९० अर्बमा सवै घर पुन निर्माण हुने

  २०७२ वैशाख २५ गते १३:४४     विकासन्युज

विकासन्युज/काठमाडौं ।
२५ बैशाख । १२ बैशाखमा आएको विनासकारी भुकम्प पछि मुलुकमा ठूलो मात्रामा धनजनको क्षति भएको छ । क्षतिको विवरण आउने क्रम जारी रहेकोले कति मानिस मरे, कति वेपत्ता छन्, कति भौतिक संरचनामा क्षति पुगेको छ भन्ने जस्ता विषयको पूर्ण विवरण अझै आउन सकेको छैन । गृहमन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार करिब ३ लाख घर पूर्ण रुपमा क्षति भएका छन् भने २ लाख ७५ हजार भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।
यति धेरै संख्यामा सर्वसाधारण्को घरमा क्षति पुगेकोले पुननिर्माण कसले गर्ने भन्ने गम्भिर प्रश्न पनि उठेको छ । केहि राजनीतिक दल र मन्त्रीहरुले सरकारले नै सर्वसाधारणको घर निर्माण गरिदिनु पर्ने विचार ब्यक्त गरेका छन् । केहि सरकारी निकाय र अधिकारीहरुले भने घर सर्वसाधारणलाई नै बनाउन दिने र सरकारले नगद सहयोग गर्नुपर्ने विचार ब्यक्त गरिरहेका छन् ।
विनासकारी भुकम्पमा परी क्षति पुगेका घर जसले बनाए पनि बनाउनै पर्छ । यसमा सरकारले सहयोग पनि गर्नै पर्छ । के कस्तो सहयोग गर्ने भन्ने विषय बेग्लै हो । तर अहिले क्षति पुगेका भनिएका घर पुन निर्माण गर्न कति रकम आवश्यक छ भन्ने आकलन कतैवाट नहुनु भने दुखद विषय हो ।
इन्जिनियर रमेश कोइरालाले भुकम्पको कारण फरक फरक स्थानका घर भत्किएको कारण पुननिर्माण गर्न कति रकम लाग्छ भन्ने अहिले नै भन्न नसकिने बताउछन् । क्षतिग्रस्त घर पुननिर्माण गर्न पुरानो सामाग्री प्रयोग गर्न सकिने अवस्था भएकोले अहिले चर्चा गरिए जति रकम नलाग्न पनि सक्ने उनको भनाइ छ ।
‘क्षति भएका घर र त्यसभित्रका वस्तु नोक्सान भएका छन्, तर घर मात्रै पुन निर्माणमा धेरै पैसा नलाग्न सक्छ,’ इन्जिनियर कोइरालाले भने– ढुंगा, माटो, इटा, काठ, छानो जस्ता बस्तुहरु पुन प्रयोग हुन सक्ने भएकोले थप हुने लागत भनेको श्रम लागत नै धेरै हो । अब बनाउदा कस्तो घर बनाउने र कस्ता सामाग्री प्रयोग गर्ने भन्नेले पनि लागत तय गर्ने इन्जिनियर कोइरालाको भनाइ छ ।
पूर्वअर्थसचिव रामेश्वर खनाल भने अहिले क्षति भएका सवै घर एउटै स्वरुप र मापदण्डका बनाउने हो भने करिब ९० अर्ब रुपैयाँमा सवै घर पुननिर्माण गर्न सकिने विचार राख्छन् । विगतमा सरकारले बनाएका घर निर्माण गर्न १ लाख रुपैयाँको हारहारीमा खर्च भएकाले अहिले सवै घर बनाउदा लागत दोब्बर नै भए पनि ९० अर्ब रुपैयाँमा निर्माण गर्न सकिने उनको भनाइ छ ।
सरकारले २०६३ सालमा तत्कालिन नेकपा माओवादीका लडाकू बस्नको लागि क्यान्टोनमेन्ट तयार पारेको थियो । त्यस्ता क्यान्टोनमेन्ट बनाउन एउटाको लागि करिब १ लाख १५ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । दुइटा कोठा र एउटा ट्वाइलेट भएको सो क्यान्टोनमेन्ट १ लाख ७ हजार रुपैयाँमा नै तयार भएको खनाल सुनाउछन् । सो समयमा उनी अर्थमन्त्रालयको सचिव थिए ।
यस्तै सरकारले २०६७÷६८ सालमा तराइका केहि जिल्ला र मकवानपुरमा समेत विपन्न र पिछडिएको जातिको लागि जनता आवाश कार्यक्रम संचालन गरेको थियो । सो कार्यक्रममा एउटा घर बनाउनको लागि १ लाख २५ हजार रुपैयाँ खर्च लागेको थियो । २ कोठा भएको यस्तो घरको लागि ट्वाइलेट बनाइएको थिएन । अहिले बनाउने घरमा ट्वाइलेट अनिवार्य हुने भएकोले लागत यो भन्दा केहि बढन सक्ने उनको भनाइ छ ।
‘अत्याधुनिक, सुविधा सम्पन्न र भुकम्प प्रतिरोधी पनि बनाउन औसतमा प्रतिघर २ लाख रुपैयाँ लागतले पुग्ने देखिन्छ,’ पूर्वसविच खनालले भने– अहिले सार्वजनिक भएको तथ्यांक अनुसार ४ लाख ५० हजार जति घर निर्माण गर्नुपर्ने भएकोले करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.