँजी थप्ने योजना पेश गरेको छन् । जसमा स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसवीआई बैंकको योजना समावेश छैन । ३० वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी असार मसान्तसम्ममा ९७ अर्ब ९२ करोड रुपैयाँ छ ।

वाणिज्य बैंकहरुको पुँजी वृद्धि योजनाको पूर्ण विवरण यस प्रकार रहेको छ ।

वाणिज्य बैंकहरुको पुँजी वृद्धि योजना

वाणिज्य बैंकहरुले तीन आर्थिक वर्ष (२०७१/७२देखि २०७३/७४सम्म)को मुनाफाबाट ४८ अर्ब ६१ करोड ३९ लाख रुपैयाँको बोनस सेयर जारी गरी पुँजीकृत गर्दैछन् । त्यस्तै उनीहरुले वाहिरबाट ४३ अर्ब २२ करोड पुँजी थप्ने योजना बनाएका छन् । वाणिज्य बैंकहरुले ३५ अर्ब ११ करोड ७१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी र ८ अर्ब ११ करोडको नयाँ सेयर (एफपीओ) जारी गर्ने योजना राष्ट्र बैंकमा पेश गरेका छन् ।

विकास बैंकहरुको पुँजी वृद्धि योजनाको पूर्ण विवरण यस प्रकार रहेको छ ।

विकास बैंकहरुको पुँजीवृद्धि योजना

गत असारमसान्तसम्म २७ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी भएका विकास बैंकहरुले बोनस र हकप्रद गरी करिव २३ अर्ब पुँजी थप्ने योजना पेश गरेका छन् । ७६ वटा विकास बैंकहरु मध्ये ३० वटाले मात्र मर्जरमा जाने योजना बनाएका छन् । सालपा विकास बैंकले घ वर्गको विकास बैंकमा झरेर काम गर्ने प्रस्ताव गरेको छ । अधिकांश विकास बैंकहरुले बोनर र हकप्रद सेयर जारी गरी पुँजी वृद्धि योजना बनाएका छन् । एपेक्स डेभलपमेन्ट बैंकले मात्र करिव २७ करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने प्रस्ताव गरेको छ ।

फाइनान्स कम्पनीहरुको पुँजी वृद्धि योजनाको पूर्ण विवरण यस प्रकार रहेको छ । फाइनान्स कम्पनीहरुको पुँजी वृद्धि योजना

वित्त कम्पनीहरुले सवा १० अर्ब पुँजी थप्ने योजना बनाएका छन् । हाल रहेका ४७ वटा वित्त कम्पनीमा १५ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी छ । उनीहरुले तीन आर्थिक वर्षको नाफाबाट ६ अर्ब ११ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्दैछन् । ४ अर्ब ३२ करोड २६ लाखको हकप्रद सेयर जारी गर्नेछन् । करिव १५ करोडको एफपीओ जारी गर्ने भएका छन् । पोखरा फाइनान्स र रिलायन्स फाइनान्सले एफपीओको प्रस्ताव गरेका हुन् । २२ वटा फाइनान्स कम्पनीले मर्जरलाई जोड दिएका छन् ।

कुन बैंकको योजना के ?
बोनस सेयरको आसमा बसेका सेयरधनीलाई एभरेष्ट बैंकले पुरै निरास बनाएको छ । बैंकले आगामी दुई वर्षमा सेयरधनीलाई कत्ति पनि बोनस सेयर नदिने जनाएको छ । मर्जबाट २ अर्ब र ५४ करोड रुपैयाँको सेयर निश्काशन गरेर चुक्ता पुँजी ४ अर्ब ४६ करोड ७० लाख रुपैयाँ मात्र पुर्याउने जनाएको छ । उसले बाँकी ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रिर्जभमा रहेको स्वतन्त्र पुँजीलाई पुँजीकरण गर्ने जनाएको छ । पुँजीकरण गर्ने विधि स्पष्ट पारिएको छैन ।

