शिखर इन्स्योरेन्सको एफपिओको मूल्य कम हुने, ६५० भन्दा कम मै पाइने

  २०७२ भदौ २३ गते ११:५६     विकासन्युज

काठमाडौं, २३ भदौ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्डले शिखर इन्स्योरेन्स कम्पनीको एफपिओको मूल्य कम गर्न निर्देशन दिएको छ । कम्पनीले प्रतिकित्ता ६ सय ५० रुपैयाँ सर्वसाधारणलाई सेयर विक्री गर्ने अनुमति मागेपछि बोर्डले मूल्य कम गर्न निर्देशन दिएको हो ।

कम्पनीले गत चैत २५ गते प्रतिकित्ता ६ सय ५० रुपैयाका दरले ३३ करोड २१ लाख ४२ हजार २ सय रुपैयाँ बराबरका ५ लाख १० हजार ९ सय ८८ कित्ता सेयर विक्रीको अनुमति मागेको थियो ।

बोर्डले गत असार ३ गते कम्पनीलाई मूल्य बढी  भएकोले घटाएर ल्याउन निर्देशन दिएको हो । यस्तो निर्देशनको कुनै जवाफ प्राप्त नभएको बोर्डको भनाइ छ ।

‘हामीले असार पहिलो साता नै मूल्य बढि भयो भनेर कम्पनीलाई जानकारी दिएका थियौं, त्यति मूल्य तोक्नुको आधार के हो भन्ने प्रष्ट जानकारी पनि नआएको र अन्य केहि विषयमा पनि सुधार गर्नुपर्ने देखिएकोले सुधार गर्न निर्देशन दिइएको हो,’ बोर्ड स्रोतले भन्यो ।

वोर्डले कम्पनीलाई क्रेडिट रेटिङ गराउन पनि निर्देशन दिएको छ । एफपिओ जारी गर्नको लागि कम्पनीले बुझाएको विवरणमा क्रेडिट रेटिङ गराएको छैन ।

दोस्रो बजारमा भदौ २२ गते मंगलवार शिखर इन्स्योरेन्सको सेयर प्रतिकित्ता ९ सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.