विहीवार गभर्नर नियुक्ती हुने, डा. शर्मा अगाडि, काफ्ले सिफारिसमै नपर्ने !

  २०७१ फागुन १३ गते ११:४९     विकासन्युज

१३ फागुन । नयाँ गभर्नरको दौडमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरनाथ शर्मा निकै अगाडि देखिएका छन् । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि डा. शर्मालाई गभर्नर बनाउदा आफ्नो पार्टीलाई आपत्ति नहुने संकेत प्रधानमन्त्री सुशील कोइरालालाई दिएपछि उनको सम्भावना बढी भएको हो ।
सरकारले भने भोलि (विहिवारै) मन्त्रीपरिषदबाट नयाँ गभर्नर नियुक्ती गर्ने तयारी गरेको छ । मंगलवारको मन्त्रीपरिषदले अर्थमन्त्री डा. रामशरण महतको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर हिमालयशमशेर जवरा र अर्थशास्त्री प्राडा पार्थिवेश्वर तिमल्सिनालाई सदस्यमा मनोनित गरेको थियो । दिउसको मन्त्रिपरिषदले समिति गठन गरेपछि मंगलवार साझ नै समितिको अनौपचारिक बैठक बसेको स्रोतको भनाइ छ । सो बैठकले विहिवारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने गरी नाम सिफारिस गरिसक्ने तयारी पनि गरेको छ । समितिले नयाँ गभर्नरको लागि ३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नेछ ।
डा. शर्मासँगै डेपटी गभर्नर महाप्रसाद अधिकारीको नाम सिफारिस गर्ने तयारी समितिले गरेको छ । सामान्यतया गभर्नरको लागि एक जना डेपुटी गभर्नरको नाम सिफारिस गर्दा वरिष्ठ डेपुटी गभर्नरकै नाम सिफारिस गर्ने गरिएको छ । अहिले वरिष्ठ डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले छन् । काफ्ले आफ्नो नाम सिफारिस हुन्छ भन्नेमा ढुक्क भएर बसेका भएपनि सिफारिस समितिले उनको सट्टा अधिकारीको नाम सिफारिस गर्न लागेको स्रोतको भनाइ छ ।
‘वरिष्ठ डेपुटी गभर्नरकै नाम सिफारिस गर्नुपर्छ भन्ने कुनै वाध्यता छैन,’ स्रोतले भन्यो– यसअघि पनि वरिष्ठ डेपुटी गभर्नर भएपनि रामबाबु पन्तको साटो विजयनाथ भट्टराईको र कृष्णवहादुर मानन्धर वरिष्ठ भएपनि बीरविक्रम रायमाझीको नाम सिफारिस भएका नजिर छन् । मानन्धरले आफू कामु गभर्नर भैसकेको भन्दै रायामाझीको नाम सिफारिस गर्न समितिसँग अनुरोध गरेका थिए ।
प्राडा तिमल्सेनालाई सिफारिस समितिमा ल्याइनुले तीन जनाको नाम सिफारिस हुदा एक जना एमाले नजिकका ब्यक्ति पनि पर्ने निश्चित जस्तै भएको छ । तिमल्सेना एमाले निकटका अर्थशास्त्री हुन् । डेपुटी गभर्नर अधिकारी पनि एमाले नजिकका मानिन्छन् । काँग्रेसको सरकार भएको, अर्थमन्त्री पनि काँग्रेसकै भएको र काँग्रेस निकटै मानिने भएकाले बरिष्ठ डेपुटी गभर्नर काफ्लेको नाम सिफारिस हुने चर्चा पनि छ । तर अर्थमन्त्री डा. महतले भने सत्ता समिकरण मिलाउनको लागि एक जना एमाले निकटको ब्यक्ति राख्नै पर्ने र अहिले सिफारिसमा मात्रै पर्ने भएकोले एमाले निकट अर्थशास्त्री नआउने भएकोले अधिकारीको नाम सिफासिर गर्नुपर्ने वाध्यता आएको आफू निकटकालाई बताउन लागेको स्रोतको भनाइ छ ।
सिफारिस समितिलाई दुईटा नाम छनोट गर्न सहज भए पनि तेस्रो नामको विषयमा भने निकै मेहनत पर्ने भएको छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्ना सम्धी युवराज भुषालको नाम सिफारिस गर्न दबाब दिएका स्रोतको भनाइ छ । तर पौडेलले भुषालको नाममा जोड गरे अर्थमन्त्री डा महतले पूर्वअर्थसचिव रामेश्वर खनालको नाम लिने डा. महत निकट स्रोतको भनाइ छ । यस्तो अवस्थाको कारण भुषालको नाम सिफारिस हुने सम्भावना कम छ । यद्यपि खनाल पनि गभर्नर बन्ने दौडमा भने छैनन् ।
समितिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीबी नेपाल र आकांक्षी रहेका केहि बैंकर्समध्येवाट एक जनाको नाम सिफारिस गर्ने गरी गृहकार्य थालेको छ । बाणिज्य बैंकको संचालक र उच्च ब्यवस्थापनमा बसेको ब्यक्तिलाई गभर्नर बनाउन नहुने भन्ने आवाज जबरजस्त रुपमा उठेपछि डा. नेपालको नाम सिफासिर हुने स्रोतको दाबी छ ।
यस्तै पूर्वमन्त्री विद्याधर मल्लिक पनि गभर्नरको दौडमा सहभागी भएको बताइएको छ । तर उनी यसअघि नै मन्त्री बनिसकेकोले गभर्नरको लोभ गर्नु राम्रो नहुने पनि बताइएको छ । पूर्वअर्थ सचिव भैसकेको, राष्ट्रपतिको आर्थिक सल्लाहकार पनि भैसकेको काविल मानिस भएकोले मल्लिकले स्वीकार गरे उनैलाई गभर्नर बनाउनु पर्ने आवाज काँग्रेस भित्र पनि उठ्न लागेको छ । समावेशीताको कुरा उठिरहेको सन्दर्भमा योग्य र मधेशी मुलको भएको कारण मल्लिकले चाहना राखे उनी गभर्नर बन्ने सम्भावना बलियो रहेको केहि काँग्रेसीको भनाइ छ । तर मल्लिक र डा. शर्मा दुबै जनाको नाम भने सिफारिस हुने छैन । यी दुई मध्ये जसको नाम सिफारिस हुन्छ सोही ब्यक्ति गभर्नर बन्ने पक्का जस्तै भएको अर्थमन्त्री निकट स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.