असारदेखि लोडसेडि दैनिक एक घण्टा मात्र,तोकिएको समयअगावै अन्तरदेशीय प्रसारण बन्दै

  २०७१ चैत २६ गते २०:०३     विकासन्युज

२६ चैत । मुलुकको ऊर्जा सङ्कट समाधानको महत्वपूर्ण आधारका रूपमा मानिएको ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम तोकिएको समयअगावै पूरा हुने भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत उक्त प्रसारण लाइन निर्माणको कामलाई प्राथमिकतामा राखी स्रोत साधन उपलब्ध गराउने कार्यक्रम राखेको छ । मुलुकभर जारी ऊर्जा सङ्कटलाई समाधान गर्न र नेपालभित्र उत्पादन हुने विद्युत्लाई भारतीय बजारमा बिक्री गर्नका लागि महत्वपूर्ण मानिएको सो अन्तर्देशीय प्रसारण लाइनको काम आगामी असारभित्रै सम्पन्न हुने भएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि हाल कायम रहेको मुलुकभरको विद्युत् भार कटौती एक घन्टामा सीमित हुने जानकारी दिए ।

रमेश लम्साल/काठमाडौँ

मुकेशराज काफ्ले

“काम प्रभावकारी रूपमा अगाडि बढेको छ, असारभित्रै सम्पन्न भयो भने मुलुकले व्यहोरिरहेको ऊर्जा सङ्कट समाधान हुन्छ” कार्यकारी प्रमुख काफ्लेले भने ।

हाल सो प्रसारण लाइनको लगभग ७५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन आयोजना प्रमुख बद्रीनारायण साहका अनुसार नेपालतर्फको कुल ११२ वटा टावरमध्ये ९० वटाको ‘फाउन्डेसन’ राख्ने काम सम्पन्न भइसकेको छ । यस्तै ७२ वटा टावर ठड्याउने काम पूरा भइसकेको छ भने करिब सात किलोमिटर क्षेत्रको प्रसारण लाइनको काम पूरा भएको छ ।
भारततर्फको प्रसारण लाइनको काम गत वैशाख १५ गतेबाटै सुरु भएको थियो । नेपालतर्फको काम भने तीन महिना ढिला गत साल साउन १५ गतेबाटमात्रै सुरु भएको थियो । सो आयोजना अगाडि बढाउन क्रस बोर्डर ट्रान्समिसन कम्पनी (सिपिटिसी)ले काम गरिरहेको छ । आयोजनाका अनुसार भारततर्फको कुल ९१ किलोमिटर खण्डको काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फको ४१ किलोमिटरको काम भने आगामी असार मसान्तसम्म पूरा हुने जनाइएको छ ।

भारतबाट नेपालका लागि विद्युत् ल्याउन हालसम्मकै उच्च प्राथमिकतामा रहेको सो प्रसारण लाइन सम्पन्न भएपछि यहाँ जारी विद्युत् भार कटौतीलाई अत्यन्तै न्यून विन्दुमा झार्न सकिने नेपाल विद्युत् प्राधिकरणले विश्वास लिएको छ ।

आयोजना ठेकेदार कम्पनी टाटा प्रोजेक्टले प्रसारण लाइन रहने क्षेत्र र विन्दुको निक्र्योल गरेपछि काम अगाडि बढाउन सहज भएको आयोजनाले जानकारी दिएको छ । सो ठेकेदार कम्पनीसँग सन् २०१३ डिसेम्बर १९ मा ठेक्का सम्झौता भएको थियो ।

डबल सर्किट प्रसारण लाइन निर्माण हुने र सो प्रसारण लाइनमार्फत करिब एक हजार दुई सय मेगावाट विद्युत् नेपाल ल्याउन र भारत पठाउनसमेत सकिने गरी निर्माण गर्ने लक्ष्य राखिएको छ । प्राविधिक तयारी पूरा हुन नसक्दा भारततर्फको काम समयमै सुरु भए पनि नेपालतर्फको काम समयमा नै सुरु हुन सकेको थिएन ।

