उद्योग विभागले एनसेलको लाभांश रोक्यो, पुँजी बढाउने कम्पनीको नयाँ प्रस्ताव

  २०७१ चैत १८ गते १६:३०     विकासन्युज

१८ चैत । पुरानो लगानीको प्रतिफल लिन कानुनी झमेला भोगिरहेका एनसेल प्रा.लि.का प्रवद्र्धकले कम्पनीको सेयर पुँजी वृद्धि गर्ने प्रस्ताव गरेका छन् । गत चैत पाँच गते कम्पनीले उद्योग विभागमा पुँजी वृद्धि सम्बन्धि प्रस्ताव दर्ता गराएको छ ।
तर कम्पनीले कति पुँजी वृद्धि गर्न लागेको भन्ने स्पष्ट पारेको छैन । एनसेलले पुँजी वृद्धिका लागि निवेदन दिएको तर विस्तृत विवरण पेश नगरेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले विकासन्युजलाई बताए ।

bikashnews.com

एनसेलले पनि कति पुँजी वृद्धि गर्न लागेको भन्ने स्पष्ट जानकारी दिएको छैन । कम्पनीका सञ्चार अधिकृत मिलनमणि शर्मा भईरहेको लगानी विस्तारलाई कानुनी रुपमा अध्यावधिक गर्ने काम भईरहेको र सोही अनुरुप उद्योग विभागमा निवेदन गरेको जानकारी दिए । तर कति पुँजी वृद्धि गर्न लागेको हो र त्यसको संरचनामा कस्तो परिवर्तन हुँदैछ भन्ने स्पष्ट जानकारी दिएनन् ।
कम्पनीको मुख्य लगानीकर्ता टेलिसोनेराले विगतका वर्षको नाफाबाट लाभांश फिर्ता लान नसकिरहेको पृष्ठभूमिमा कम्पनीको पुँजी वृद्धि प्रस्ताव आएको हो ।
एनसेलले गत आर्थिक वर्षसम्ममा गरेको आम्दानी वापत विदेशी लगानीकर्ताको भागमा परेको आठ अर्ब ८० करोड रुपैंयाँ नाफा फिर्ता लैजान माग गरेको एक वर्ष भईसकेको छ । तर कम्पनीले प्रक्रिया नपु¥याएको भन्दै विभागले लाभांश फिर्ता लैजान स्वीकृति दिएको छैन ।
एनसेल प्राइभेट लिमिटेडले छोटो अवधिमा नै लगानीको ५ सय गुणा नाफा कमाइ सकेको छ । यो कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने कम्पनी पनि हो ।
एनसेलले २०७१ साल मंसिर २५ गते उद्योग विभागमा निवेदन दिएर आठ अर्ब ८० करोड रुपैंयाँ फिर्ता लैजान अनुमति मागेको थियो । विभागले पुस ११ गते पत्र काटेर सो मुनाफा कुन कुन आर्थिक वर्षको हो ? लाभांश वितरण गर्ने वर्ष र हालसम्मको अडिट रिपोर्ट तथा राजश्व बुझाएको फाईल मागेको थियो । त्यसपछि एनसेलले सो सम्बन्धी आफ्नो रिपोर्ट विभागमा बुझाएको छ ।
१० करोड रुपैयाँ सेयर पुँजी रहेको एनसेलमा रिनोल्ड होल्डिङ लिमिटेड, वेष्टइन्डिजको स्वामित्वमा ८० प्रतिशत र पाल्पा तानसेन नगरपालिका वडा नम्वर ८ निवासी निरजगोविन्द श्रेष्ठको नाममा २० प्रतिशत सेयर छ ।
सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी
एनसेलले पुँजी वृद्धिसँगै सर्वसाधारणलाई पनि सेयर बिक्री गर्ने तयारी गर्दैछ । कम्पनीले कम्तिमा १० अर्ब रुपैयाँको सेयर पुँजी बनाउने र त्यसमा १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने सम्भावना रहेको स्रोतले बतायो । नाम उल्लेख नगर्ने सर्तमा कम्पनी सम्वद्ध स्रोतले भन्छन्–‘प्रतिस्प्रर्धी कम्पनी नेपाल टेलिकमले भन्दा बढी अनुपातमा सेयर सर्वसाधारणलाई बिक्री गरिने छ ।’
एनसेलले कमाउँछ र विदेश लान्छ भन्ने सन्देश गईरहेको छ । ‘एनसेलले कमाउँदा नेपालीले पनि कमाएका छन् भन्ने सन्देश दिन र कम्पनीप्रति नेपालीको अपनत्व बढाउन सर्वसाधारणमा सेयर बिक्री गर्ने कम्पनीको सोच रहेको छ’–स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.