बीमा कम्पनीमा सीईओ अभाव, सञ्चालकलाई चाहिएको आज्ञाकारी कि दक्ष

  २०७१ फागुन १७ गते १०:१२     विकासन्युज

१७ फागुन/योग्यता अनुसारको जनशक्ति बजारमा नभेटिएको कारण बीमा कम्पनीहरु प्रमुख विहिन बन्न पुगेको कम्पनीहरुले बताउँदै आएपनि यसभन्दा फरक कारण पनि रहेको देखिन्छ ।
बीमा समितिले जारी गरेको बीमकको संस्थापक सुशासन सम्बन्धि निर्देशिका २०६९ मा बीमा कम्पनीको प्रमुख हुन स्नातकोत्तर गरेको, कानुनी रुपमा गठन भएको संस्थाको व्यवस्थापकको रुपमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, प्रमुख हुनेले बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव अनिवार्य गरेको छ । कम्पनीहरुले यही व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका छन ।
तर कतिपय बीमा कम्पनीका प्रवद्र्धकहरुले आफ्नो अनुकुलका प्रमुख कार्यकारी नपाउँदा कायममुकायमको भरमा कम्पनी छोडेको देखिन्छन । सात बर्षमा पाँचजना प्रमुख फेरिएको सूर्यालाइफ इन्स्योरेन्स कम्पनी पनि यसैको एउटा उदाहरण हो । कम्पनीले गएको पुस ३० गते अन्तिम पटक प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सूचना जारी गरेको थियो । तर यसपटक पनि कम्पनीले योग्य व्यक्ति नपाएको भन्दै कसैलाई छनोट गरेन । कम्पनी गत असोजदेखि प्रमुख विहीन छ ।
यस्तै कारण देखाउँदै सिद्धार्थ इन्स्योरेन्सले पनि महप्रबन्धकको नियुक्ति गरेको छैन । ‘बीमा समितिको संस्थागत सुशासन विनियमावलि अनुसारको योग्यता भएका व्यक्ति नभेटिएको होइन, तर योग्यता मात्र पुगेर भएन नि, उनीहरुमा क्षमता पनि त हुनुप¥यो’ कम्पनीका अध्यक्ष मनोज केडियाले भने । सिद्धार्थ इन्स्योरेन्सले पछिल्लो पटक महाप्रबन्धकको आवश्यकता सम्बन्धि सुचना प्रकासित गर्दा करिब आठ जनाले आवेदन दिएका थिए । कम्पनीले ‘बिदाको दिन पारेर’ ती मध्ये चार जनालाई अन्तरवार्तामा बोलाएपनि सक्षम नभएको भन्दै कसैलाई पनि छनौट गरेन । २०७० चैतदेखि कम्पनीको नेतृत्व कायममुकायम महाप्रबन्धकको रुपमा विरेन्द्र बैदवार क्षत्रीले गरिरहेका छन् ।
केही कम्पनीले भने प्रमुखको खोजीको लागि निकै लामो समयदेखि सार्वजनिक सूचना समेत जारी गरेका छैनन् । प्रमुख विहीन भएर पनि सूचना जारी नगर्नेमा एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।
अग्नि बीमामा भएको दाबीपछि बीमा समितिको कारवाहीमा समेत परिसकेको एभरेष्ट इन्स्योरेन्स करिब एक बर्षदेखि प्रमुख विहीन छ । गत बर्ष फागुनदेखि कम्पनीको नेतृत्व कायममुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलले गरिरहेका छन । ठुला लगानीकर्ता राजेन्द्र कुमार खेतान र निरन्जन कुमार टिवरेवाला बीचको विवादमा अल्झिरहेको कम्पनीले हालसम्म महाप्रबन्धकको लागि सुचना जारी गरेको छैन ।
करिब १९ महिनादेखि नेको इन्स्योरेन्सको नेतृत्व विश्व तिमिलाले गरिरहेका छन । तिमिला कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेको छ । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि उनी अघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले राजिनामा गरेका थिए । कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सुचना जारी नगरेको अधिकृत तिमिलाले जानकारी दिए ।
गुराँस लाइफ इन्स्योरेन्समा करिब तीन बर्षदेखि प्रमुख छैन । कम्पनीले दुई बर्षयता प्रमुखको माग गर्दै सार्वजनिक सूचना पनि जारी गरेको देखिदैन । हाल कम्पनीको नेतृत्व कायमुकायमको रुपमा नारायण कुमार भट्राईले गरिरहेका छन् ।
कम्पनीहरुले प्रमुखको खोजीको लागि सुचनै जारी नगर्ने, जारी गरेकाले पनि ‘पपेट’ प्रमुखको खोजी गर्नुले कम्पनीहरु प्रमुख विहीन रहेको बीमा समिति स्रोत बताउछ ।
‘पारिवारिक ग्रिपमा रहेका कम्पनीहरुले आफु अनुकुलका प्रमुख नपाएको कारण समितिको व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका हुन्,’ ती स्रोतले भने । उनले समितिले तेकेको योग्यता पुगेको व्यक्ति बजारमा पर्याप्त रहेको बताए ।
‘बीमा विज्ञको रुपमा समेत चिनिएका पुरुषोत्तम सुवेदी, बीमा संस्थानका पुर्वकर्मचारीहरु शिवबहादुर श्रेष्ठ, शालिकराम पराजुली र शैलेन्द्र श्रेष्ठ, सूर्यालाइफका पुर्व महाप्रबन्धक गोपाल घिमिरे जस्ता योग्यता पुगेका धेरै खाली बसिरहेका छन, कम्पनीहरुले चहानुपर्छ,’ ती स्रोतले स्पष्ट पारे ।
हाल युनाइटेड इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्स प्रमुख विहीन हुने अवस्थामा छ । त्यस्तै, एनबी इन्स्योरेन्स पनि हाल प्रमुख विहीन छ । हाल यी तीनै कम्पनीले सार्वजनिक सुचना गरेर प्रमुखको माग गरेका छन । एनबी इन्स्योरेन्सले प्रमुख छनौटको अन्तिम तयारी गरिसकेको छ । कम्पनीले यही फागुनमा प्रमुख पाउने भएको छ । त्यस्तै, छ महिनादेखि नेपाल इन्स्योरेन्समा कायममुकायमको रुपमा रहेका चन्द्रसिंह साउदलाई कम्पनीले महाप्रबन्धकमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.