नेपाली उत्पादन : ‘हाम्रो पनि राम्रो पनि’-सुदर्शन बस्नेत

  २०७१ चैत ३० गते २२:०८     विकासन्युज

bikashnews.com

डा. सुदर्शन बस्नेत

नेपाल उत्पादनहरुको प्रवद्र्धन तथा उत्पादकत्व बढाउने अभियानसहित शुरु भएको मेड इन नेपाल प्रदर्शनी पाँचौ संस्करण हुँदैछ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने मुल नाराका साथमा भईरहेको मेलामा १ सय ३० स्टल छन् । प्रदर्शनीमा नेपाली वस्तु उत्पादन, साना तथा घरेलु उद्योग, हस्तकला उद्योगको सहभागिता रहको छ । सानादेखि ठूला नेपाली उद्योगका उत्पादन यसमा छन् ।
यो मेला आयोजना गर्ने क्रमा म तीन पटकसम्म प्रत्यक्ष सहभागि भए । सर्वसाधारण जनता देखि उच्च पदस्थ सरकारी अधिकारीहरुले समेत यस मेलालाई सहयोग र समर्थन जनाउनुभएको छ । जनतादेखि नेता हुँदै सेलिब्रिटीसम्मको आकर्षण खिच्न सकिएको छ । यस्ता मेलाहरुले उद्योगीलाई बजार बुझ्न सहयोग पुग्छ । नेपाली उपभोक्ताको रुचाई र मूल्यबारे उद्योगीले राम्रो जानकारी लिएर आफ्ना उद्योगलाई सुधार्न सक्छन् । आफ्ना उत्पादनलाई राम्रो बनाउने र मूल्यमा समन्जस्यता हासिल गर्न मेलाले सहयोग गर्छ ।
पाँचौ संस्करणसम्म आईपुग्दा मेड इन नेपालको राम्रो ब्राण्डिङ भैसकेको छ । नेपालमा सियो पनि बन्दैन भन्ने अफवाह फैलाईएको अवस्थामा नेपालमा ठूला ठुला उत्पादन समेत हुँदै आएका छन् भन्ने तथ्य प्रदर्शनीबाट देखिदै आएको छ । नेपालमा ठूला उद्योग पनि सञ्चालनमा छन् । बाराको निजगढमा इलेक्ट्रिक रिक्सा उद्योग सञ्चालन भैरहेको छ । त्यहाँ एसेम्बल मात्रै होइन्, उद्योग नै सञ्चालनमा छ । सिमेन्टमा नेपाली उत्पादनले ७० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । हर्वल, जडिबुटी, छाला जुक्ता र औषधीमा पनि नेपाली उत्पादनको अवस्था राम्रो छ । हर्वलमा ८० प्रतिशत, औषधीमा पनि ४० प्रतिशत बजार नेपाली उत्पादनकै छ । छालाजुक्तमा ७० प्रतिशत जति बजार स्वदेशी उत्पादनकै छ । छडहरु पनि हामी नेपालको मात्रै प्रयोग गरिरहेका छौं ।
चौथो प्रदर्शनीसम्म आउँदा आफ्नो भन्या आफ्नै हो भन्ने नारा दिएर राष्ट्रिय भाव झल्काउने प्रयास गरेका थियौं । पाँचौ मेलामा भने ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नारा अघि सारेका छौं । यसले हाम्रो पनि हुनुपर्छ र राम्रो पनि हुनुपर्छ भन्ने मान्यतासहित गुणस्तरमा समेत ध्यान दिनुपर्छ भन्ने मान्यता अघि सारेका छौं । हाम्रो मात्रै भएर हुँदैन, राम्रो पनि हुनु पर्छ । नेपाली उत्पादकहरुले गुणस्तर र मूल्यमा बिशेष ध्यान दिनु आवश्यक छ । उपभोक्ता ठगिनु हुन्न भन्ने हाम्रो मान्यता छ । नेपाली र विदेशी उत्पादनको गुणस्तर बराबर छ भने नेपाली नै प्रयोग गर्नु पर्छ । मूल्य कम छ भने पनि नेपाली वस्तु नै प्रयोग गर्नुपर्छ ।
फस्टाउँदो सेवा क्षेत्र
शिक्षा, स्वाथ्स्थ्य, सूचना प्रविधि, वित्त लगायत सेवा क्षेत्रले नेपालले राम्रो ग्रोथ हासिल गरिरहेको छ । आईटी सफ्टवेयरको विकासका लागि पनि नेपालको सम्भावना निकै धेरै रहेको छ । नेपालीहरुले बनाएका सफ्टवेयहरुको विश्व बजार निकै राम्रो छ । केहि जुझारु युवाहरुले त्यसको सभारम्भ समेत गरिसक्नु भएको छ । सानो देशबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने दृष्टान्ट नेपाली आईसीटी क्षेत्रले दिन सक्छ । सफट्वेयर निर्माण विश्वका जुनसुकै कुनाबाट पनि जो सुकैले पनि गर्न सक्छ भन्ने प्रमाणित हुँदै आएको छ । यसको प्रवद्र्धनका लागि पनि एकिकृत प्रयासको खाँचो छ ।
त्यस्तै, नेपालमा विश्वस्तरिय अस्पताल तथा कलेजहरुको स्थापना भैरहेको छ । यसले विदेशीलाई नेपाल भित्र्याउने सम्भावना तत्कालका लागि नरहेपनि स्वास्थ्योपचार तथा अध्ययनका लागि विदेशीने नेपालीहरुलाई भने रोक्न सक्छ । स्वास्थ्य सेवा तथा शिक्षाले पनि मेड इन नेपाललाई प्रवद्र्धन गरिरहेको छ । बैंकिङ, बीमा लगायत वित्तीय सेवाको क्षेत्रमा पनि नेपालीले धेरै राम्रो गरेका छन् ।
