बैंकको ब्यालेन्ससिटमा क्र्याक आउन सक्छ तर क्रम्बल हुँदैन-अनिल शाह

  २०७२ साउन १ गते ११:५८     विकासन्युज

anil-shah

अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत-मेगा बैंक नेपाल लिमिटेड

भूकम्पले नेपालको वित्तीय क्षेत्रमा पारेको तत्कालिन र पार्न सक्ने दीर्घकालिन प्रभाव के के हुन ?

भूकम्पले ३१ जिल्लामा अलि बढी प्रभाव पर्यो भने १४ जिल्लामा त्यो अलि बढी नै देखियो । बैंकहरुलाई हेर्ने हो भने कुनै शाखामा भौतिक क्षति भयो । त्यो पनि अहिलेसम्म चाँही सेवा सुभारम्भ भैसकेको छ । मुख्य कुरा भनेको हाम्रा ग्राहक र उपभोक्तामा भूकम्पले के असर गर्यो भन्ने हो ।
उदाहरणका लागि पर्यटन क्षेत्रलाई हेरौं । कुनै पनि होटलहरु ढलेका देखिएनन् तर पर्यटक गएका छैनन् । राजधानीका अधिकांश सुपरमार्केटहरु खुल्ला छन् । त्यति ठूलो क्षति कुनैमा पनि भएको देखिन्न तर उपभोक्ता गएका छैनन र व्यापार बढेको छैन । व्यवसाय खुलेका छन् तर कारोबार भएको छैन ।
झट्ट हेर्दा लाग्छ बैंकिङ क्षेत्रलाई भूकम्पले ठूलो असर पारेको छैन । तर भूकम्पले मेरो व्यवसायमा ढलेन भन्ने अवस्था छैन । व्यवसाय सग्लो रहेपनि कारोबार नभएपछि नोक्सानी भैरहेको छ । खर्च घटेको छैन तर कारोबार घटेको छ । ग्राहकले ऋणको किस्ता तिर्ने प्रक्रियामा बिलम्ब गरेका छन् । यसरी हेर्ने हो भने व्यवसायीलाई प्रभाव पर्नु भनेको बैंकिङ क्षेत्रलाई पनि प्रभाव परेकै हो । आम्दानी घटेको छ । तर खर्च घटेको छैन । कर्मचारीको तलब, बत्ती, पानी र घर भाडा त तिर्नु पर्छ नै ।
बजार बिस्तारै उठ्न खोजिरहेको छ । केही समय भित्रै व्यवसाय पुनः सुचारु हुन्छ । अर्थतन्त्र फेरि उठ्नेछ ।

धनजन भन्दा पनि मनोविज्ञानको त्रास देखियो नि ?

जत्रो भूकम्प आयो त्यसले क्षति कम गरेको हो । तर डरले सबैलाई पिरोल्यो । धरहरा ढलेपछि काठमाडौं नै सक्कियो भन्ने सन्देश गयो । विदेशी सञ्चार माध्यमहरुले पनि काठमाडौं तहस नहस भएको समाचार बजाए । एनआरएनहरुले पनि नेपाल ध्वस्त भयो भनेका थिए ।  जुन क्षति धनजनको भयो त्यो भन्दा ठूलो क्षति मनोविज्ञानमा परेको छ । जुन डर हामी भित्र पसेको छ अब त्यो नै समस्या हो ।
संसारभर नेपाल ध्वस्त भएको समाचार प्रवाहित भएको छ । असन इन्द्रचोक जानु हुँदैन । ठूला सुपरमार्केटमा जानु हुँदैन भन्ने सन्देश गएको छ । अर्थतन्त्र भनेको कसैले सेवा र बस्तु बेच्ने अनि कसैले सेवा र बस्तु किन्ने नै हो । अर्थतन्त्र भनेकै किन्ने र बेच्ने हो । जब त्यहि काम रोकिन्छ अनि अर्थतन्त्र कसरी अघि बढ्छ । भूकम्पले उपत्यकालाई नराम्ररी हल्लायो अनि यहिँ ८० प्रतिशत अर्थतन्त्र टिकेको छ । अब यसको प्रभाव त परिनै हाल्छ तर पनि नयाँ सिजनबाट पर्यटक पनि आउँछन । हाम्रा रेगुलर बजारहरुले पनि पुनर्जीवन पाउँछन र अर्थतन्त्र फेरि जाग्नेछ । केबल हाम्रो मनोवैज्ञानिक त्रासलाई कुनै माध्यमबाट घटाउँदै लैजानु पर्छ ।

आगामी वर्षको बैंकको नाफामा कत्तिको असर पारेको छ भूकम्पले ?

