नयाँ पत्रिका प्रकाशन गर्ने विज्ञापन व्यवसायीहरुको तयारी, कान्तिपुरले रेट बढाएकोमा आक्रोशित

  २०७१ फागुन ८ गते १३:३०     विकासन्युज

८ फागुन । विज्ञापन एजेन्सी संघ (आन) ले आवद्ध संस्थाहरुसँगको लगानीमा नयाँ पत्रिका दर्ता गरेर चलाउने तयारी गरेको छ । नेपाली विज्ञापन बजारको सबैभन्दा बढी हिस्सा ओघटेको कान्तिपुर मिडिया ग्रुपले विज्ञापनको मूल्य अत्याधिक बढाएपछि आक्रोशित बनेको आनले आफ्ना सवै सदस्यको सेयर पूँजी रहने गरी नयाँ कम्पनी खोलेर नयाँ पत्रिका संचालनको तयारी गरेको स्रोतले बतायो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गत गत माघ १८ गते आनका नवनिर्बाचित कार्यसमितिसँग भेटघाट गरेका थिए । सो भेटको भोलिपल्ट अर्थात माघ १९ गनेको कान्तिपुरको २१ औं पेजमा आन प्रतिनिधिसँगको अध्यक्ष तथा प्रबन्ध निर्देशकको भेटको फोटो समाचार र २० औं पेजमा विज्ञापन दरमा ३३ प्रतिशतसम्म बढाइएको सूचना प्रकाशित गरिएको थियो ।
‘हिड्ने बेलामा सिरोहियाले हामी सवै पदाधिकारीसँग हात मिलाउनु भएको थियो,’– भेटमा सहभागी एक पदाधिकारीले भने–त्यो हात मिलाइ कति महंगो रहेछ भन्ने कुरा त भोलिपल्टको कान्तिपुर हेरेर मात्रै थाहा भयो ।
कान्तिपुरले एकै पटकमा विज्ञापनको मूल्य अत्याधिक बृद्धि गरेपछि एउटा नयाँ पत्रिका दर्ता गरेर संचालन गर्ने गृहकार्यमा विज्ञापन व्यवसायी जुटेको उनले बताए । बजारमा कान्तिपुरको एकाधिकारको जोखिम बढ्दै गएको र उसको नजिकको प्रतिस्पर्धी नै नभएकोले सामुहिक पहलमा विकल्प खोजि भईरहेको उनले बताए ।
कान्तिपुरमा विज्ञापन प्रकाशित गर्दा आफूहरुलाई कुनै फाइदा नभए पनि काम गरिरहेको आनका पदाधिकारीको भनाइ छ । कान्तिपुरले ग्राहकलाई कुनै छुट नदिने भएकोले आफूहरुले पाउने एजेन्सी छुट नै ग्राहकलाई दिने गरेको र कान्तिपुर वाहेकका अन्य पत्रिकामा छापेका विज्ञापनबाट आफ्नो रोजीरोटी चल्ने गरेको उनीहरुको भनाइ छ । आफूहरुले यस्तो सहयोग गर्दा पनि कान्तिपुरले बेवास्ता गरेको भन्दै आफै पत्रिका चलाउने निष्कर्षमा आन पुगेको बताईएको छ ।
आनले नयाँ पत्रिका दर्ता र पूजी जुँटाउनको लागि आफ्ना पदाधिकारीको कार्यविभाजन पनि गरिसकेको छ ।
आनले प्रत्येक सदस्यबाट कम्तिमा पाँच लाख रुपैयाँ सेयर पुँजी राखी नयाँ नयाँ कम्पनी खोल्ने सोच बनाएका छन् । अहिले आनमा २ सय ९७ सदस्य रहेका छन् । यसमध्ये कम्तिमा २ सय सदस्यले लगानी गर्ने अनुमान गरिएको छ ।
१०÷१२ करोड पुँजी लगानी गरेर प्रकाशन शुरु गर्ने, सबै विज्ञापन एजेन्सीले आफ्ना ग्राहकसँग अरुलाई विज्ञापन दिँदा आफूहरुले प्रवद्र्धन गरेको पत्रिकालाई पनि विज्ञापन दिन आग्रह गर्ने र छोटो समयमा नै पत्रिका नाफामा लैजाने रणनीति बनाईएको उनले बताए ।
आनका प्रत्येक सदस्यले ५ लाख रुपैयाँका दरले सेयर पूजी हाल्ने प्रारम्भिक सहमति भएको र उक्त लगानीको प्रतिबद्धता जुटाउने जिम्मेवारी आनका बर्तमान अध्यक्ष सन्तोष श्रेष्ठलाई तोकिएको एक पदाधिकारीले जानकारी दिए ।
पत्रिका प्रकाशन नगरिरहेका तर टेलिभिजन, एफएम, न्यूजपोर्टल चलाएर स्थापित भएका मिडियाहरुलाई पनि सेयर होल्डर बनाउने परिकल्पना गरिएको छ । पत्रिकामा इलेक्टिोनिक मिडिया सञ्चालकलाई सेयर होल्डर बनाउने विषयमा छलफल चलाउने जिम्मेवारी आनका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले पाएका छन् ।
यस्तै पत्रिकाको नाम जुराउने र दर्ता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी भने आनका निवर्तमान अध्यक्ष राजकुमार भट्टराईलाई दिइएको स्रोतले बतायो । नयाँ पत्रिका प्रकाशनको तयारी र दीर्घकालिन रणनीति बनाउन विज्ञापन व्यवसायीहरु विभिन्न समूहमा छलफलमा जुटेको उनले बताए । पत्रिकालाई लोकतन्त्रको पक्षमा र नीति क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रकाशन गर्ने र यस्तो विचारमा प्रखररुपमा कलम चलाउँदै आएका पत्रकारलाई सम्पादकीय टिममा ल्याउने नीति बनाईएको छ ।[divider]

आनको भनाई
नेपाल विज्ञापन संघ (आन)ले फागुन १२ गते इमेल गर्दै यस समाचारप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका कार्यकारी निर्देशक भरत लाल न्याछ्योँले यस समाचारमा सत्यता नभएको जनाएका छन् ।सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.