लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले

  २०७१ फागुन १५ गते १०:०२     विकासन्युज

१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् ।
स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् ।
त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ ।
त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् ।
मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए ।
स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ ।
बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.