बैंकको ब्यालेन्स सिटमा क्र्याक आउन सक्छ तर क्रम्बल हुँदैन अर्थात ब्यालेन्स सिटमा असर गर्छ तर ध्वस्त बनाउँदैन । बजार खुलेपनि व्यवसाय भएका छैनन् । कार्यालय खुलेपनि काम गरिएको छैन । खर्च घटेको छैन तर कमाई घटेको छ । ऋणको ब्याज तिरिहाल्ने अवस्था छैन । त्यसले गर्दा यस बैंककको नाफामा न केहि असर गर्छ नै । एक वर्षसम्म त्यस्तो नाफामा प्रभाव पर्छ । त्यसपछि चाँही पहिले भन्दा पनि अवस्था सुध्रिन्छ ।

केन्द्रीय बैंकले किस्ता बुझाउन तीन महिना थप गरेको छ, यसको असर असारमसान्तको वासलातमा कस्तो पर्ला ?

केन्द्रीय बैंकले ल्याएको नाफामा असर होला भने ब्याजलाई क्यापिटलाइज्ड गर्न दिएको छ । नयाँ आर्थिक बर्षको तीन महिनासम्ममा ऋणको ब्याज तिर्नेहरुका लागि पनि यसै आर्थिक बर्षमा जोड्ने भनेको छ । केन्द्रीय बैंकले राम्रोसँग अध्ययन गरेर यो योजना अघि सारेको छ । यसले वित्तीय क्षेत्रलाई भन्दा पनि उपभोक्तालाई सहज बनाईदिएको छ । उपयभोक्ताको हित भनेकै बैंकहरुको पनि हित हो ।

सहुलियत व्याजदरको पुनकर्जा नीतिलाई कसरी लिनु भएको छ ?

त्यसमा हामीले अलि फरक अवधारणा अघि सारेका हौं । राष्ट्र बैंकले शून्य प्रतिशत ब्याजदरमा पुनकर्जा दिने र हामीले दुई प्रतिशतमा लगानी गर्ने भनेको छ । बैंकहरुले होम लोन अन्तर्गतको प्रावधानमा यो लगानी गर्न भनिएको छ । यो राम्रै प्रस्ताव हो । तर त्यसमा सरकारले ग्यारेन्टी बस्नु पर्छ । हामीसँग भएको पैसा भनेको निक्षेपकर्ताको रकम हो । भूकम्प पीडितलाई घर बनाउन दिएको उहाँहरुले तिर्न सक्नु भएन भनेर हामीले निक्षेप कर्तालाई भन्न सक्दैनौं । तपाईहरुले निक्षेप गरेको पैसा भूकम्प पीडितलाई राहत भयो भनेर भन्ने अवसथा रहँदैन । केन्द्रीय बैंकले पीडितको क्यास फ्लो, तिर्ने क्षमता, धितोको अवस्था हेरेर ऋण दिन भनेको छ । गाउँमा जसका घर ढलेका छन् उनीहरुले भूकम्प आउनु भन्दा पहिले नै धितो राखेर ऋण लिने अवस्थामा हुनुहुन्नथ्यो । अनि अहिले ढलेका घर धितो राखेर कसरी ऋण सुरक्षित हुन सक्छ ? त्यस कारण सरकारले ग्यारेन्टी बस्नुपर्छ हामी लगानी गर्न तयार छौं । आवश्यकतालाई हेरेर लगानी गर्न सकिन्छ । १५ लाखै दिनुपर्छ भन्ने छैन । आवश्यकता हेरेर ऋण दिन सकिन्छ । सरकारले दुई लाख रुपैंयाँ दिने भनेको छ । बैंकहरुले एक लाख ऋण दिन्छन । यसले जनताको पहुँचमा बैंकिङ क्षेत्र पनि पुग्छ ।

भूकम्प पछि तरलता बढ्यो नि किन होला ?

