जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, बीमा शुल्क आर्जनमा भने वृद्धि

  २०७१ फागुन ३ गते १५:०८     विकासन्युज

विजयराज खनाल/काठमाडौं।
३ फागुन । यस बर्षको पुस अवधिसम्मको वित्तीय विवरण प्रकासित गरेका आठ जीवन बीमा कम्पनीहरुमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अमेरिकन लाइफ इन्स्योरेन्सको भने वित्तीय विवरण प्रकासित भएको छैन । प्राइम लाइफ, एशियन लाइफ, नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र सुर्या लाइफ इन्स्योरेन्सको नाफा घटेको हो । आठ कम्पनीहरुको कुल नाफा पनि छ प्रतिशतले घटेर २९ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको पुसमा कम्पनीहरुको नाफा ३१ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर १० करोड रुपैयाँमा सिमित भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको नाफा भने सबैभन्दा धेरै ६२.७२ प्रतिशतले बढेर सात करोड ८२ लाख रुपैयाँ पुगेको छ । कतिपय कम्पनीको लगानी, अन्य कर्जाबाट भएको आम्दानी घटेको र खर्च बढेको कारण नाफा घटेको हो । कतिपयले भने यसअघि व्यवस्था रकम फिर्ता गरेकोमा यसपटक यस्तो रकम फिर्ता नल्याएको कारण नाफा घटेको देखिन्छ ।
राष्ट्रिय बीमा संस्थान बाहेक सात कम्पनीहरुको हालसम्मको कुल बीमा शुल्क आम्दानी भने करिब ३७ प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा संस्थानको वित्तीय विवरण अन्य कम्पनीको भन्दा अलग संरचनामा प्रकासित भएकोले केही पक्ष समावेश गरिएको छैन । गत आवको पुससम्ममा ३१ अर्ब रुपैयाँ आम्दानी गरेका सात कम्पनीहरुले यसमा पुससम्ममा आम्दानी बढेर ४३ अर्ब रुपैयाँ पुगेको छ । सुर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन उच्चले बढेको छ ।
सात कम्पनीहरुको गत आवमा २३ लाख आठ हजार बीमालेख सङ्ख्या रहेकोमा चालु आवमा यो सङ्ख्या बढेर २६ लाख ३३ हजार पुगेको छ । एउटै व्यक्तिले एकभन्दा बढी कम्पनीमा जीवन बीमा गर्न पाउने नियम भएकोले बीमा लेखको सङ्ख्या भन्दा वास्तविक बीमितको सङ्ख्या कम हुनपनि सक्छ ।
हालसम्म सात कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २५ अर्ब रुपैयाँ पुगेको छ । तर प्रतिशतको आधारमा बीमा शुल्क वृद्धि हुने कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सुर्यालाइफको बीमा शुल्क आर्जन करिब तीन गुणाले बढेको छ ।
हाल कायम बीमालेखको आधारमा सात कम्पनीमा लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै (२६ प्रतिशतले) बीमालेख वृद्धि भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको भने बीमा लेख सङ्ख्या १० प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा लेख संख्या सबैभन्दा धेरै नौं लाख ८५ हजार छ ।
कम्पनीहरु (बीमा संस्थान सहित) को सञ्चित तथा जगेडा कोष ४.८९ प्रतिशतले बढेको छ । नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्सको भने यस्तो कोष घटेको छ । आय र व्यवस्थापन खर्चको बाँडफाँडमा अलगअलग तरिका अपनाइने गरेका कारण यी शीर्षकमा नोक्सान देखिने गरेको पनि कम्पनीहरु बताउँछन । कम्पनीहरु (बीमा संस्थान सहित) को जीवन बीमा कोष करिब २० प्रतिशतले बढेर ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बीमा संस्थानको आम्दानीभन्दा खर्च बढि रहेपछि बचत दुई अर्ब ८३ करोडले घटेको छ । यो रकम जीवन बीमा कोषमा सारेकोले कम्पनीको जीवन बीमा कोष समेत २१ प्रतिशतले घटेर ११ अर्ब ६ करोड रुपैयाँमा सिमित भएको छ । यसअघि कम्पनीको जीवन बीमा कोष १४ अर्ब रुपैयाँ रहेको थियो ।
रकमको आधारमा (बीमा संस्थान सहित) जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम (२० अर्ब ३६ करोड रुपैयाँ) हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेपनि प्रतिशतको आधारमा सूर्या लाइफको धेरै (५७ प्रतिशत) वृद्धि भएको छ । तर बीमा कोषमा सबैभन्दा कम रकम हुनेमा पनि सूर्यालाइफ नै रहेको छ ।
कम्पनीहरुलाई नियमक निकाय बीमा समितिले जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मुल्यांकन (एक्चुअरी भ्यालुएसन) हरेक बर्ष गर्न निर्देशन दिएको छ । यस आर्थिक बर्षको अन्त्यमा भने यस्तो मुल्यांकन पछि नाफामा थप फरबदल हुन सक्छ ।
कम्पनीहरु ( बीमा संस्थान बाहेक) को कुल दाबी भुक्तानी सङ्ख्या बढेको छ । गत बर्षको पुसमा २२ हजार दुई सय ३० वटा दाबी भुक्तानी दिएका कम्पनीहरुको यसपटक भुक्तानी संख्या २८ प्रतिशतले बढेर १७ हजार तीन सय ३४ पुगेको छ । यही कारण दावी भुक्तानी रकम पनि २७ प्रतिशत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.