किन आयो २ लाख ८० हजार केजी चादी, कस्ले किन किन्छ यति धेरै ?

  २०७२ वैशाख ७ गते १३:२३     विकासन्युज

 

७ बैशाख । नेपालमा चादीको अस्वभाविक आयात भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्मा नै १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको चादी आयात भएको छ । एक केजी चादीको औसत बजार मूल्य ६० हजार रुपैयाँ पर्छ । यस अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा २ लाख ८० हजार २ सय ५० केजी चादी आयात भएको देखिएको छ ।

यति धेरै चादी कुन प्रयोजनको लागि आयो र कहाँ प्रयोग भएको छ भन्ने जानकारी ब्यापारी र सरकारी अधिकारीलाई समेत छैन । चादीको अस्वभाविक आयात भएपछि यसलाई नीतिगत तहवाट नियन्त्रण गरिने भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले जानकारी दिए ।

‘गत बर्षको भन्दा यो बर्ष चादीको आयात निकै बढेको छ, यति धेरै चादी नेपालमा आवश्यक छ छैन भनेर अध्ययन गर्ने र अनावश्यक रुपमा आएको देखिए नीतिगत रुपमा नियन्त्रण गर्ने तयारी भैरहेको छ,’ उपमहानिर्देशक रेग्मीले भने । गत बर्षको भन्दा यो बर्ष नै यति धेरै आयात हुनु स्वभाविक नभएको उनको भनाइ छ । तर कुन प्रयोजनमा कसले र किन यति धेरै चादी आयात गरिरहेको छ भन्ने जानकारी आफुहरुलाई नभएको रेग्मीले बताए ।

‘गत बर्षको भन्दा आन्तरिक खपत केहि बढेको अनुमान गरिएको छ, बाँकी चादी कहाँ गएको छ भन्ने यकिन हुन भने सकेको छैन,’ रेग्मीले भने । पछिल्लो समयमा चादीका गहना, सजावटका सामाग्री जस्तामा प्रयोग बढेको उनको भनाइ छ । पछिल्लो समयमा सुनको मूल्य अत्याधिक बढेकोले नेपालीले सुन खरिद गर्न नसकेका कारण चादीमा लगानी बढेको हुन सक्ने उनले बताए ।

नेपाल सुनचादी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य भने चादीमा लगानी बढेको कारण आयात बृद्धि भएको स्वीकार गर्न तयार छैनन् । ‘चादी लगानीको उपयुक्त उपकरण हुदैहोइन, सेयर र सुन जस्तो सुरक्षीत नभएकोले लगानीकर्ताले चादीमा लगानी बढाए भन्ने तर्क उचित छैन,’ शाक्यले भने । आन्तरिक खपत केहि मात्रामा बढेको भएपनि नेपाली बजारमा यति धेरै चादीको माग नभएको उनको भनाइ छ ।

‘यो बर्ष बार्षिक १ लाख ८ हजार केजी चादीको माग रहेको हाम्रो अनुमान छ, बजारको माग भन्दा दोब्बर चादी आठ महिनामै आइसकेकोले यसमा शंका गर्नुपर्ने अवस्था देखियो,’ शाक्यले भने । भारतसँगको ब्यापारमा हुने न्यूनविजकीकरणको लागि चादीको प्रयोग भएका हुन सक्ने ब्यवसायीको तर्क छ ।

‘चादीको प्रयोग भारतसँगको ब्यापारमा भएको हुन सक्ने देखिएको छ, भन्सारमा कम मूल्यको देखाएर ल्याएको बस्तुको भुक्तानी औपचारिक माध्यमवाट गर्न नसकिने भएकोले विकल्प प्रयोग भएको हुन सक्छ,’ शाक्यले भने । नेपालमा आयात भएको अधिकांश चादी तराइ क्षेत्रमा जानुले पनि आफूहरुको शंकालाई थप बल पुगेको शाक्यको भनाइ छ । नेपालान भारतबाट ८ रुपैयाँ बराबरको आयात हुदा १ रुपैयाँ बराबरको मात्रै निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.