निर्यात ब्यापार ४ अर्बले घट्यो

  २०७२ जेठ ११ गते ९:५२     विकासन्युज

११ जेठ । गत बर्षको भन्दा यो बर्ष निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको छ । गत बर्षको चैत मसान्तको भन्दा यो बर्षको सोही अवधिमा निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत बर्षको चैत मसान्तसम्ममा ६८ अर्ब १२ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएकोमा चालु आर्थिक बर्षको सोही अबधिमा ६४ अर्ब २८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
गत बर्षको सोही अवधिको तलुनामा निर्यात ब्यापार चालु आर्थिक बर्षको सोही अवधिमा ५ दशमलब ६ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत बर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशलमब २ प्रतिशतले बढी  ६८ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । मासिक रुपमा चालू आर्थिक वर्षको चैत महिनामा कुल वस्तु निर्यात फागुन महिनाको तुलनामा १० दशमलब ९ प्रतिशतले बढेको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको नौ महिनासम्ममा २० दशमलब ६ प्रतिशतले बढेकोमा यो बर्ष ८ दशमलब २ प्रतिशतले घटेको छ । अलैंची, जिङ्क शीट, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।
चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलब ९ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ८ दशमलब १ प्रतिशतले बढेको छ । प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, नुडल्स लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो ।
अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १६ दशमलब ८ प्रतिशतले बढेकोमा यो अवधिमा १ दशमलब २ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, ऊनी गलैंचा, नेपाली कागज र कागजका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो ।
यो अवधिमा कुल वस्तु आयात १० दशमलब ५ प्रतिशतले बढेर ५ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलब ७ प्रतिशतले वृद्धि भई ५ दशमलब २२ अर्ब १९ करोड रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा सुन, सुपारी, एम एस वायर रड, कोइला, धागो लगायतका वस्तुहरुको आयात घटेको कारण समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । मासिक रुपमा हेर्दा चैत महिनामा कुल वस्तु आयात फागुन महिनाको तुलनामा १० दशमलब १ प्रतिशतले बढेको छ ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २९ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ४ दशमलब ६ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतया यातायातका साधन तथा पाटपुर्जा, चामल, एम.एस विलेट, मेशिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।
चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १४ दशलमब ५ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ५१ दशलमब ९ प्रतिशतको उच्च दरले बढेको छ । मुख्यतयाः मेशिनरी तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, विजुलीका सर सामान, रासायनिक मल लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाटको आयात वृद्धि भएको हो ।
अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ३० दशमलब ५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी चाँदी, हवाइजहाजका पाटपूर्जा, खाने तेल, कच्चा पाल्म तेल लगायतका वस्तुहरुकोे आयात बढेको कारण अन्य मुलुकबाट भएको आयात बढेको हो ।
ब्यापार घाटा ५ खर्ब १३ अर्ब
कुल वस्तु व्यापार घाटा १२ दशमलब ९ प्रतिशतले वृद्धि भई ५ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २९ दशमलब १ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत, चीन र अन्य मुलुकसँगको व्यापारघाटा क्रमशः ६ दशलमब ५ प्रतिशत, ५३ दशलमब ५ प्रतिशत र ११ दशमलब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ३० दशमलब ४ प्रतिशत, १४ दशमलब ६ प्रतिशत र ३३ दशमलब ८ प्रतिशतले बढेको थियो ।
निर्यात घटेको र आयात बढेको कारण समीक्षा अवधिमा निर्यात–आयातअनुपात ११ दशमलब १ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.