नबिल बैंकले पनि बोनस सेयर आश गरेका लगानीकर्तालाई थोरै निरास बनाएको छ । उसले २ अर्ब रुपैयाँको नयाँ सेयर निश्काशन गर्ने भएको छ भने तीन आर्थिक वर्षको नाफाबाट २ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी ८ अर्ब २८ करोड ७० लाख पुँजी पुर्याउने योजना बनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले लगातार तीन वर्ष बोनस सेयर दिने र ८० करोड रुपैयाँको फर्दर इस्यू जारी गरी ठिक ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेको छ । यस बैंकले गत वर्षको नाफाबाट ८६ करोडको बोनस सेयर दिने, चालु आर्थिक वर्षको नाफाबाट १ अर्ब ६० करोडको बोनस सेयर दिने, आगामी आर्थिक वर्षको नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पेश गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले तीन महिना समय थप माग गरेको छ । नेपाल एसबीआई बैंकले योजना पेश गर्न ६ महिना माग गरेको छ ।

हिमालयन बैंकले लगातार तीन आर्थिक वर्षमा गरी ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी ८ अर्ब चुक्ता पुँजी पुर्याउने प्रस्ताव गरेको छ ।

ग्लोबल आईएमई बैंकले बोनस सेयर मात्र जारी गरेर ८ अर्ब पुँजी पुर्याउने योजना बनाएको छ । यस बैंकले ३ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गरी ८ अर्ब १५ करोड पुँजी पुर्याउने योजना बनाएको छ । पुँजी वृद्धिको लागि बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव गर्ने यो एउटा मात्र बैंक हो ।

बोनस सेयरको आश गर्ने सेयरधनीलाई एनआईसी एसिशा बैंकले यसै वर्ष खुशी बनाउने भएको छ । यस बैंकले तीन वर्षको नाफाबाट ३ अर्ब ६ करोड ७ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ भने २ अर्ब २९ करोड २० लाख बराबरको हकप्रद सेयर जारी गरी ८ अर्ब १ करोड ७० लाख चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।

नेपाल बंगलादेश बैंकले एक वाणिज्य बैंकसँग मर्ज गर्ने योजना पेश गरेको छ । मर्जरबाट २ अर्ब ५० करोड पुँजी प्राप्ति गर्ने र लगातार तीन वर्ष बोनस सेयर दिई ३ अर्ब ११ करोड ३० लाख रुपैयाँ पुँजी थप गरी ८ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।

बैंक अफ काठमाडौंले ५ अर्ब ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । उसले तीन आर्थिक वर्षको नाफाबाट १ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने उल्लेख गरेको छ ।

एनसीसी बैंकले ३ अर्ब ७७ करोड ७१ लाख रुपैयाँको हकप्रद सेयर र २ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । पुँजी वृद्धि गर्न गाह्रो पर्छ भनिएको यस बैंकले पनि मर्जविना नै पुँजी वृद्धि योजना पेश गरेको छ ।

लुम्बिनी बैंकले एउटा वाणिज्य बैंकलाई ताकेको छ । उसले मर्जरबाट २ अर्ब ३० करोड रुपैयाँ पुँजी प्राप्तिको योजना बनाएको छ । बोनस सेयरबाट २ अर्ब ५ करोड ८० लाख र हकप्रदबाट ६४ करोड २० लाख रुपैयाँ पुँजी थप्ने योजना बनाएको छन् ।

माछापुच्छे« बैंकले १ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने र ३ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको पुँजी मर्जर वा हकप्रदबाट जुटाउने योजना पेश गरेको थियो । उसले जनता बैंकसँग मर्जर सम्झौता शुक्रबार गरिसकेको छ । मर्जरबाट २ अर्ब ६ करोड सेयर पँुँजी र १६ करोड रिर्जभ प्राप्त हुने भएको छ । मर्जर सफल भएमा यो बैंकले बाँकी पुँजी बोनस सेयर जारी गरेर जुटाउने भएको छ ।

कुमारी बैंकले पनि मर्जरबाट २ अर्ब ७५ करोड पुँजी वृद्धिको योजना राखेको छ । बोनस सेयरबाट १ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ जुटाउने योजना बनाएको छ । त्यस्तै हकप्रद सेयरबाट १ अर्ब २३ करोड ७० लाख रुपैयाँ जुटाउने योजना बनाएको छ ।

लक्ष्मी बैंकले ३ अर्ब ७१ करोड ६ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने र ७० करोड रुपैयाँको बोनस सेयर जारी गरी ८ अर्ब पुँजी पर्याउने योजना बनाएको छ ।

