माछापुच्छ्रेको केन्द्रीय कार्यालय आजपनि बन्द

  २०७२ साउन २४ गते ११:१९     विकासन्युज

काठमाडौं, २४ । कर्मचारी युनियन गठनको विषयलाई लिएर ब्यवस्थापनले मनपरी सरुवा गरेको आरोप लगाएका कर्मचारीले आइतवार पनि बैंकको केन्द्रीय कार्यालय पोखरामा सेवा ठप्प बनाएका छन् । गत शुक्रवार पनि सो कार्यालयवाट प्रवाह हुने सेवा अवरुद्ध भएको थियो ।

कर्मचारी युनियन गठन गर्न लागेकै आधारमा आफूहरुलाई मनपरी र अन्यायपूर्वक सरुवा गरिएकोले आन्दोलित हुनुपरेको युनियन गठनमा पहल गरिरहेका बैंकका कर्मचारी राकेश यादबले जानकारी दिए । आइतवार पनि बैंकको केन्द्रीय कार्यालय पोखरामा सवै सेवा अवरुद्ध भएको छ ।

‘हामीले युनियन गठनको पहल गरेका थियौं, ब्यवस्थापनले यो विषयमा असहमति जनाउदै मनपरी रुपमा हामीलाई सरुवा गरेको छ, हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ यादबले भने । बैंक ब्यवस्थापनले आफू संविधान र कानुन अनुसार संगठित हुन खोज्दा अवरोध सिर्जना गरिएकोले आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

यता ब्यवस्थापनले भने युनियन गठन र सरुवाको कुनै सम्बन्ध नभएको बताएको छ । युनियन गठन गरेर संगठित हुन पाउने कानुनी अधिकारलाई आफूहरुले अबरोध गर्ने कुरा सोच्न पनि नसक्ने भन्दै बैंकको आवश्यकता अनुसार कर्मचारीलाई काममा लगाउने अधिकार कम्पनीको भएको ब्यवस्थापन पक्षको भनाइ छ ।

‘युनियन दर्ताको विषय हामीलाई जानकारी छैन, हाम्रो बैंकमा मात्र होइन अन्यत्र पनि युनियन छन्, यसमा हामीले आपत्ति जनाउनु पर्ने कुनै कुरा छैन, कानुनी रुपमा उहाँहरु संगठित हुन कसैले रोक्न सक्दैन, तर कम्पनीको आवश्यकता अनुसार काम लगाउन हामीले पाउनु पर्छ’ ब्यवस्थापन तहका एक उच्च अधिकारीले भने ।

उनले कर्मचारीको जायज माग भए कानुनी रुपमा आउन अनुरोध गरेको छ । बैंक जस्तो संबेदनशील क्षेत्रमा बन्द र हड्ताल निषेध गरिएको भएपनि कर्मचारीले अराजकता प्रदर्शन गरेर सर्वसाधारणलाई मर्कामा पारेको ब्यवस्थापनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.