सो आयोजनामा नेपालतर्फ ११२ वटा टावर निर्माण गर्नुपर्ने छ । भारततर्फ २३० वटा टावर निर्माण हुनेछन् । २०÷२० वर्ग मिटर क्षेत्रभित्र टावर निर्माण भइरहेको छ भने एउटा प्रसारण लाइनले कुल ४६ मिटर ढाकेको छ । आयोजना सम्पन्न गर्ने अन्तिम समयसीमा जुलाई १५, २०१५ रहेको छ ।

काम सुरु भएको १६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएकाले युद्धस्तरमा काम पूरा गर्नुपर्ने बाध्यता नेपाल–भारत दुवैतर्फ परेको आयोजना प्रमुख साहको भनाइ छ । आयोजनाको प्रभावित क्षेत्रमध्ये केही स्थानमा जग्गाको मुआब्जाको विषय जटिल देखिए पनि समस्या समाधान गरिएको आयोजना प्रमुख साहले जानकारी दिए ।
सो आयोजनाका लागि भारतले एक अर्ब २७ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । नेपालले ७० लाख अमेरिकी डलर खर्च गर्नुपर्नेछ ।

हाल भारतबाट दुई सय मेगावाट विद्युत् आयात भइरहेको छ । भारतबाट आयातित नेपाल प्राधिकरण र यहाँका निजी क्षेत्रको उत्पादनसमेत गरी करिब ७५० मेगावाट विद्युत् उत्पादन भईरहेको छ ।

मुलुकमा निर्माणाधिन ४० वटा प्रसारण लाइनमध्ये ३९ वटा आयोजनामा समस्यामा रहेको भए पनि ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनको काममात्रै प्रभावकारी रूपमा अगाडि बढेको हो । राष्ट्रिय वन, घरबस्ती छलिएका कारण अन्य प्रसारण लाइनमा जस्तो समस्या नआएको आयोजना प्रमुख साहको भनाइ छ ।

प्रसारण लाइन निर्माणका लागि सन् २००४ मा नेपाल र भारतका विभिन्न निकायको सहभागितामा कम्पनी गठन भए पनि कामले तीव्रता पाउन सकेको थिएन ।
अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्य पूरा गर्न नेपालतर्फ पावर ट्रान्समिसन कम्पनी (पिटिसिएन) स्थापना गरिएको छ भने भारततर्फ क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी (सिपिटिसी) स्थापना गरिएको छ ।

दुवै कम्पनीमा दुवै देशका विभिन्न निकायको सेयर रहेको छ । नेपालतर्फ प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणको ५० प्रतिशत, भारतको आइएल एन्ड एफएसको १० प्रतिशत, भारतकै पावर ग्रिडको २६ प्रतिशत र नेपालको जलविद्युत् विकास तथा लगानी कम्पनीको १४ प्रतिशत सेयरमा पिटिसिएन गठन गरिएको थियो । भारततर्फको प्रसारण लाइन विस्तार गर्न गठन गरिएको सिटिपिसी कम्पनीमा प्राधिकरणको १० प्रतिशत सेयर रहेको छ ।

नेपाल खण्डको प्रसारण लाइन निर्माणका लागि भारतीय आयात निर्यात बैंकले ऋण उपलब्ध गराएको छ । भारततर्फ इन्डियन पावर फाइनान्स कर्पोरेसनले ऋण उपलब्ध गराएको छ । खिम्ती ढल्केबर प्रसारण लाइनबाट लगिएको विद्युत्समेत ढल्केबरमा नै जोडिने छ भने भारतबाट ल्याइने विद्युत् सोही स्थानमा जोडिने भएका कारण पूर्वाञ्चल, मध्यमाञ्चललगायतका क्षेत्रमा नियमित विद्युत् आपूर्तिका लागि ढल्केबर सवस्टेसन महत्वपूर्ण मानिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.