सिद्धार्थ बैंकले २ अर्ब १२ करोडको बोनस सेयर गर्ने र १ अर्ब १९ करोड रुपैयाँ बराबरको पुँजी मर्जरबाट जुटाउने योजना बनाएको छ । यस बैंकले राष्ट्रिय स्तरको दुईटा विकास बैंक आफूमा गाभ्न खोजेको देखिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशलनले १ अर्ब २३ करोड बराबरको बोनस सेयर, ३ अर्ब ६२ करोड ४० लाख बराबरको हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ ।

प्राइम कमर्शिल बैंकले २ अर्ब ७३ करोड ३२ बराबरको बोनस सेयर दिने र १ अर्ब २० करोड रुपैयाँ मर्जरबाट लिने योजना बनाएको छन् ।

सनराईज बैंकले २ अर्ब ६५ करोडको बोनस सेयर, ३८ करोड ५७ लाखको हकप्रद सेयर जारी गर्ने र २ अर्ब ६२ करोड रुपैयाँ बराबर मर्जरबाट पुँजी जुटाउने योजना बनाएको छ ।

ग्राण्ड बैंक प्रभुमा मर्ज हुँदैछ । प्रभु बैंकले मर्जरबाट २ अर्ब तीन करोड, हकप्रदबाट एक अर्ब ५२ करोड ५८ लाख र बोनस सेयरबाट ६७ करोड ९० लाख रुपैयाँ पुँजी थप्ने छ ।

मेघा बैंकले १२६ करोड बोनसबाट वृद्धि गर्ने छ भने ३ अर्ब नयाँ सेयर निश्काशनबाट जुटाउने भएको छ । उसले १ अर्ब १ अर्ब ४३ करोड ५० लाखको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

सिभिल बैंकले सबैभन्दा बढी ४ अर्ब १० करोड रुपैयाँ मर्जरबाट प्राप्ति गर्ने योजना बनाएको छ । उसले एक अर्ब १० करोड बोनस सेयर जारी गर्ने योजना बनाएको छ । उसले हकप्रद सेयरको योजना बनाएको छैन ।

सेन्चुरी बैंक पनि मर्जरमा निभर भएको छ । यो बैंकले ३ अर्ब रुपैयाँ मर्जरबाट जुटाउने योजना बनाएको छ । यस बैंकले १ अर्ब ५० करोड नाफाबाट बोनस दिने र एक अर्ब ३८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ ।

सानिमा बैंकले १९० करोडको बोनस सेयर दिने र ३ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने जनाएको छ ।
वाणिज्य बैंकहरु मध्ये राष्ट्रिय वाणिज्य बैंकले तोकिएको पुँजी पुगेको जनाएको छ ।

नेपाल बैंकले २०७३/७४ मा १ अर्व ५० करोडको हकप्रद सेयर जारी गरी ७ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ पुर्याउने जनाएको छ । ३ करोड ४४ लाख रुपैयाँ कानुनअनुसार मिलाउने जनाएको छ । कृषि विकास बैंकले चुक्ताँ पुँजी ३ अर्ब ४२ करोड ४० लाख र प्रिफेरेन्स सेयर ६ अर्ब ४३ करोड ६८ लाख रहेको जनाउँदै थप पुँजी लगानी गर्ने योजना बनाएको छैन ।
४७ वटा फाइनान्स कम्पनीहरुले पुँजी वृद्धि योजना पेश गरेका छन् । त्यसमध्ये २१ वटाले मर्जरमा जाने योजना बनाएका छन् । त्यसमध्ये प्रुडेन्सियल फाइनान्स एनएमबी बैंकमा मर्ज भईसकेको छ । नेपाल आवास फाइनान्स सिद्धार्थ डेभलपमेन्ट बैंकमा मर्ज हुँदैछ । ओम फाइनान्स सिटी डेभलपमेन्ट बैंकमा मर्ज हुँदैछ ।

आईएलएफसी फाइनान्सको यसअघि नै २ अर्ब पुँजी छ । नेशनल नारायणी फाइनान्सले गत वर्षको नाफाबाट १२ करोड बोनस सेयर जारी गरी ८० करोड पुँजी पुर्याउने योजना बनाएको छ ।

४७ करोड ४४ लाख सेयर पँुजी भएको सिजर्नी फाइनान्सले हकप्रद सेयर जारी गर्ने जनाएको छ । अधिकांश फाइनान्सहरुले बोनस सेयर र हकप्रद सेयर जारी गर्ने योजना पेश गरेका छन् । पोखरा फाइनान्सले ९ करोड ९४ लाख रुपैयाँको नयाँ सेयर जारी गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.