कसै कसैले सेवा क्षेत्रलाई मेड इन नेपाल भन्न नहुने तर्क पनि सुनियो । तर युवा उद्यमी मञ्चले भने सेवा तथा उत्पादन दुबै क्षेत्रलाई मेड इन नेपाल भन्ने गरेको छ र भन्नु पनि पर्छ । हामीले गर्दै आएको मेड इन नेपाल मेलामा सर्भिस र उत्पादन दुबैलाई महत्वपूर्ण स्थान दिँदै आएका छौं । नेपालमा उत्पादन भन्दा पनि सर्भिस क्षेत्र अगाडि छ । तिलगंगाले बनाउने आँखाको लेन्स ४३ वटा मुलुकमा निर्यात हुन्छ । नेपालमा दाँतको उपचारका लागि र आयुर्वेदिक उपचारका लागि विदेशी समेत नेपाल आउने गरेका छन् । नेपालको सेवा क्षेत्रको इमेज संसारभर राम्रो छ ।
युवा उद्यमीका एजेण्डा
नेपाल सरकार सबै भन्दा ठूलो खरिदकर्ता हो । सरकारी खरिदारीमा स्वदेशी उत्पादनलाई बिशेष प्राथमिकता दिनुपर्छ । ठूलो मात्रामा कारोबार भयो भने गुणस्तर त्यसै सुध्रन्छ । ठूलो मात्रामा उत्पादन गरेपछि गुणस्तर बढ्ने कुरा सर्वव्यापी मान्यता पनि हो । सार्वजनिक खरिद ऐनमा १० प्रतिशत महंगो भएपनि नेपाली उत्पादन खरिद गर्नुपर्छ भन्ने व्यवस्थालाई संसोधन गर्नु आवश्यक छ । अब १० प्रतिशतका ठाउँमा १५ प्रतिशतसम्म बनाउनुपर्छ । त्यसो गरियो भने नेपालको व्यापार घाटा कम गर्न सहयोग पुग्छ ।
व्यापार केन्द्रित अर्थतन्त्र
नेपालका औद्योगीक घरानाका पहिलो पुस्ताले व्यापार सुरु गरेको थियो र उनीहरु उत्पादन मुलक उद्योगमा भन्दा व्यापारमा लगानी गर्न उद्यत थिए । दोश्रो पुस्ताले केहि हदसम्म उत्पादन मुलक उद्योगमा लगानी बढाएको देखियो । अब तेश्रो पुस्तासम्म आईपुग्दा उत्पादन मुलक उद्योगमा लगानीको आकर्षण बढेको छ । पहिले पार्लेजी विस्कुट भारतबाट ल्याईन्थ्यो तर अहिले नेपालमै उत्पादन भैरहेको छ । फर्चुन आयल पनि पहिले आयात हुन्थ्यो तर अहिले नेपालमै उत्पादन थालिएको छ । युवा उद्यमीहरुमा उत्पादन मुलक क्षेत्रमा लगाव बढेको छ । अटोमोबाइलका क्षेत्रमा भने नेपालमा बजारको अभाव छ । सानो बजार भएको मुलुकमा ठुलो लगानी गरेर अटोमोबाइलको प्लान्ट खोल्ने कुरा त्यति सम्भव हुन्न् ।
पञ्चकन्या, ज्योति समुह लगायतले व्यापारसँगै उत्पादनलाई पनि गरिरहेका छन् । निक जस्तो ट्रान्सफर्मर पनि नेपालमै बनिरहेको छ । राजनीतिक अस्थिरता र सरकारी द्धैध चरित्रका कारण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न डराएको देखिएको छ । नेपालका अधिकांश मानिसले व्यापारबाट कारोबार सुरु गरेका हुन् तर अहिले भने उत्पादन मुलक क्षेत्रमा पनि लगानी गरिरहेका छन् ।
कृषिमा जोड
दुर्भाग्य नै भन्नुपर्छ, कृषि प्रधान मुलकमा हामी कृषि उपज नै बढी आयात गरिरहेका छौं । गोलभेडाँ, प्याज, आलु, लसुन र चामल लगायतका कृषि उपजको आयात बढिरहेको छ । निरन्तर बढिरहेको कृषि उपजको आयातलाई रोक्न युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गराउनु आवश्यक छ । कृषि भनेको नपढेकाहरुले गर्ने हो भन्ने पुरातनवादी सोचमा परिवर्तन आवश्यक छ । पछिल्लो समयमा युवाहरुमा कृषिप्रति आकर्षण बढेको छ । तर त्यो पर्याप्त भने होईन । जबसम्म युवाहरुमा कृषि कर्मप्रति लगाव बढ्दैन तबसम्म नेपालको कृषि क्षेत्रले उन्नति गर्दैन र जबसम्म नेपालको कृषि क्षेत्रले उन्नति गर्दैन तबसम्म नेपालको आर्थिक समृद्धि असम्भव प्रायः छ । युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न सरकार र युवा उद्यमी मञ्च तथा निजी क्षेत्रले मिलेर सहकार्य गर्नु आवश्यक छ ।
स्वदेशी कच्चा पदार्थमा आधारित औद्योगीकरण आवश्यक छ । त्यो भनेको कृषि नै हो । युवाहरुलाई कृषिमा आकर्षित नगरि देश विकास हुँदैन् । बंगुर, कुखुरा, अस्ट्रिचमा लगानी गरिरहेका छन् । गाई भैसीमा पनि ठुलो लगानी भैरहेको छ । नेपालमा कृषि क्षेत्रको सम्भावना अत्याधिक छ ।
(डा बस्नेत पाँचौं मेड इन नेपाल कार्यक्रमको संयोजक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.