नेपालका बैंकहरुले कम्तिमा पनि निक्षेपकर्ताहरुको मन जितेको रहेछ । घरमा पैसा र गरगहना राख्दा फेरी भूकम्प आउला र पूर्ला भनेर बैंकमा सुरक्षित ठानेर राख्नु भयो । यसले तरलता बढाएको हो । अर्काे कुरा भनेको रेमिट्यान्स बढिरहेको छ । तर ऋण प्रवाह ठप्प भएको छ । श्रोत आईरहेको छ तर लगानी गर्ने ठाउँहरु भेटिएका छैनन् । बैंकहरुमा ७९ प्रतिशतसम्म तरलता छ । यो स्वभाविक हो । लगानी गर्ने क्षेत्रको अभावमा तीन प्रतिशतमा पनि विकास ऋण पत्र किन्ने तत्परता देखाएका हौं । तर नयाँ आर्थिक बर्षदेखि तरलता अभाव हुन सक्छ । विकास निर्माणको काम सुरु भएपछि नयाँ गतिमा अर्थतन्त्र अघि बढ्छ । नेपाल पुरानो ठाउँमा मात्रै होइन धेरै अघि बढ्छ ।

anil_shahमेगा बैंकले हलो देखि हाईड्रोसम्म भन्नुहुन्थ्यो, कहाँ र कति लगानी गर्नु भयो ?

हामीले हलोदेखि हाईड्रोसम्मको नारा अघि सार्दा सबैले हाईड्रोमा त लगानी गर्नुहुन्छ होला तर हलोमा गाह्रो छ भनेका थिए । तर हामीले दशौं हजार जनतामा ठूलो रकम लगानी गरिसकेका छौं । मेगा माइक्रोले बिना धितो ५० हजार देखि एक लाखसम्म रुपैंयाँ लगानी गरेका छौं । गाई, बाख्रा, भैसीँ, याक, गोलभेडा लगायतको खेतीमा प्रशस्तै लगानी गरेका छौं ।
करिब २० अर्बको ऋण लागानीमा हामीले एक अर्ब भन्दा बढि त हलोमै लगानी गरेका छौं । बरु हाईड्रोको लगानी भने करोडौंको आँकडामा मात्रै छ । धनी मान्छेहरु अझ धनी हुँदा राम्रै लाग्छ । तर गरिबहरु धनी हुँदा कति आनन्द आउँछ । चिलिमेको शेयरका लागि सर्वसाधारणलाई शेयर धितो राख्न लगाएर पैसा दिएका हौं । धनीको निर्माण यसरी नै हुने हो । अब भने हाईड्रोको पनि बजार बढ्छ । लगानी पनि बढाउँछौ ।

मेगा बैंक कति नम्बरमा थियो कति नम्बरमा आईपुग्नु भयो ?

हामीसँग खुलेका बैंक मध्ये सबै भन्दा राम्रो छौं । ठूला बैंकका कुरा नगरौं तर हाम्रै आकारका बैंकमा एक नम्बरमा हामी नै हौं । यो दीर्घकालिन व्यवसाय हो । मध्य समयमा खुलेका बैंकहरुलाई पछ्याउँदैछौं । एक बर्षमा गतिलो नाफा भएको ब्यालेन्स सिट बनाउन सकिन्छ तर तेश्रो बर्षमा पुग्दा समस्या आउँछ । त्यसैले राम्रोसँग काम गर्नु पर्छ ।
कुनै दिन मेरा पनि नाति नातिना होलान, उनीहरुलाई ठूलो मेगा बैंकको भवन देखाएर भन्न पाउँ कि यो बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत मै थिएँ । त्यसैले जग राम्रो बनाउने प्रयास गरिरहेका छौं । राम्रो हुने आशा पनि छ ।

आगामी बर्ष सेयरधनीलाई कति लाभांश दिन सकिएन ?

कानुन त मैले यस्तो अनुमान गर्न मिल्दैन । यसले शेयर बजारमा पनि प्रभाव पार्ने भएकाले बोल्न मिल्दैन । यत्ति भन्न सकिन्छ कि गत वर्षभन्दा राम्रो हुन्छ ।
बैंक भनेको टिम वर्क हो । मेगा बैंकको टिम एकदमै राम्रो छ । निक्षेप कम देखिए पनि आम्दानी राम्रो छ । बैंक ठूलो हुनुपर्छ भन्ने कुरा राम्रै हो त्योसँगै नाफा पनि कमाउनु पर्छ । शाखा खोल्ने, धेरै निक्षेप संकलन गरेर मात्रै हुँदैन । नाफा पनि कमाउनुपर्छ । मेगा बैंक आफ्नो हाइट र साईजमा सबै भन्दा राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.